ताजा अपडेट »

भारतमा ‘वायु’ नामक शक्तिशाली चक्रवात प्रवेश गर्दै

बुधबार, २९ जेठ २०७६, १२ : ३५
4 Shares

जेठ २९, काठमाण्डौं । उत्तर-पश्चिम भारतमा ‘वायु’ नामक शक्तिशाली चक्रवात प्रवेश गर्दै छ  । यस क्रममा लाखौं मानिस प्रभावित हुन सक्ने समाचारमाध्यमले जनाएका छन् । यो चक्रवात आगामी २४ घण्टामा निकै प्रभावशाली हुने बताइएको छ ।

सोमबार अरेबियन सागरमा उत्पन्न भएको वायु बुधबार र बिहीबार भारतको उत्तर-पश्चिम क्षेत्रमा पूर्णरुपमा प्रवेश गर्न लागेको हो । यो चक्रवातले दशकौपछि उत्तर-पश्चिम भारतको जनजीवन निकै प्रभावित हुने अनुमान गरिएको छ । सामान्यतया उत्तर-पूर्वी तटीय क्षेत्रमा फानी नामक शक्तिशाली चक्रवात आएको एक महिनापछि वायु चक्रवात सक्रिय हुने गर्छ । चक्रवात बुधबारसम्ममा गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने बताइएको छ । यसको प्रभाव मुम्बईमा समेत देखिन थालेको छ । यसक्रममा वायुको गति प्रतिघण्टा ७५ देखि १३५ किलोमिटर हुने अनुमान गरिएको छ ।

हाल उत्तर-पश्चिम भारतमा रहेका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । उद्वार तथा राहतका लागि पूर्ण तयारी गरेको भारतीय सरकारले बताएको छ । चक्रवातको जोखिममा रहेका क्षेत्रमा राष्ट्रिय विपत् उद्वार बल तैनाथ गरिएको छ । चक्रवातबाट कम्तिमा पनि ६० लाख मानिस प्रभावित हुने सञ्चारमाध्यमले जनाएका छन् । करिब ३ लाख मानिसलाई सुरक्षित स्थानमा सार्न लागिएको भारतीय गृह मन्त्रालयले जनाएको छ । त्यस्तै चक्रवातको उच्च जोखिममा रहेका क्षेत्रका विद्यालय र कलेजहरु शुक्रवारसम्मका लागि बन्द गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।