ताजा अपडेट »

इरिट्रियाका सैनिकहरु द्वन्द्वग्रस्त टिग्री क्षेत्रबाट फर्कन थालेको इथियोपियाको भनाई

आइतबार, २२ चैत्र २०७७, १५ : १५
4 Shares

अदिस अबाबा । इथियोपियाको युद्धग्रस्त टिग्री क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फिर्ता हुन थालेको इथियोपियाले जनाएको छ । सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) का सदस्य मुलुकहरुले टिग्रीबाट सैनिक फिर्ता गर्न आग्रह गरेलगत्तै सैनिक फिर्ती शुरु भएको इथियोपियाले जनाएको छ ।इथियोपियाका प्रधानमन्त्री अबी अहमदले गत साता इरिट्रियाली सैनिकहरु फिर्ता हुने घोषणा गरेका थिए । इरिट्रियाली सेनाबाट आमहत्या र यौनहिंसाका घटना व्यापक भएको रिपोर्ट सार्वजनिक भएपछि इथियोपियामाथि दबाब सिर्जना भएको थियो ।

टिग्री क्षेत्रका कतिपय शहर र नगर क्षेत्रमा हालैका दिनमा इरिट्रियाली सेनाले गस्ती एवं कारबाही गरेका विवरण सार्वजनिक भएका थिए । जी७ का तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा इरिट्रियाली सेनाको तत्काल, निःशर्त बहिर्गमन हुनुपर्ने उल्लेख थियो ।जी७ को विज्ञप्तिमाथि प्रतिक्रिया दिँदै इथियोपियाको विदेश मन्त्रालयले इरिट्रियाली सेना सम्बन्धी प्रक्रिया अघि बढिसकेको स्पष्ट गरेको छ ।

विज्ञप्तिमा टिपीएलएफका कारण सीमा पार गरेर इथियोपियाको टिग्री क्षेत्रमा प्रवेश गरेका इरिट्रियाली सेनाहरु फर्कन थालेको उल्लेख छ । विज्ञप्तिमा इथियोपियाका सेना सीमा क्षेत्रको सुरक्षामा खटिन थालेको पनि जनाइएको छ ।टिग्री क्षेत्रको सत्तारुढ पार्टी टिग्री पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) को इथियोपियाको राजनीतिमा झण्डै तीन दशकसम्म निकै ठूलो प्रभाव थियो । तर सन् २०१८ मा प्रधानमन्त्री अबियले चुनाव जितेपछि टिपिएलएफको प्रभाव कमजोर बन्दै गएको छ ।

प्रधानमन्त्री अबियले गत वर्ष नोभेम्बरमा टिग्रीमा सेना परिचालन गरेका थिए । टिपिएलएफले इथियोपियाली सेनामाथि आक्रमण गरेको आरोपमा टिग्रीमा सैनिक कारबाही शुरु गरिएको थियो ।अदिस अबाबा र अस्मारा दुबैले यसअघि टिग्रीमा इरिट्रियाली सैनिकहरु सक्रिय रहेको कुरा अस्वीकार गर्दै आएका थिए । तर मानव अधिकारवादीहरु, स्थानीय वासिन्दा, कुटनीतिज्ञहरु र केही इथियोपियाली नागरिक एवं सैनिक अधिकारीहरुले इरिट्रियाली सेना टिग्रीमा सक्रिय रहेको बताएका थिए ।टिग्रीका अन्तरिम नेता मुलु नेगाले यसै साता इरिट्रियाली सेनाको फिर्तीको प्रक्रियामा रहेको र तत्काल सम्भव नरहेको बताउएकन थिए ।

रासस
लेखकको बारेमा
रासस