ताजा अपडेट »

बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी

सोमबार, २३ चैत्र २०७७, ११ : ५४
2 Shares

काठमाण्डौं । बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाण्डौंले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजुरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो ।

ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ । उक्त हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको पाइएको हो । नापतौल कार्यालय काठमाण्डौंका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिषकुमार दासले फलामे एङ्गल, स्टिल रड, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाई कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिए । “आम उपभोक्तालाई ठगी गर्नेलाई आवश्यक अनुन्धान गरी कारबाही गछौँ”, उनले भने ।

गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एङ्गलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८८ किलोग्राम, २०१.१ किलोग्राम फल्याटमा १०.६ किलोग्रामसम्म कमी भएको कार्यालय प्रमुख दासले बताए । नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । राजेश हार्डवेयरले विभिन्न कम्पनीका रड स्टिललगायतका सामाग्री बिक्री वितरण गर्दै आएको थियो । नापतौल कार्यालयले उपभोक्ताले सामान किन्दा आफ्नो आँखा अगाडि तौल जाँच गरेमात्र खरिद गर्दा यस्ता ठगीबाट बच्न सकिने बताएको छ ।

रासस
लेखकको बारेमा
रासस