ताजा अपडेट »

‘एनटिसीको टावर टिपेन, समस्या समाधान होस्’

शुक्रबार, २० चैत्र २०७७, १६ : ०४
6 Shares

काठमाण्डौं । सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा गुणस्तर’ विषयक अन्तक्र्रिया कार्यक्रममा सांसदहरुले प्रत्येक वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीलगायत गाउँगाउँमा इन्टरनेट सेवा पुर्याउनु सरकारको योजना व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसकी नेत्री तथा सांसद चित्रालेखा यादवले सबैभन्दा पहिला ग्रामीण क्षेत्रमा देखिएको टेलिकमको टावरको समस्या समाधान गर्न सरकारसँग अपिल गरे । पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले सरकारले अघि सारेको डिजिटल नेपालको फेर्मवर्कलाई पूर्णरुपमा सफल बनाउने गरी दूरसञ्चारको विकासमा जोड दिए । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भने, “दूरसञ्चार कम्पनीले जनताको पैसा चोर्छ भन्ने गुनासो छ, कसैलाई फोन गरेको हुँदैन तर पैसा काटिरहेको हुन्छ, यो समस्या के हो ।” प्रदेश नं २ र वाग्मती प्रदेशका सांसद सहभागी सो कार्यक्रममा सांसद नवरज सिलवालले नेपाल टेलिकमले पैसा कमाएको छ, तर गुणस्तरीय सेवा दिन सकेको छैन भने । सांसद गणेशकुमार पहाडीले डिजिटल नेपालकको आकाङ्क्षा पूरा गर्नका लागि मिडियासम्बन्धी भएका ऐन/कानूनलाई संशोधन गरी सञ्चारमैत्री बनाउनुपर्नेमा जोड दिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार क्षेत्रमा देखिएका नीतिगत र अन्य समस्या समाधानका लागि लिखित सुझाव दिन आग्रह गरे । नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाललाई दूरसञ्चारमैत्री बनाउने उद्देश्यका साथ तीव्र गतिमा काम भइरहेको जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस