ताजा अपडेट »

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

शनिबार, २१ चैत्र २०७७, १५ : ४०
4 Shares

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक वटा सडकको शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले बालुवाटारबाटै १६५ वटा सडकबारे बनाइएको श्रव्यदृश्य सामग्रीको स्विच थिचेर सबै सडकको शिलान्यास गरेका हुन् ।

हरेक निर्वाचन क्षेत्रका सांसदहरूको सिफारिसमा सडक निर्माण योजना छनोट गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । निर्माण गर्न लागिएका सडकहरूमा संघीय राजधानी, प्रादेशिक राजधानी, जिल्ला सदरमुकामहरु, अन्तर्राष्ट्रिय विमानस्थल, र दुई निर्वाचन क्षेत्रका प्रमुख स्थानहरुलाई जोड्ने किसिमका रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले बताए । त्यस्तै शनिबार शिलान्यास गरिएका सडकको कुल लम्बाइ २ हजार २ सय १० किलोमिटर रहेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले सडक निर्माणमा ५७ अर्ब १० करोड रुपैयाँको लागत हुने र तीन वर्षभित्र सम्पन्न हुने बताए । शिलान्यास कार्यक्रममा मन्त्रीहरु तथा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय सभा सदस्यहरुको उपस्थिति थियो ।

रासस
लेखकको बारेमा
रासस