ताजा अपडेट »

बिर्सिएका साथीलाई सम्झिने दिन

सोमबार, १६ चैत्र २०७७, १५ : १९
66 Shares

साथीहरुले मेसेन्जरमा समूह बनाएर मलाई पनि जोडेका रहेछन् । खुसी लाग्यो । यसो हेर्छु त पढ्दाका पुराना साथीहरु । हामीहरुले २०५२/२०५३ मा पुरानो बुटवलको सीएमए तालिम केन्द्रमा तालिम लिएका थियौं । बुटवल सीएमए तालिम केन्द्रको हामी तेस्रो समूह थियौं । हाम्रो दुईवटा समूहमा ८० जना साथीहरु थियौं । अघिल्ला पुराना साथीहरुका समूहभन्दा हामी अलि फरक थियौं । कारण अनेक छन् । विद्यार्थी कल्याणकारी समिति बनाएका थियौं । विद्यार्थी हक अधिकारका निम्ति प्राइभेट सेन्टरमा पढेर पनि माग सम्बोधन गराउनका निम्ति क्रियाशील थियौं ।

शिक्षकहरु उस्तै सक्रिय र युवाहरु थिए । डाक्टर प्रदीप ज्ञवाली, डाक्टर राजेन्द्रबहादुर जीसी लगायतका सरहरु हाम्रा लागि सम्झनाका पात्र बनेका छन् । हाम्रो समूहमा भरखर १६/१७ वर्षका ऋषिराम आचार्यदेखि ३० वर्ष कटेका कुलबहादुर आले(ठूल्दाइ) र ईश्वरबहादुर राना(कान्छा दाइ) समेत अध्ययन गर्थे । सबै जातजातिका थियौं । तराइका राजेन्द्र यादव, नाथुरामदेखि पहाडी जिल्लाका जगदीश घिमिरे, विश्व पौडेल, मणि पंगेनी, बिमला रायमाझी, जगन्नाथ पराजुलीहरु समेत थिए । बाहुन क्षेत्री थिए । कथित दलित जातिका साथीहरु थिए । जनजातिमा मगर,गुरुङहरुको समेत सहभागिता देखिन्थ्यो ।

पढाईमा अब्बल साथीहरु थिए । सीएमए पढ्न आउँदा केही साथीहरुले प्रमाण पत्र तह उत्तीर्ण गरेर स्नातक पढ्दै थिए । धेरैले प्रवेशिका परीक्षा उत्तीर्ण गरेर आएको तातो जोश थियो । त्यही भएर पढाइमा आगो पार्थे । घोकन्तेहरु पनि थिए । निर्मल भण्डारी, ऋषिराम,मणि पंगेनीहरुले टुप्पी बाँधेर दाँतबाट पसिना आउने गरी घोकेर पढेको ताजै लाग्छ । कान्छा दाइ, ठूल्दाइ, म अनि एनपी पन्थीहरु भने व्यवहारिक पढाइका पक्षमा थियौं कारण उमेर अवस्था र पाकोपना नै हो । त्यतिबेला देशभरि रहेका २८ वटा सीएमए तालिम केन्द्रहरुमध्ये बुटवलकै तालिम केन्द्रबाट हामीहरुले नै प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका थियौं । त्यो कृर्तिमान राख्न पाउँदा खुसीको सीमा थिएन ।

सीएमए पास भएपछि सबै साथीहरु जागिरको सिलसिलामा देशका धेरे ठाउँमा सेवारत् छन् । पर्वतबाट लोकसेवा पास गरेका बुद्धिप्रसाद पन्थ रुपन्देहीमा ढलिमली गरेका छन् । कपिलवस्तुका राजेन्द्रप्रसाद यादव रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा किल्ला जमाएका छन् । जगन्नाथ पराजुली सुनवलतिर धन कमाएर मख्ख छन् । मणि पंगेनी वालिङ्ग नपामा जागिरे छन् । सीता पराजुली भैरहवा आँखा अस्पतालतिर सेवारत् छिन् । विमला परासीतिर छिन् । रेश्मा कता छिन् हेक्का छैन । विश्वले केही समय प्रोजेक्टतिर जागिर गरेर यतिबेला एग्रोभेटतिर भेटिन्छन् । जियोलोजीमा एमएस्सी गरेका उनी पछिल्लो समय नेता बन्ने शुरमा छन् । साथीहरुको प्रगति सुनिएकै छ । अच्युत,भागिरथ अनि दीपेन्द्र लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नो ज्ञान,सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्दैछन् ।

जीवनको २५ वर्षसम्म धेरै साथीहरु एकै ठाउँमा एकैपटक भेट हुने अवसर मिलेन । सायद बिमला रायमाझीले बनाएको सीएमए २०५२ को मेसेन्जर समूहले २०७८ को बैसाख ११ गते फेरि बुटवलमा भेटाउने छ । सकेसम्म सबै नसकेमा करिव ४० जना अर्थात् ५० प्रतिशत् साथीहरुलाई जम्मा गरेर रजत भेटघाट महोत्सव मनाउने योजना बुनेका छौं । यस कार्यक्रमा सबै साथीहरुको सार्थक सहभागिता रहने नै छ । मेसेन्जर समूहमा जोडिएका साथीहरुलाई त थाहा भइहाल्यो । नजोडिएका साथीहरुलाई जोड्न प्रयत्न जारी राख्नु पर्ने छ । कुनै साथीले सूचना वा जानकारी नपाएको कारण कार्यक्रममा उपस्थित हुन नपाउँदा पीडाबोध हुनेछ । रजत भेटघाटमा भेट्न नपाउँदाका गुनासोको समाधान गर्न हामीले सक्ने छैनौं । समयले हामीलाई लखट्ने छ ।

हामीले रजत भेटघाट कार्यक्रममा चियापान गर्नेछौं । आफ्नो परिचयलाई पुनर्ताजगी गर्नेछौं । २५ वर्षको अवधिमा हामीले गरेका प्रगति र गुमाएका साथीहरुको सम्झना एवम् श्रद्धाञ्जली अपर्ण गर्नेछौं । पढेर देशका लागि पुराएको योगदानका बारेमा चर्चा गर्नेछौं । त्यतिबेला सीएमएको योगदान र मूल्य अतुलनीय थियो । गाउँले डाक्टरकारुपमा चित्रित सीएमएहरुको वृत्ति विकासका निम्ति के कस्ता कामहरु भएका छन् ? सो बारेमा समेत जानकारी हासिल हुने छन् । साथीहरुको प्रतिभाहरु प्रस्फुटन हुने छन् ।

हामीले तत्कालीन तालिम केन्द्रका प्रमुख र सञ्चालकहरुसँग पढाईका बारेमा,शुल्कका बारेमा,ओजेटी व्यवस्थापन एवम् फिल्डमा देखा परेका समस्याहरुका बारेमा प्रत्यक्षरुपमा डायलग गरेका थियौं । तालिम केन्द्रका सञ्चालकहरुसँग हाम्रो धेरैपटक बिमति भएका थिए । उनीहरुले प्राइभेट सेक्टरमा विद्यार्थी कल्याणकारी समिति बनाउन नहुनेमा तर्क राख्थे तर हामी हाम्रो खाँचो हो भनेर मुठ्ठी कसेका थियौं । हामीहरु पढ्ने क्रममा आफ्नै पैसा र सहयोग उठाएर नेपालका प्रख्यात स्थानहरु र भारतको दार्जिलिङ्गसम्म शैक्षिक अवलोकन भ्रमणमा गएका थियौं । भ्रमणका बेला हामीले नयाँ नयाँ कुराहरु देख्ने र अनुभव गर्ने अवसर पाएका थियौं ।

धनकुटाको सरकारी सीएमए क्याम्पस हेरेका थियौं । इलामको चियाबारीमा फोटो खिचाएका थियौं । फिक्कलमा तुम्बा तानेर झापा आउँदा नसाले छाडेको साथीहरुले सुनाएका थिए । सर्लाहीको लालबन्दी बजारमा किनेको झक्कले खसीलाई टाइगर टपमा काटेर पिकनिक खाएको हामीले कदापी भुल्ने छैनौं । साथीहरुले नाचेर धूलो उडाएको यी आँखा साक्षी छन् । केही साथीहरुले उक्त शैक्षिक भ्रमणमा मासुभात खान नपाएको झोंकमा मलाई गाली गरेको मैले बिर्सेपनि त्यी साथीहरुले बिर्सेका छैनन् । भ्रमणको संयोजन दिनानाथ भण्डारी लगायतका साथीहरुले गरेका थिए । नाचगानमा तिर्कामणि बहुतै सक्रिय थिए ।

उतिबेला गठित विद्यार्थी कल्याणकारी समितिमा मलाई अध्यक्ष बनाएका थिए । यतिबेला अर्थात् २५ वर्षपछि पनि रजत भेटघाट कार्यक्रम २०७८ को संयोजन गर्ने जिम्मा दिएका छन् । विश्व,जगन्नाथ लगायतका साथीहरुले पक्कै पनि समन्वयकारी भूमिका निर्वाह गरेर कार्यक्रमलाई टुंगोमा पुराउन पहल गर्ने आशा गरेको छु । साथीहरुका अनुसार हामीहरुले निर्मल भण्डारी( गुल्मी) देवी गोदार(पाल्पा) हरिबहादुर जीसी( प्युठान),मुमाराम भुसाल(अर्घाखाँची) र तिर्कामणि गैरे ( गुल्मी) लाई गुमाएका छौं । उनीहरुको आकस्मिक निधन भएको खबरले मन अमिलो भएको छ । ती साथीहरुप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दछु ।

अउने बैसाख ११ गते शनिवारका दिन भेट हुँदा एकले अर्कालाई थप नजिकबाट चिन्ने छौं । कति साथीहरुका अनुहार बिर्सिए पनि उनीहरुका कुरा सुनेर सम्झिने छौं । बिर्सिका अनुहारहरुलाई सम्झिने छौं । एकले अर्कालाई असल मित्रका रुपमा ग्रहण गर्नेछौं । सुख दुःखका साथीका रुपमा बुझ्ने छौं । माया,ममता र स्नेहका आँखाले सबैलाई हेर्नेछौं । मित्रतालाई कायम गर्न स्थायी खालको समिति गठन गर्नेछौं र वर्षैनी भेट्न प्रण गर्नेछौं । गुमाएका साथीहरुका घरमा समवेदनाका लागि पुग्नु पर्नेछ । उनीहरुका परिवारलाई हौशला दिनुपर्नेछ । साथीहरुको सम्झनालाई नवीकरण गर्नुपर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।