ताजा अपडेट »

महासंघ रुपन्देहीका अध्यक्ष उम्मेद्वार पाण्डेको योजना : दुर्घटना तथा विपदका लागि राहत कोष

आइतबार, २२ चैत्र २०७७, १६ : ४४
4 Shares

बुटवल । नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि अध्यक्षका प्रत्यासी दिनेश पाण्डेले सञ्चारकर्मी तथा सञ्चार गृहहरुको हितमा आफूले काम गर्ने योजना प्रस्तुत गरेका छन् । पत्रकारहरुको क्षमता विकास गर्नूका साथै न्यूनतम पारिश्रमिक पाउने व्यवस्था सिर्जनामा आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रेस चौतारी नेपालको नेतृत्वमा जनपत्रकार संगठन, संघीय पत्रकार संगठन, प्रेस मञ्च नेपालसहितको साझा प्यानलबाट महासंघको नेतृत्वका लागि उम्मेदवारहरुको घोषणा कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रलाई मर्यादित पेशाका रुपमा विकास गर्दै पत्रकारहरुको हकहितमा काम गर्ने बताए । यसैगरी जिल्लाको कोषको स्थापना गरी सञ्चारकर्मीहरुलाई कुनै पनि दुर्घटना तथा आपत–विपतको समयमा राहत स्वरुप ऋण उपलब्ध गराउन कोषको स्थापना गर्ने, सञ्चारकर्मीहरुको क्षमता विकासका लागि ई-लाइब्रेरी स्थापना, निर्माणाधिन महासंघको भवनलाई पूर्णता दिने, क्षमता विकासका गतिविधिहरु सञ्चालन गर्ने लगायतका आफ्ना योजना प्रस्तु गर्दै पाण्डेले साझा प्यानलको पक्षमा मतदान गर्न सदस्यहरुलाई आग्रह गरेका छन् । श्रमजिवीहरुको पक्षमा मतदान गर्न आग्रह गर्दै उनले आगामी निर्वाचनबाट आफू नेतृत्वमा पुगेपछि २५ वर्षपढि पत्रकारीता गरेका र अहिले पनि सोही पेशालाई निरन्तरता दिनेहरुलाई महासंघको सदस्यता निःशुल्क गर्ने दाबी गरे ।

पाण्डे नेतृत्वमा उपाध्यक्षका लागि हेमबहादुर पछाई (दिपेश), महिला उपाध्यक्ष अमृता अनमोल, सचिवमा लक्ष्मण पोखरेल, सहसचिवमा केशव भण्डारी, सहसचिव (समावेशी) मा गोविन्दबहादुर घर्ती तथा कोषाध्यक्ष पदका लागि स्वस्तिक श्रेष्ठ रहेका छन् । यसैगरी खुल्ला सदस्यहरुमा नरबहादुर (एन.बी) कंडेल, विकास पराजुली, प्रकाश आचार्य, तुलसीराम पौडेल, मिना पाण्डे (अस्मिना) र शिव डुम्रेले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी समावशेतर्फ सोही प्यानलबाट दिनेश श्रेष्ठ, कृष्ण खनाल, राजकुमार धवल, रेनुका गिरी र रविन्द्रप्रताप गुप्ताले उम्मेदवारी दिएका छन् ।

पाण्डे नेतृत्वको प्यानललाई महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरुको समेत समर्थन रहेको छ । पूर्व अध्यक्षहरु मोहन चापागाईं, डिआर घिमिरे, दीपक ज्ञवाली र सेरबहादुर केसीको समर्थन रहेको छ । उम्मेदवारी घोषणाका अवसरमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष उम्मेदवार भरत केशीले आफूहरुको जीत सुनश्चित भएको दाबी गरे । कार्यक्रममा सदस्यहरुलाई निर्देशन जारी गर्दै प्रेस चौतारी नेपालका रुपन्देही इन्चार्ज प्रदिप आचार्यले प्रचारप्रसारमा जुट्न आह्वान गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।