ताजा अपडेट »

शक्तिशाली नेकपामाथि प्रश्नैप्रश्न

सोमबार, २७ जेठ २०७६, १३ : १०
6 Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शक्तिशाली छ । दुईतिहाइनजिकको संघीय सरकार छ । सात प्रदेशमध्ये ६ प्रदेशमा नेकपाको सरकार छ । झन्डै दुईतिहाइ स्थानीय सरकारमा उसकै नेतृत्वमा छ । यसरी हेर्दा राष्ट्र नेकपामय छ । हँसिया र हथौडाको झन्डाको नेतृत्वमा राष्ट्र सञ्चालित छ । तैपनि नेकपाको भविष्यबारे चिन्ता भइरहेको छ– पार्टीभित्र र बाहिर पनि । एकातिर शक्तिशाली, अर्कातिर भविष्यको चिन्ताको प्रश्न, यस्तो अन्तरविरोधको कारण के हो ? शक्तिशाली हुनु आफैँमा अन्तरविरोध हुन पनि सक्छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा आफूलाई शक्तिशाली भन्नेहरू शक्तिको उन्मादमा कमजोर भएका छन् । बरु कमजोर भएका वेला शक्तिशाली देखिएका छन्, यो मनोगत नभएर वस्तुगत पनि हुने गरेको छ । नेकपाको भविष्यको चिन्ता गर्ने र चिन्ता गर्नैपर्दैन भन्ने विचार नेकपाभित्रै छ । अतः आखिर के हो त नेकपाको चिन्ता ? चिन्ताले नै पुग्छ कि चिन्तनको आवश्यकता छ । यसरी चिन्तालाई चिन्तनमा बदल्ने र नेकपाका वास्तविक समस्या पहिचान र निदान गर्न त्यसका लागि चुनौती के हुन् ? पहिले त्यही पत्ता लगाउन जरुरी छ । 

पार्टी एकतालाई बुझ्ने प्रश्न
पार्टी एकता सम्पन्न भइसकेको छ । तर, यो वैचारिक–राजनीतिक हुन्छ कि हुँदैन ? न्यायपूर्ण हुन्छ कि हुँदैन ? त्यो एकता शक्ति प्राप्तिका लागि मात्र हो कि कम्युनिस्ट आन्दोलनलाई अझ प्रगतिशील, जनपक्षीय र क्रान्तिकारी बनाउन हो ? अथवा सरकार प्राप्तिका लागि मात्र हो कि सत्तामा रूपान्तरणका निम्ति हो ? अहिले पुँजीवादी संसदीय व्यवस्थाको प्रयोग, उपयोग (रणनीतिक) गर्दै यसको जगमा टेकेर समाजवादको बाटो लाग्ने हो ? या यही पुँजीवादलाई बलियो बनाउँदै यसैमा रमाउने, गन्हाउने हो कि के हो ? नेकपाले जवाफ दिनुपर्ने मुख्य प्रश्न यही हो । यो चुनौतीको बाटो नेकपाले तय गर्नुपर्छ ।

स्वस्फुर्तवादको बाटोबाट होइन । सचेतन प्रयत्नको बाटोबाट गर्न सकिन्छ । पार्टी एकतालाई समाजवादको ढोका खोल्ने, देशको समृद्धि तय गर्न बाटो पहिल्याउने, कम्युनिस्ट आन्दोलनलाई अझ वैचारिक, राजनीतिक र सांस्कृतिक मूल्य, सामूहिकता र सिर्जनशील बनाउने विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने ल्याकत भएको कम्युनिस्ट आन्दोलन बनाउनु अहिलेको चुनौती हो । यो चुनौती पार्टी एकतालाई रणनीतिक रूपमा बुझेर रूपान्तरणमा बुझे मात्र सम्भव छ । तर, यसलाई राजनीतिक–कार्यनीतिक रूपमा बुझ्न थालियो भने पार्टी एकता नै चुनौती बन्ने खतरा रहन्छ । 

विचारको प्रश्न
विचारको कुरा गर्दा नेकपाको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद भनिरहेका छौँ, तर पूर्वमाओवादीले माओवादलाई पनि मान्दै आएको छ । विश्वको बदलिँदो सन्दर्भमा माक्र्सवाद–लेनिनवादलाई हामीले कसरी बुझेका छौँ ? माओ र चिनियाँ कम्युनिस्ट पार्टीको योगदान नेपाल र विश्वमा कुन स्तरको हो ? पार्टी एकताको यो चरणमा पुग्दासम्म हामी बहसमा छैनौँ । हामीले भन्नका लागि माक्र्सवाद–लेनिनवाद भनेका छौँ या गर्नका लागि अथवा हामी व्यावहारिक जीवनमा कति मार्क्सवादी  छौँ ? कति लेनिनवादी ? त्यसको कुनै आधार छैन । पूर्वमाओवादीले बुझेको माक्र्सवाद–लेनिनवाद र पूर्वएमालेले बुझेको मार्क्सवाद –लेनिनवादबीचको अन्तरलाई कसरी सम्बोधन गर्ने ? यसबारे पार्टीमा प्रस्टता खै ?

पूर्वमाओवादीले एक्काइसौँ शताब्दीको जनवाद भनेको थियो त्यो पनि जनयुद्धको उत्कर्षमा । जनताको बहुदलीय जनवाद पूर्वएमालेले संवैधानिक राजतन्त्रसहितको संसदीय बहुदलीय व्यवस्था चरणमा भनेका थिए । माओवादीको बाह्रबुँदेपछि संसद् पुनस्र्थापनाको व्यवस्थामा प्रवेशपछि स्वयं माओवादी एक्काइसौँ शताब्दीमा छैन र जनताको बहुदलीय जनवादको प्रश्नमा पूर्वएमालेमै एकरूपता छैन । नेकपाले अहिले जनताको जनवादलाई समाजवादउन्मुख हो भनेको छ । जसले जे भने पनि हामी संसदीय चुनावको भद्दा प्रयोगमा चुर्लुम्म डुबेका छौँ । त्यसैलाई हामीले विचार भनेका छौँ, साथै भागबन्डा, गुटबन्दी, लेनदेनजस्ता पु“जीवादी व्यवहार हाम्रो राजनीतिक चरित्र भएका छन् । 

पुँजीवादमा जुन संकट आएको छ र समाजवादका जुन चुनौती छन्, तिनलाई सामना नगरी अब न पुँजीवाद न समाजवादको दिशामा अगाडि बढ्न सकिन्छ । नेपालकै सन्दर्भमा नेकपा निर्माण, दुईतिहाइको केन्द्र, प्रदेश र स्थानीय तहका सरकारभन्दा ठूलो उपलब्धि के हुन सक्छ ? यसलाई वैचारिक रूपमा बाटो नदेखाउने हो भने सोभियत संघ हुन सक्छ । विचार र विनम्रताविनाको शक्ति तासको घर बन्ने सम्भावना रहन्छ । अतः विचारको विकास आजको आवश्यकता हो । पूर्वएमाले र पूर्वमाओवादीको छुट्टाछुट्टै अनुभव हाम्रो पुँजी हो, तर आफूलाई मात्र सही सावित गर्ने प्रश्न गम्भीर चुनौती हो, जुन हामीले फेस गरेकै छैनौँ । जो हामी सबैको चुनौती बन्न सक्छ । 

समृद्धिको प्रश्न
नेपाली राजनीतिको लामो यात्रा राजनीतिक व्यस्थापनमा बितिसकेको छ । वामशक्ति र प्रजातान्त्रिक शक्तिको सहमतिको बिन्दु समावेशी लोकतन्त्र हो । अहिले वामपन्थी दुईतिहाइनजिक छ । संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनको चरणमा छ । नेपाली, राजनीतिक कोर्स राजनीतिक नाराबाट विकास र समृद्धिको मुद्दामा रूपान्तरण भइसकेको छ । अब राष्ट्र समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सकेन भने हामीले प्राप्त गरेको राजनीतिक कोर्समा प्रश्न खडा हुन सक्छ । पुनः देश अस्थिरता, अराजकता र निराशामा जाने सम्भावना रहन्छ । नेकपा निर्माणको कोर्स पनि स्थायित्व र समृद्धि पूरा गर्न भएको हो ।

समृद्धिका लागि स्थायित्व र बलियो सरकार चाहिन्छ । बलियो सरकारले मात्र देशमा समृद्धि ल्याउन सक्छ । त्यसअनुसार नेकपा नेतृत्वको सरकार इतिहासकै बलियो सरकार हो । यो सरकार र नेतृत्वप्रति जनताको अगाध आशा, विश्वास र भरोसा छ । हाम्रो पार्टी एकताको बलियो आधार पनि त्यही हो । यदि हामीले पार्टी एकता सम्पन्न गरिरहँदा जनताको आशामा निराशा र अविश्वास पलायो भने जनताले, हाम्रा मतदाताले आशा गरेअनुरूप सुशासन र समृद्धि सम्भव भएन भने सरकारको सफलता या असफलताको प्रश्न होइन, हाम्रो एकताबद्ध पार्टी नेकपामाथि प्रश्न उठ्नेछ ।

हाम्रो समाजवादी आन्दोलनप्रति नै विश्वास डगमगाउनेछ । देश अग्रगतितर्फ  होइन, पश्चगमनतर्फ  जानेछ । यसको दोष नेकपाले लिनुपर्ने हुन्छ । अतः भन्न सकिन्छ, यदि समृद्धिको मुद्दामा पार्टी गम्भीर भएन, सरकारले राम्रो काम गरेर देखाउन सकेन भने चुनौती त्यहीँबाट सुरु हुनेछ । ‘एक जुगमा एकपटक आउँछ’ भन्ने यो दिग्दर्शनलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ । चुनौती हामीभित्रै छ र संसद् वा प्रतिपक्षमा खोज्ने भुल गर्न हुन्न । 

चरित्रको प्रश्न
राजनीतिको सौन्दर्य चरित्र हो । जनताले राजनीतिलाई जनपक्षीय चरित्र, प्रगतिशील संस्कृति, संस्कार र सौन्दर्यमा अभिव्यक्त भएको हेर्न चाहन्छन् । हामी कम्युनिस्ट हौँ, हामी समाजवादी हौँ । हामी सामूहिकतामा विश्वास गर्छौं । हामी आलोचना–आत्मालोचनामा विश्वास गर्छौं । कमिटी प्रणाली हाम्रो जीवन हो । तर, हामी पुँजीवाद, व्यक्तिवाद, भ्रष्ट दलाल र बिचौलिया बन्दै छौँ । पुँजी हाम्रो केन्द्र बन्दै छ, निर्वाचन पद्धति भ्रष्ट बन्दै छ र हामी समाजवादी कम संसद्वादी चरित्रका ज्यादा भएका छौँ भने हाम्रो पराजय त्यहीँबाट सुरु हुन्छ ।

जनताले हामीलाई हेर्न खोजेको साथी हो, तर हामी मालिक बन्न रुचाउँछौँ । अथवा हामी मालिक वा संसद्वादी भयौँ भने प्रतिपक्षका प्रतिक्रियावादी शक्तिले हामीलाई पराजित गरिरहनुपर्दैन, आफ्नै चरित्रले हामीलाई पराजित गर्छ । हामी आफूसँगै हा-यौँ भने जित टाढा पुग्छ । अतः कम्युनिस्ट समाजवादी चरित्र निर्माण रणनीतिक प्रश्न हो । यो सिद्धान्तको प्रश्न हो, यो सत्ता र शक्तिसँग मात्र सम्बन्धित छैन । तर, आज समाजवादी चरित्र निर्माणको प्रश्न अन्ततः गौण बनेको छ । राजनीतिमा जे गर्दा पनि जायज हुन्छ भन्ने मान्यता बिस्तारै बन्दै छ । नेकपाको ठूलो चुनौती जनपक्षीय चरित्र निर्माणको प्रश्न बनेको छ । 

नेतृत्वको प्रश्न
वर्गसंघर्षले नेतृत्व जन्माउँछ । रातारात नेतृत्व बन्छ भन्ने सत्य होइन । कम्युनिस्ट आन्दोलनमा नेतृत्व रणनीतिक महत्वको  प्रश्न हो । पुँजीवादी दलहरूले निर्वाचनमार्पmत नेतृत्व निर्माण गर्छन् । पारिवारिक पृष्ठभूमिबाट पनि नेतृत्व निर्माण गर्छन् । तर, कम्युनिस्ट आन्दोलनमा नेतृत्व आन्दोलनबाट निर्माण हुन्छ र त्यसले लामो अवधि नेतृत्व गर्ने हैसियत पनि राख्छ । विशेषतः नेतृत्वको दूरदृष्टिले क्रान्ति–प्रतिक्रान्ति र जित–हार हुने गर्छ । नेतृत्व सामूहिकताको अभिव्यक्ति हो र यो सामूहिक नेतृत्व व्यक्तिगत उत्तरदायित्वबाट निर्देशित हुन्छ । 

त्यसकारण कम्युनिस्ट आन्दोलनमा नेतृत्वको प्रश्नलाई केन्द्रीय प्रश्न बनाउनुपर्छ । नेकपामा विशेष परिस्थितिवश दुई अध्यक्षात्मक प्रणालीमा हामीले नेतृत्व निर्माण गरेका छौँ । यो प्रश्नलाई हामीले पारदर्शी भएर हल गर्न सक्छौँ कि सक्दैनौँ अथवा विधि र विचारको अभिव्यक्ति नेतृत्वमा स्थापित गर्न सक्छौँ कि सक्दैनौँ ? नेकपाको नेतृत्वसम्बन्धी अवधारणा संसदीय हो कि समाजवादी हो ? यस प्रश्नको उत्तर हामीले दिन सकेनौँ भने चुनौती त्यहीँबाट सुरु हुन्छ । अतः नेतृत्वसम्बन्धी समाजवादी मोडेलको विकासको प्रश्न नेकपाको अहिले सबैभन्दा ठूलो चुनौती हो ।यी माथिका प्रश्नको हल गरेर मात्र नेकपाले आफ्नो समाजवादउन्मुख उद्देश्य पूरा गर्न सक्छ । 

-साभार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।