ताजा अपडेट »

सक्रिय, सबल र सक्षम नेतृत्व आओस्

सोमबार, २३ चैत्र २०७७, १८ : ०९
38 Shares

पत्रकार महासंघको आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम मिति तथा समय सकिएको छ । यससँगै जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको लागि चुनावी तयारी करिब पूरा भएको छ । २५ गते बुधबार हुन गइरहेको पत्रकार महासंघको निर्वाचनका लागि देशभरका पत्रकारहरुबाट उम्मेदवारी परेको छ । तीन वर्षको नेतृत्वका लागि तीनै तह तथा एसोसिएटहरुमा उम्मेद्वारी मनोनयनसँगै चुनावी माहौल पनि तातेको छ । विशेषगरी यो चुनावमा पनि विगतको जस्तै श्रमजीवीका अधिकार र मागलाई मुख्य नारा बनाइएको छ र विगतका वर्षहरुमा जस्तै राजनीतिक आस्था वा विचारको आधारमा प्यानलनै बनाएर केन्द्रिय नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा उत्रेको छ ।

त्यसैगरी जिल्ला र प्रदेशमा पनि विभिन्न राजनीतिक आस्था र विचारका भातृसंगठनहरुबीच प्यानल खडा गरेर चुनावी मैदानमा उत्रेका छन् । मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ । महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ । देशभरबाट निर्वाचनका लागि महासंका करिब १४ हजार साधारण सदस्य सहभागी हुने छन् ।

देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीयसँगै प्रादेशिक र जिल्लास्तरको निर्वाचन एकैपटक हुँदैछ । केन्द्रीय नेतृत्वका लागि पहिलो पटक प्रतक्ष्य निर्वाचन प्रणाली लागू हुँदैछ । यसबाट देशभरका पत्रकारहरुले आफूले चाहेको नेतृत्व चयन गर्ने अवसर मिलेको छ । महासंघको निर्वाचनमा केन्द्रीय नेतृत्वका लागि गणेश बस्नेत नेतृत्वको प्रेस चौतारी नेपाल विरुद्ध प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी नेपालसहित ११ संगठनबीच गठबन्धन भएको छ । प्रेस युनियनको नेतृत्वमा ११ संगठनबीच गठनबन्धन भएको हो । पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्ने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् । जसले महासंघका वर्तमान उपाध्यक्ष विपुल पोख्रेललाई अगाडि सारेको छ ।

गठबन्धनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज रहेका छन् । त्यस्तैगरी प्रेस चौतारी नेपालसहित प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल, मिडिया नेपालको प्यानल नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएको छ । जसले निर्मला शर्माको नेतृत्वमा चुनावी प्रतिष्पर्धा गर्दैछ । यता प्रदेश र जिल्लामा पनि केन्द्रिय गठबन्धनको प्रभाव परेको छ । पत्रकार महासंघ, लुम्बिनी प्रदेशमा पनि दुई प्यानल बीच प्रतिष्पर्धा हुँदैछ । प्रेस चौतारी नेपालका तर्फबाट वर्तमान उपाध्यक्ष भरत केसी, लोकतान्त्रिक प्यानलबाट बसन्त गिरी प्रतिष्पर्धा गर्दैछन् ।

महासंघ रुपन्देही शाखामा नेतृत्वका लागि दिनेश पाण्डे र रामराज पोखरेल बीच प्रतिस्पर्धा हुने भएको छ । महासंघको निर्वाचन कार्यतालिका अनुसार महासंघ रुपन्देहीका वर्तमान उपाध्यक्ष पाण्डेले साझा प्यालबाट उम्मेदवारी दर्ता गराएका हुन् भने पोखरेलले संयुक्त लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन् । आगामी ३ वर्षे कार्यकालका लागि पाण्डेको नेतृत्वमा उपाध्यक्षमा हेमबहादुर पछाई (दिपेश), महिला उपाध्यक्षमा अमृता अनमोल, सचिव पदका लागि लक्ष्मण पोखरेल, सहसचिवमा केशव भण्डारी, सहसचिव (समावेशी) तर्फबाट गोविन्दबहादुर घर्ती र कोषाध्यक्ष पदका लागि स्वस्तिक श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी खुल्ला सदस्यहरुमा नरबहादर (एन.बी) कंडेल, विकास पराजुली, प्रकाश आचार्य, तुलसीराम पौडेल, मिना पाण्डे (अस्मिना) र शिव डुम्रेले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी समावशेतर्फ सोही प्यानलबाट दिनेश श्रेष्ठ, कृष्ण खनाल, राजकुमार धवल, रेनुका गिरी र रविन्द्रप्रताप गुप्ताले उम्मेदवारी दिएका छन् । यसैरी पोखरेल नेतृत्वका लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदका लागि विश्वास ढकाल, महिला उपाध्यक्षका लागि सञ्जु पौडेल, सचिवमा विनोद परियार, सहसचिवका लागि विरेन्द्र कुंवर, सह सचिव (समावेशी)मा माया केसी र कोषाध्यक्ष पदका लागि सन्जय सौगातले उम्मेदवारी दिएका छन् । खुला सदस्यतर्फ शंकरप्रसाद पाण्डे, कपिल अधिकारी, मोती न्यौपाने, प्रदीप आचार्य, थानेश्वर घिमिरे, प्रकाश पाण्डेय, पुनहरि बेलबासे र मानबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । यसैगरी समावेशी सदस्यका लागि हरिकला अधिकारी, टंक सुनार, राज चौधरी, राधेश्याम विश्वकर्मा र सलमान खानको उम्मेदवारी परेको छ ।

आगामी तीन वर्षको नेतृत्वको लागि हुन गइरहेको चुनावमा जुनसुकै प्यानल र समूह प्रतिष्पर्धामा उत्रेपनि महासंघको गरिमा, पत्रकारको संरक्षण, हकहित र विकासक गर्न सक्ने नेतृत्व आउन आवश्यक छ । उम्मेद्वार छनौटदेखि मतदान र विजयी बनाउने सवालमा पत्रकारहरु चुक्नु हुँदैन । पत्रकारिताको पेशागत मर्यादा र सवालमै विभिन्न टिप्पणीहरु हुँदै आएका छन् । विशेषगरी सदस्य शुद्धिकरण, श्रमजीवीको पारिश्रमिक, व्यवासायिक र मर्यादित पत्रकारिता लगाएतका गम्भीर विषयहरु रहेका छन् । बढ्दो चूनौतीपूर्ण पत्रकारितामा पूर्णकालिन पत्रकारिता, विशुद्ध पत्रकारिता र महासंघ र सो मा रहेका सदस्यहरुका लागि समय र संरक्षण दिई प्रवर्द्धन गर्न सक्ने सक्षम, सबल र सक्रिय नेतृत्व जान आवश्यक छन् । यसका लागि पत्रकारिता पेशालाई मुख्य पेशा बनाएका, लामो समयदेखि पत्रकारिता गरेका, पत्रकारिता बारे राम्रो दख्खल भएका मात्रै संघको नेतृत्व गर्नसक्ने, संघको संरक्षण र विकाससँगै आवद्ध सदस्यहरुको हकहित, संरक्षण र प्रवद्र्धन गर्न सक्ने नेतृत्व महासंघमा जान आवश्यक छ ।

https://www.globalaawaj.com/archives/95597
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।