ताजा अपडेट »

ढुङ्गेधारा सुके, खानेपानीको समस्या विकराल बन्दै

मंगलबार, २८ जेठ २०७६, १७ : ४२
8 Shares

जेठ २८, पाल्पा । सुख्खा मौसमसँगै पाल्पा सदरमुकाम तानसेनमा खानेपानीको समस्या देखिन थालेको छ । तानसेन बजारभित्रका अधिकांश ढुङ्गेधारा, खानेपानीका मुहान सुकेका छन् । अहिले तानसेनवासीलाई पानीको जोहो कसरी गर्ने भन्ने समस्याले पिरोलिएको छ । गर्मीयाम बढेसँगै दिन प्रतिदिन खानेपानीको समस्या विकराल बन्दै गएको छ । तानसेनमा अहिले एक हप्तादेखि पन्ध्र दिनमा एक पटक धारामा पानी आउने गरेको स्थानीयको गुनासो छ ।

बालबालिकालाई विद्यालय पठाउनभन्दा पनि खानेपानीको जोहो गर्नुपर्ने बाध्य रहेको तानसेन नगरपालिका–६ का नन्दबहादुर आलेले बताए । 'खडेरीयाम शुरू भएपछि पानीको समस्या बर्सेनि हुन्छ, छोराछोरीको पठनपाठनभन्दा पनि खानेपानी जोहोकै समस्याले सताउने गरेको छ,' उनले भने । तानसेनमा अहिले भुल्के, सिस्ने, होलाङ्दी र  तीनधाराबाट पम्पिङ गरेर खानेपानी आपूर्ति गरिँदै आएको छ । एक घण्टाको बाटो हिँडेर पानी लिन आउँदा दुई घण्टासम्म लाइनमा बस्नुपरेको तानसेनमा कोठा भाडा गरी बस्ने हेमा रानाले बताइन् । एक घण्टाको समय पैदल हिँडेर आए पनि धारामा पानी भर्नेको लाइनले पालो पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ । खानेपानी अभावले विशेषगरी तानसेनमा पढ्न बसेका विद्यार्थीहरूलाई बढी समस्या परेको छ । आफ्नो पढाइलाई समेत थाती राखेर पानीको व्यवस्था गर्नु परेको त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी बिमल पौडेलले बताए । 'पढाइभन्दा पनि खानेपानीको चिन्ता बढी छ, खानेपानी सहज नहुँदा पढाइ नै प्रभावित हुन पुगेको छ,' उनले भने । लामो खडेरी तथा विद्युत आपूर्तिमा समस्या रहेकाले खानेपानी अभाव झन् विकराल बन्दै गएको हो ।

खानेपानी समस्याको निराकरणका लागि तानसेन खानेपानी उपभोक्ता समितिको पहलमा नेपाल सरकारको ४० करोड रुपैयाँको लगानीमा कालीगण्डकी खानेपानी योजनाको काम अगाडि बढेको बताइएको छ । योजनाको काम तीव्र गतिमा अगाडि बढिरहेका कारण यहि असार, साउनसम्म तानसेनवासीले कालीगण्डकीको पानी उपभोग गर्न पाउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्य बताउँछन् । कालीगण्डकी खानेपानी योजनाको काम करीब ८० प्रतिशत सम्पन्न भइसकेकाले अब छिट्टै तानसेनवासीको प्यास कालीगण्डकीले मेटाउनेमा भने स्थानीयवासी ढुक्क देखिन्छन् । तानसेनमा दैनिक करीब बीस लाख लिटर पानीको माग भइरहेकामा अहिले करीब साढे सात लाख लिटर पानी मात्र आपूर्ति हुँदै आएको छ ।

-सुशीला रेग्मी/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।