ताजा अपडेट »

फिका भए पनि मनाइयो होली

सोमबार, १६ चैत्र २०७७, १७ : १५
10 Shares

भैरहवा । नेपालमा होली २ दिन मनाईन्छ । पहिलो दिन हिमाली र पहाडी क्षेत्रमा भने दोश्रो दिन तराई क्षेत्रमा । तर भैरहवामा यस अघि यी २ दिन नै होली मनाउने गरिन्थ्यो । होलीमा भैरहवाका बाटो मात्र हैन गल्लीहरु पनि रंगीन हुन्थे । तर यस बर्ष होलीमा रंगिएको मानिस भेटन् पनि मुश्किल पर्यो ।

रङ्गहरुको पर्व होली पनि यस बर्ष कोरोना भाईरसको चपेटामा परेको छ । यस पाली कोरोनाकै कारण धेरै जना होलको रंगमा रंगिन चाहेनन् । कोरोना भाईरसको प्रत्यक्ष असर होलीमा देखिएको छ । भैरहवाका प्राय बाटो खाली छन भने यदाकदा रुपमा मात्र परिवार र साथीसंगी मिलेर होली खेलीरहेको दृश्य देख्न सकिन्छ । स्थानियहरु कोभिडको त्रासको कारण खुलेर होली मनाउन नसकेको बताउछन् । भैरहवा क्षेत्रमा होलीमा धेरै जना घर बाहिर नै निस्किएनन् । कतिपयले भने आफ्नै घर परिवार सित रंगिएर होली मनाए । बाटोमा भने होली मनाउने टोली धेरै कम देखिए । यस अघिका बर्षहरुको हुलका हुल टोली बनाएर होली खेल्ने गरिन्थ्यो । यसको साथै मटका फोर, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरुको आयोजना गरिए पनि यस पटक त्यस्तो केही हुन पाएन ।

होली लक्षित बिभिन्न रंग, पिचकारी, टोपी लगायत बिक्रि गर्नेहरुले पनि यो बर्षको होली फिका भएर ब्यपार नभएको बताए । गत बर्ष सम्म होलीको २÷३ दिन अगावै यस्ता पसलहरुमा भिडभाड हुने भए पनि अहिले धेरै कम ग्राहकहरु रंग, पिचकारी खरिद गर्न आएका थिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि सार्वजनिक सूचना जारी गर्दै भिडभाड हुने गरि होली नखेल्न आग्रह गरेको थियो । नगर क्षेत्र भरि नै प्रहरीले माईकिङ्ग गरि भिडभाड हुने गरि होली नखेल्न आग्रह गरेको थियो । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा