ताजा अपडेट »

बोरिङ जडान थालिएपछि मुहारमा चमक

सोमबार, २३ चैत्र २०७७, १० : ५०
6 Shares

महोत्तरी। आफ्ना खेत गर्हामा सिँचाइ सुविधाका लागि बोरिङ जडानको काम थालिएपछि मटिहानी नगरपालिकाका किसानको मुहारमा चमक बढेको छ । जिल्लास्थित भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय जलेश्वरले नगरपालिकाको समन्वयमा पावरड्रिल स्यालो ट्युबवेल–बोरिङ जडान कार्य थालेपछि किसानको मुहारमा चमक बढेको हो ।

वडा नं ६ मा अहिले एकसाथ १० वटा यस्ता बोरिङ जडानको काम थालिएको छ । “पानीबेगर खेती जाँगर मरेका बेला बोरिङ जडानको काम थालिएको छ”, किसान शङ्कर साहले हँसिलो मुद्रामा भने, “अब बल्ल हामी किसानका लागि केही हुँदैछ भन्ने आश जागेको छ ।” यहाँ जडान थालिएका १० वटा बोरिङले ५० बिघा खेतमा सिँचाइ सुविधा पुर्याउने भूमि, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

शङ्करजस्तै यहीकै अर्का किसान रामसेवक साह पनि अब बोरिङ जडान भएपछि समयमा बाली लगाउन पाइने आशमा छन् । “हेर्नोस् न, भन्याबेला पानी हुँदैन, आकासे पानीको भरले कहिल्यै समयमा बाली लगाउन पाइएको छैन”, रामसेवकले भने, “खै अब चै काम थाल्या छन्, केही हुन्छ भन्ने विश्वास बढेको छ ।” भारतसँग सीमा जोडिएको उक्त नगरपालिकाका मटिहानी, ढेकाहा, वर्दाहा, आवर, धिरापुर र सिमरदही तरकारी उत्पादनका उर्बर ठाउँ मानिन्छन् तर, खेतीका लागि मुख्य कुरा सिँचाइ नै नहुँदा अपेक्षित उत्पादन लिन नसकेको किसानको गुनासो रहँदै आएको छ ।

मटिहानीमा बोरिङ जडानको काम प्रदेश नं २ सरकारको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत थालिएको र यसले अब निरन्तरता पाउने नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले किसानको खेतका गर्हागर्हामा पानी पुर्याउने नीति अघि बढाएसँगै स्थानीय पहलकदमी पनि बढेको हुँदा सिँचाइसम्बन्धी कार्यक्रम विस्तार हुँदै जाने नगरप्रमुख मण्डलको भनाइ छ । अहिले बोरिङ जडान थालिएको क्षेत्रमा १०० भन्दा बढी किसानले सिँचाइ सुविधा पाउने भएका छन् । दुई/चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ ।

रासस
लेखकको बारेमा
रासस