ताजा अपडेट »

ज्यामरुककोटमा केरा र तरकारी खेती

विहीबार, २६ चैत्र २०७७, १३ : ०५
4 Shares

गलेश्वर । म्याग्दीको ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखीमात्र भएपछि बेनी नगरपालिका-२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरा र बगरफाँटका तीन दर्जन भन्दा बढी किसानले अन्नबाली हुने जमीन केरा र तरकारी उत्पादनमा उपयोग गर्न थालेका छन ।खबराका किसान चन्द्रबहादुर कार्कीले केरा र तरकारी खेती शुरु गरेपछि वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न थालेको बताए । अन्नबालीको तुलनामा केरा र तरकारी खेतीबाट तीन गुना बढी फाइदा हुने कार्कीको भनाइ छ । उनले करीब चार रोपनी क्षेत्रफलमा २०० बोट केरा लगेका छन् भने पाँच रोपनी जग्गामा तरकारीखेती गरेका छन् । बजारमा तरकारी र केराको माग उच्च रहेकाले आफ्नो उत्पादनले राम्रो बजार पाएको उनको भनाइ छ ।

खबराकै अर्का किसान शोभित शर्मा (सापकोटा) ले पनि आठ रोपनी जग्गामा तरकारी र केराखेती गरेका छन् । केरा र तरकारी बेचेर वार्षिक रु आठ लाख भन्दा बढी कमाइ गर्दै आएका शर्माले गत वर्षदेखि विभिन्न प्रजातिका फलफूल समेत लगाएका छन् । आठ वर्षदेखि तरकारी खेती शुरु गरेका सापकोटाले यस वर्ष केराका सय बोट थपेर ७०० बोट केरा लगाउने योजना बनाएका छन् । “राम्रो स्याहार संरक्षण गरेपछि एक घरी केराबाट तीन हजारसम्म कमाइ गर्न सकिन्छ”, किसान शर्माले भने। बगरफाँटका खिमबहादुर कार्की, दुर्गाबहादुर थापा, बेदप्रसाद उपाध्यायलगायतका किसानले पनि धान फल्ने खेतमा केरा खेती गरेका छन् । यहाँका किसानले ५० मुरी धान उत्पादन हुने खेतभरि अहिले केरा र तरकारी खेती लगाएर हरियाली बनाएका छन् । केरा बालीभित्र घुसुवा बाली (अदुवा,बेसार) समेत लगाएर यहाँका किसानले दोहोरा आम्दानी गरिरहेका कृषि प्राविधिकले बताएका छन् ।

रासस
लेखकको बारेमा
रासस