April 12, 2021, Monday
२०७७ चैत्र ३०, सोमबार

नेपालमा ‘फैलिन थालेको’ कोरोनाको यूके भेरिअन्टबारे पाँच प्रश्न

198

काठमाडौँ । केही सातायता नेपालमा पनि कोरोनाभाइरस महामारीको दोस्रो लहरको खतरा टड्कारो देखा परेको छ। प्रत्येक दिन पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ। बुधवार २४ घण्टाभित्र साढे तीन सय सङ्क्रमित फेला परेका छन् भने सघन उपचारमा ६५ अनि भेन्टिलेटरमा १३ जना रहेको जानकारी सरकारले दिएको छ।

लगातार सङ्क्रमण बढ्नुको एउटा कारण चाहिँ चाँडै सर्ने “यूके भेरिअन्ट” भनिने सार्स-कोभ-२ को नयाँ प्रकार भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताएका छन्। “विगत केही हप्तामा यूके भेरिअन्टसँग मिल्दोजुल्दो प्रकारको भाइरस भेटिन थालेको छ। भारतबाट फर्किनेहरूमा एन्टिजन परीक्षण गर्दा पोजिटिभ पाइएकाहरूमध्ये नमुना परीक्षण गर्दा पनि यो भेरिअन्टसँग मिल्दोजुल्दो प्रकार भेटिएको छ,” उनले भने।

“यसले छिटो सङ्क्रमण फैलिन्छ अनि कम उमेरका व्यक्तिहरूमा पनि बढी जटिलता हुन सक्ने, अस्पताल भर्ना हुनुपर्ने तथा सघन उपचार आवश्यक पर्न सक्ने दर बढी हुने देखिएको छ।” राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेका परीक्षणमा गत छ सातायता उक्त प्रवृत्ति बढेको देखिएको उनले बताए।

पहिलो खोप
तस्बिरको क्याप्शन, नेपालले अक्सफर्ड आस्ट्राजेनेकाको खोपबाट राष्ट्रिय खोप अभियान थालेको थियो

नयाँ प्रकारको कोरोनाभाइरस फैलिरहेकाले फेरि सर्वसाधारण मानिसहरू सजग हुनुपर्ने विज्ञहरूले बताएका छन्। नयाँ प्रकारको कोरोनाभाइरसका फैलिँदा सर्वसाधारणमा मानिसको मनमा केही प्रश्नहरू उत्पन्न भएका छन्। विज्ञहरूको सहायतामा तिनको उत्तर खोज्ने प्रयास यहाँ गरिएको छ।

पुन: सङ्क्रमणको सम्भावना कति?

नेपालमा अहिलेसम्म पौने तीन लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्। एकचोटि सङ्क्रमण भएपछि केही समयसम्म अर्को सङ्क्रमण नहुने बताइँदै आएको छ।

तर नयाँ प्रकारको भाइरस फैलियो भने चाहिँ के होला भन्ने प्रश्नको उत्तर सजिलो छैन। पहिले सङ्क्रमित भएकालाई नयाँ भेरिअन्टले पुन: सङ्क्रमण गर्ला कि नगर्ला भन्नेबारे स्पष्ट तथ्याङ्क उपलब्ध नभएको जनस्वास्थ्यका जानकार तथा अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितले बताए। यो प्रश्नको उत्तर दिनका निम्ति पहिले देशमा के कति प्रकारका भाइरसहरू फैलिरहेका छन् भनेर जान्न जरुरी हुने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्।

“जुन हिसाबले यहाँ सङ्क्रमण उकालो लागेको छ पक्कै पनि अन्य भेरिअन्टहरू आएकैले यसो भएको हुनुपर्छ। तर कति खालका भेरिअन्ट आएका छन् भन्ने हामीलाई थाहा छैन। खालि यूके भेरिअन्ट मात्रै हो भने एक पटक कोभिड भएको छ-सात महिनासम्म फेरि सङ्क्रमण हुने सम्भावना एकदमै कम हुन्छ,” उनले भने।

खोपले काम गर्छ?

नेपालले हालसम्म झन्डै छ प्रतिशत जनसङ्ख्यालाई अक्सफर्ड आस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइसकेको छ भने यसै सातादेखि चीनले उपलब्ध गराएको खोप पनि लगाउन थालेको छ।

चिनियाँ खोपबारे धेरै जानकारी प्राप्त नभए पनि आस्ट्राजेनेका खोपबारे हालसम्म यूके, अमेरिका तथा युरोपबाट प्राप्त जानकारीले यूके भेरिअन्टमा पनि यसले काम गर्ने जनाइएको छ। “नयाँ भेरिअन्टमा यसले काम गर्दैन भन्ने चाहिँ देखिएको छैन। आस्ट्राजेनेका कम्पनीले पनि उसको खोप यसमा काम गर्छ भनेको छ,” डा. दीक्षितले बताए। डा. सुवेदीका अनुसार पनि यूके भेरिअन्ट मात्रैको हकमा खोपले काम गर्ने तर अन्य दक्षिण अफ्रिकी वा ब्रजिल भेरिअन्ट वा भारतकै अन्य उत्परिवर्तित भाइरस फैलिएको हो भने ठ्याक्कै भन्न गाह्रो हुन्छ।

अहिले नेपालमा केवल एक मात्रा खोप मात्रै दिइएको छ। “एक मात्रा मात्रै खोप लिएकोहरूलाई रोग सर्ने जोखिम ६५-७० प्रतिशत कम हुन्छ भनिएको छ, तर त्यो केवल तीन महिनाका लागि मात्र हुनसक्ने ठानिन्छ। तीन महिनापछि के हुन्छ भन्ने तथ्याङ्क हामीसँग छैन,” डा. सुवेदीले बताए।

परीक्षण कहाँ गर्ने?

कोरोनाभाइरसको कुन प्रकार हो भनेर निर्क्योल गर्न जीन सीक्वन्सिङ। त्यो विधि जटिल र महँगो हुन्छ। यस किसिमको विस्तृत परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लागि आवश्यक उपकरण तथा रसायन हालै नेपाल ल्याइसकिएको बताइएको छ।

यूके भेरिअन्ट हो कि भनेर सङ्केत दिन अहिलेकै पीसीआरको विशेषीकृत प्रणालीबाट नमुनामा एस जीन नभएको पाइएमा त्यसमा उक्त भेरिअन्ट हुन सक्ने बलियो आधार ठान्ने गरिन्छ। यस्ता परीक्षण सीमित ठाउँमा मात्र उपलब्ध हुन्छन्। तर के सर्वसाधारण मानिसले कोरोनाभाइरसको प्रकार जान्न आवश्यक हुन्छ त?

विज्ञहरूका अनुसार कुन प्रकारको भाइरस फैलिएको छ भनेर जान्न विशेषगरी सरकार तथा नीतिनिर्माताहरूलाई जरुरी हुन्छ। जनस्वास्थ्यको योजना बनाउन, तदनुरूप तयारी गर्न अनि कुन खोप लगाउने भनेर निर्णय गर्न समुदायको कस्तो प्रकारको भाइरस फैलिएको छ भनेर व्यापक रूपमा अनुगमन भइरहनुपर्ने उनीहरूको सुझाव छ।

“व्यक्तिगत हकमा कुन प्रकारको भाइरस भनेर जान्न उति जरुरी नभए पनि नीतिनिर्माणको निम्ति यो एकदमै जरुरी हुन्छ। साथै स्पष्ट नतिजाका निम्ति पूर्ण जीन सीक्वन्सिङनै गरिनुपर्छ,” डा. दीक्षितले बताए।

पाटनमा कोभिड खोप लगाइने तयारी गर्दै एक स्वास्थ्यकर्मी

उपचार तथा निदानका निम्ति पनि प्रकारबारे जान्न आवश्यक पर्ने डा. सुवेदी बताउँछन्। “पहिले सङ्क्रमित भएकालाई पनि फेरि देखिए नयाँ भेरिअन्ट हो कि भनेर जाँच्नुपर्ने हुनसक्छ। ती बिरामीलाई फरक तरिकाले उपचार गर्नुपर्ने हुनसक्छ। कस्तो प्रकारको फैलिएको छ भन्ने थाहा हुन सके त्यसले कति विकराल रूप लेला भनेर पनि अनुमान गर्न सकिन्छ,” उनले भने।

कसरी जोगिने?

जुनसुकै प्रकारको भए पनि जोगिने उपाय एकै किसिमको भएको विज्ञहरूले बताएका छन्। दूरी कायम गर्ने, मास्क लगाउने, हातको सरसफाइमा ध्यान दिने, भिडभाडमा नजाने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गरे जुनसुकै प्रकारको कोरोनाभाइरसबाट पनि जोगिन सकिने उनीहरूले सुझाएका छन्।

“थप सुझाव के हो भने नयाँ भेरिअन्ट झनै धेरै सङ्क्रामक भएकाले हामीले यी मापदण्ड दुईगुना गम्भीरताका साथ पालना गर्नुपर्छ,” डा. सुवेदीले बताए। खोपको व्यापक उपलब्धता निकट भविष्यमै हुने कमै सम्भावना भएकाले पनि यी मापदण्ड नेपालका निम्ति अझ महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन्।

बालबालिकामा कति जोखिम?

नयाँ भेरिअन्ट फैलिएको हुन सक्ने विवरणका माझ सरकारी अधिकारीहरूले कम उमेरका मानिसहरूलाई पनि सङ्क्रमण धेरै हुन थालेको बताएका छन्। डा. दीक्षितका अनुसार छिटो सर्ने हुनाले धेरै जनामा सङ्क्रमण फैलिँदा स्वाभाविक रूपले धेरै सङ्ख्यामा बालबालिकाहरूलाई सरेको हुनसक्छ।

साथै पोहोरजस्तो लकडाउन तथा स्कूल बन्द नभएकाले धेरै बालबालिका यसै पनि सङ्क्रमणको बढी जोखिममा परेको हुनसक्ने डा. सुवेदीले बताए। “म कार्यरत अस्पतालमा पनि २०/२१ वर्षका बिरामीहरू आएका छन्। तर त्यतिको भरमा देशभरिको स्थिति भन्न कठिन छ,” उनले भने।

यूके भेरिअन्टको हकमा छिटो सर्ने भएपनि त्यो पुरानो कोरोनाभाइरसभन्दा ज्यादा घातक भएका तथ्याङ्क नआएको डा. दीक्षितले बताए।-विविसी

पछिल्लो अपडेट