ताजा अपडेट »

यस्तो विभत्स हत्या, जसले मानवीयतामै प्रश्न गरिरहेछ...

आइतबार, २२ चैत्र २०७७, ११ : १७
2 Shares

काठमाडौं । संसारमा यतिसम्म विकृत मानसिकताका अपराधी छन् कि जो सुन्दै भयानक लाग्छ। कजाखस्तानमा एक व्यक्तिले यतिसम्म डरलाग्दो अपराध गरेको छ कि सो सुन्दा समेत सामान्य मान्छेको सातो जान्छ । १९ वर्षकी एक किशोरीलाई फकाएर आफ्नो घरमा बोलाएर बलात्कार गरी निकै विभत्सतापूर्वक हत्या गरेको घटनाले अहिले संसारभरका मानिसको ध्यान खिचिरहेको छ, आँखा रसाइरहेको छ।

फेसन डिजाइनकी विद्यार्थी १९ वर्षीया अयजान एडिलोभाको हत्या गरेको आरोपमा कजाख प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ। ​अलमाटी शहरस्थित एक कपडा पसलमा काम गर्ने ती किशोरी बेपत्ता भएपछि खोजी गर्ने क्रममा अङ्‌गभङ्‌ग भएको विभत्स शव ती आरोपीको घरमा फेला परेको थियो। बलात्कार गरिसकेपछि निजले किशोरीको टाउको काटेको खुलेको छ। उसले एडिलोभाको सबै औँलाका नङहरू उखेलेर, सबै दाँत भाँचेर प्लास्टिकको झोलामा राखेको पनि थाहा लागेको छ। काटिएको टाउकोलाई पानी उमालेको र शवका सबै हातखुट्टा पनि काटेको बेलायती अखबार द सनले लेखेको छ।

 पीडित किशोरीका दाजु अलमात मुलिकोभले यो जघन्य घटनाबारे बताएका छन्‌। ‘उसले मेरी बहिनीलाई मार्‍यो र करिब २४ घण्टासम्म उनको शरीर टुक्रा पार्दै बस्यो,’ उनले भने, ‘उसले सबै दाँत भाँच्यो, सबै नङ उखेल्यो, अनि छुट्टाछुट्टै प्लास्टिकको झोलामा राख्यो, उसले टाउको काट्यो र उमाल्यो।’ पुलिसले अनुसन्धानका क्रममा पीडित किशोरी हराउनुभन्दा अगाडि सामाजिक सञ्‍जालमार्फत आरोपीसँग सम्पर्कमा रहेको फेला पारेको छ । म्यासेजमा आरोपीले एडिलोभालाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन्। उनी मार्च १९ कै दिन उनी बेपत्ता भएकी थिइन्।

सिसिटिभी फुटेजमा अयजान र आरोपी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ। आरोपीको घरमा पुलिस पुग्दा ढोका नखोलेपछि पुलिसले ढोका फुटाउनुपरेको थियो। पुलिस देखेपछि आरोपीले आफ्नै घाँटी काटेका थिए। मेडिकल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ। सोधपुछका क्रममा आरोपीले शव टुक्रा-टुक्रा पारेर शहरका विभिन्न ठाउँमा भएका फोहोरका कन्टेनरमा फाल्दै अपराध लुकाउने प्रयास गरेको स्वीकार गरेका छन्। पहिचान नहोस् भनेर उनले पीडितको टाउको उमाल्ने प्रयास गरेका थिए।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।