ताजा अपडेट »

वायु प्रदूषण: अवस्था फेरि खराब, गर्नुपर्ने तीन काम

सोमबार, २३ चैत्र २०७७, १७ : ५३
4 Shares

काठमाण्डौं । विगतका वर्षहरूको तुलनामा नेपालमा यसपालि डढेलो सङ्ख्या बढ्ने अनुमान पहिला नै गरिएको थियो। तर रोकथाम र नियन्त्रणका लागि आवश्यक काम हुन नसक्दा तुँवालो र वायु प्रदूषणले जटिल अवस्था सिर्जना गरिदिएको पर्यावरणविद्हरूले बताएका छन्।

नेपालभरि विभिन्न भागमा डढेलो र धूवाँधूलो फैलिनु तथा चैत महिनामा हावाहुरी नचल्दा वायुको वेग स्थिरजस्तै हुनु अहिले वायुको गुणस्तर हानिकारक अवस्थामा पुग्नुका मुख्य कारण भएको विज्ञहरू औँल्याउँछन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत पौष महिनामै यो वर्ष डढेलोका कारण भयावह स्थिति आउनसक्ने चेतावनी दिएको थियो। सन् २०१२ यताको तथ्याङ्क हेर्दा नोभेम्बरदेखि मार्च महिनासम्मको डढेलो र आगजनी सङ्ख्या वर्ष सर्वाधिक छ। सन् २०१२ मा ४० जिल्ला प्रभावित हुनेगरी ३७९ वटा डढेलोका घटना भएका थिए भने यो वर्ष ७३ वटा जिल्लामा २,७०० वटाभन्दा बढी डढेलोका घटना अभिलेखमा परिसकेका छन्। बेलैमा पूर्वतयारी नगरे र प्रतिकार्य योजना नबनाए यसले गर्मी मौसममा भयावह अवस्था आउन सक्ने अनुमान प्राधिकरणको छ।

विपद् जोखिम न्यूनीकरणका लागि कस्तो काम हुँदैछ ?

प्राधिकरणका प्रवक्ता उद्धव रिजालका अनुसार वायु प्रदूषणको अहिलेको अवस्थालाई लिएर यसबारे सरोकारवालाहरूसँग छलफल गर्दा विगतमा विभिन्न रणनीति बने पनि त्यसको कार्यान्वयनको पाटो फितलो रहेको पाइएको बताए। उनले भने, "रणनीति बने पनि कार्यान्वयन हुन नसकेको भन्ने कुरा उठ्यो। त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे हामीले छलफल गरेका छौँ।" पर्यावरणविद्हरूले आगामी दिनमा वायु प्रदूषणको अवस्था बिग्रिन नदिन विशेषतः तीनवटा कुरामा ध्यान दिनुपर्ने बताएका छन्।

१) डढेलो नियन्त्रण रणनीति कार्यान्वयन

धेरै हावाहुरी लाग्ने चैत-वैशाख महिनामा वनजङ्गलमा डढेलो फैलिने सम्भावना धेरै भएकोले सरकारले विशेष सावधानी अपनाउनुपर्ने पर्यावरणविद् भूषण तुलाधर बताउँछन्। "डढेलो लाग्ने कारणहरू भनेको सुक्खापन, हावा र आगोको स्रोत हो," तुलाधरले बीबीसीसँग भने, "डढेलो नियन्त्रणका लागि भनेर १० वर्षअघि नै रणनीति बनाइयो तर कार्यान्वयन हुन सकेको देखिँदैन।" सरकारले रणनीति बनाए पनि त्यसको कार्यान्वयन कमै भएको देखिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)मा कार्यरत वरिष्ठ वायुमण्डलीय वातावरण विशेषज्ञ विद्या वनमाली प्रधान बताउँछिन्।

"बाली डढाउने काममाथि रोक लगाउने नियम सरकारले ल्याए पनि त्यो रोकिन सकेको छैन। त्यसको अनुगमन गरेर मात्रै हुँदैन, किसानहरूलाई त्यसको विकल्प पनि सरकारले दिनुपर्छ अनि मात्रै वायु प्रदूषण रोक्न सहयोग पुग्छ," वनमाली प्रधानले भनिन्।

काठमाण्डू उपत्यकामा वायु प्रदूषण

२) डढेलो लागिसकेपछि नियन्त्रण गर्न पहल

विगतका वर्षहरूमा जस्तो डढेलो लागेपछि नियन्त्रणको उपाय अबका वर्षहरूमा कम हुने विज्ञहरू बताउँछन्। "अब हामीले कदम चाल्न ढिला भइसकेको छ। आवश्यकताअनुसार हेलिकप्टरबाट पनि डढेलो नियन्त्रणका अभ्यासहरू थाल्न पहल गर्नुपर्छ," वनमाली प्रधानले भनिन्। यो वर्ष पानी कम परेका कारण डढेलोको जोखिम बढी भए पनि नियन्त्रणका लागि पूर्वतयारीको काम र स्रोत सम्पन्न बनाउने विषयमा काम नभएको तुलाधरले बताए।

"डढेलो नियन्त्रणका लागि देशभरि रहेका २३,००० जति वन उपभोक्ता समितिलाई उपकरणहरू उपलब्ध गराएर सक्षम बनाउन सकिन्थ्यो। तर कम गरेको देखियो।" यसका लागि जनचेतना बढाउन पनि पर्याप्त काम हुन नसकेको विज्ञहरू बताउँछन्।

काठमाण्डू उपत्यकामा वायु प्रदूषण
तस्बिरको क्याप्शन,फाइल तस्बिर

३) वायु प्रदूषणका अन्य कारक प्रयोगमा ध्यान दिने

अहिले वायु प्रदूषणको कारक डढेलो देखिए पनि सवारीसाधन, इँटाभट्टाले निकाल्ने धूवाँ र अव्यवस्थित सहरीकरण पनि मुख्य कारकहरू रहेको बताइन्छ। इसिमोडकी वरिष्ठ वायुमण्डलीय वातावरण विशेषज्ञ विद्या वनमाली प्रधानले अहिले इँटाभट्टाबाट निस्किने धूवाँ ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म घटाउने प्रयास भएको र त्यसैगरी समस्याको समाधान खोजिनुपर्ने बताइन्। वायु प्रदूषणमा देखिएको यो समस्या नेपालमा मात्रै नभई अन्य देशमा पनि उत्तिकै गम्भीर रहेकोले उनीहरूले कसरी समाधान खोज्दै छन् त्यसलाई नेपालले पनि अनुसरण गर्नुपर्ने उनको सुझाव छ।

मौसम कहिलेसम्म यस्तै ?

अघिल्लो साता वायु प्रदूषणको अवस्था हानिकारक अवस्थामा रहेर हल्का वर्षापछि केही सुधार आएको थियो। चार दिनसम्म बन्द रहेका विद्यालयहरू आइतवारबाट खुल्न थाले तर सोमवारदेखि देशका विभिन्न ठाउँमा वायुको गुणस्तर पुन: खराब अवस्थामा पुगेको छ। धनगढी, भरतपुर, भक्तपुर, काठमाण्डूलगायतका ठाउँमा वायु प्रदूषण अत्यधिक मापन गरिएको वातावरण मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

सोमवार बिहान सबैभन्दा धेरै प्रदूषण धनगढीमा देखिएको थियो। त्यहाँ एअर क्वालिटी इन्डेक्स ४०० नाघेको थियो। त्यसबाहेक भरतपुर काठमाण्डू, भक्तपुरमा पनि ३०० भन्दा माथि थियो। विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार यी सूचकाङ्क 'अतिअस्वस्थ्य' हो। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्याल यो अवस्था काठमाण्डू उपत्यका जस्ता ठाउँमा कम्तीमा चार-पाँच दिन अझै रहने बताउँछन्।उनी भन्छन्, "तर पानी परेन वा ठूलो हावाहुरी लागेन भने कति लम्बिन्छ भन्न सकिन्न।" -बीबीसी नेपाली

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।