ताजा अपडेट »

फेरि बढ्यो वायु प्रदूषण,काठमाडौँ विश्वकै प्रदूषित सहर

मंगलबार, २४ चैत्र २०७७, ०६ : ५७
4 Shares

काठमाण्डौं । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उनले भने, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।” देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनी बताउँछन् ।

जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उनले सुनाए । वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ । विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रासमेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिए तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकाङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।

वायु प्रदूषणको गुणस्तरको सूचक २५१ नम्बरका साथ काठमाडौँ पहिलो नम्बरमा छ । यो मानवका लागि अति अस्वस्थकर वायुको गुणस्तर हो ।काठमाडौँपछि अहिले विश्वमा म्यान्मारको याङ्गुन, थाइल्यान्डको छियाङ माई, दक्षिण अफ्रिकाको जोहानेसवर्ग र पाचौं नम्बरमा भारतको मुम्बई छन् । काठमाडौँबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको अन्य सहरमा नेपालगञ्जको २३० र पोखराको २२२ सूचकाङ्क छ ।विगत २४ घण्टामा सबैभन्दा बढी अस्वस्थकर वायु धनगढीमा ३७४, चितवनको सौराहामा ३०८ र भरतपुरमा ३०१ नम्बरमा उक्लिएको थियो ।

वायुको यो स्तर भनेको मानिसले घरबाहिर निस्कनै नहुने अवस्था हो । अन्य रोगले ग्रस्त भएका बिरामीका लागि यो वायु कालसरह मानिन्छ ।अति अस्वस्थकरतर्फ आकासिँदै गएको वायु प्रदूषणयुक्त अन्य सहरमा सिमरा, हेटौँडा र भक्तपुर छन् । अन्य करिब १२ सहर पनि अस्वस्थकर वायु प्रदूषणले व्याप्त छ ।विगत एक सातादेखि लगातार भारतबाट आएको धुलो हावासँगै बहँदा मुम्बई र दिल्लीका औद्योगिक क्षेत्रको धुवाँसमेत नेपाल भित्रिरहेको मौसमविद् समीर श्रेष्ठले बताए।

उनले भने, “बिहान बेलुका धुम्म तुवाँलोले ढाक्ने क्रम बढेको छ, जसका कारण भिजिबिलिटी कम भएर आँखाले देख्न नसक्ने अवस्था आउन थालेको छ । ” सोमबार मध्याह्न एक हजार पाँच सय मिटर तल भिजिबिलिटीको स्तर झरेको थियो । दिउँसो खुलेर बल्ल बल्ल दुई हजार पाँच सय आसपास पुगेको भिजिबिलिटी साँझ ह्वात्तै घटेको श्रेष्ठले बताउनुभयो । उहाँले पनि वर्षा नहुँदाको अवस्थामा बढेको डढेलो नै अहिले नेपालमा प्रदूषण थप्ने मुख्य कारक रहेको औंल्याएँ ।-चाँदनी हमाल/गोरखापत्र अनलाइन

https://www.globalaawaj.com/archives/95502
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।