ताजा अपडेट »

भूकम्पले भत्किएका ७३ विद्यालयको पुन:निर्माण सम्पन्न

आइतबार, २२ चैत्र २०७७, ११ : २६
4 Shares

पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुन:निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुन:निर्माणको प्रगति सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुन:निर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुन:निर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुन:निर्माण गर्न बाँकी नै रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिए । जिल्लामा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुन:निर्माणको सूचीमा थिए । जिल्लामा १५३ विद्यालयको पुन:निर्माण, ४४ विद्यालयको शौचालय र ४१ विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख शर्माले कोरोना सङ्क्रमणका कारण गत वर्ष काम गर्न समस्या भए पनि कोरोना नियन्त्रणउन्मुख भएपछि विद्यालय पुनःनिर्माणले गति लिएको बताए ।

कोरोना नियन्त्रणपश्चात तीनवटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले यो महिनाभित्र काम सक्ने जानकारी दिइएका छन् । आगामी पुससम्ममा सबै विद्यालयको पुन:निर्माण सक्नुपर्ने बाध्यता छ । पुन:निर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने कि नथपिने भन्ने कुरा सरकारकै हातमा रहेको हुँदा सकेसम्म पुससम्म सबै काम सक्ने हतारोमा रहेको शर्माले बताए ।

जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० विद्यालयमा दुईकोठे, चार विद्यालयमा तीनकोठे र ३९ विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुन:निर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए । भवन निर्माणको काम सकेका विद्यालयका बालबालिका भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाएका छन् । भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुन:निर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोहीअनुसार विद्यालयका भवन पुन:निर्माण भइरहेको कार्यालयले जानकारी दिएको छ ।

जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ । यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ । पर्वतमा जनगणनाको तयारी भइरहँदा गणक र सुपरीवेक्षक खटाइनेछ । आवश्यकताभन्दा धेरैको आवेदन परेपछि संक्षिप्त सूचीमा पनि धेरै जनाको नाम निकालिएको छ ।

जनगणना कार्यालय पर्वतका प्रमुख ज्योति केसीले संक्षिप्त सूचीमा परेकालाई कार्यालयले वैशाख १० गतेसम्म कार्यालयमा सम्पर्क राख्न भनेको बताए । कार्यालयमा आवेदकलाई बोलाएर आवश्यक कागजातको परीक्षण, अन्तरवार्ता र तथ्याङ्क विभागले बनाएको कार्यविधिलाई टेकेर सुपरीवेक्षक छनोट गरिने केसीले जानकारी दिए । जिल्लाका सातै स्थानीय तहका ६१ वटा वडामा एक–एक जना सुपरीवेक्षक र चार गणक खटिने जनाइएको छ । गणकको सूची भने वैशाख १५ गतेपछि मात्रै सार्वजनिक हुने कार्यालय प्रमुख केसीले बताए । सुपरीवेक्षक वैशाख २६ देखि गणनाको काम लिएर गाउँ जानेछन् । जनगणना कार्यालय पर्वतमा स्थापना भएपछि कार्यालयले सञ्चारकर्मीसँग एक चरणमा अन्तरक्रिया भएको छ । जनगणना सचेतनासम्बन्धी एक चरणमा जनप्रतिनिधिसँग गोष्ठी भएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नाराका साथ २०७८ मा हुने गणनालाई महत्वका साथ हेरिएको छ । यस वर्ष अक्सर बसोबासका आधारमा गणना हुने जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस