ताजा अपडेट »

उत्सवमय मिथिलाः जताततै रङ अबिरको पर्व होलीको रौनक

सोमबार, १६ चैत्र २०७७, ११ : ४१
4 Shares

महोत्तरी । स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका । घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त । आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ ।

‘बुरा नमानो होली है’ रङ, अबिर खेल्दा उमेर, यही क्रम नाघिएछ भने माफी माग्दै भनिने यति हो । पर्वमा रङ, अबिर खेल्दा शिष्टताको ख्याल गर्ने मैथिल संस्कृति छ । घरका  होउन् वा आफ्नो समाजका, श्रेष्ठजनले अबिरको टीका लगाइदिएर इष्र्या, अहङ्कार त्यागेर सबैप्रति सम्मान र आदर दर्शाउन अर्ति दिन्छन् । सानाले बडालाई आदर गर्दै अबिरले पाउ पुजेर अबिर ग्रहण गर्न आग्रह गर्छन् । समाजमा, नाता सम्बन्धमा श्रेष्ठजनप्रति दर्शाउने शिष्टताको स्थापित परम्परा छ ।

यो पर्वमा रङ, अबिर खेल्नुसँग नाता, सम्बन्धको सरोकार देखिन्छ । मिथिलामा सालासालीरभिनाजु, सरोजनी (जेठान, सालाका पत्नी)सँग आमाजूदाजु र नन्देभाइ एवं देवररभाउजूबीच छिल्लिएरै रङ, अबिर खेल्ने चलन छ । यसबाहेक सम्धीलाई सम्धिनीले लुकेर रङले लच्छ्रप्पै बनाएको देख्दा हाँस्नेहरुको रमाइलो झनै रोमाञ्चक र मनोरञ्जक बन्ने गर्छ । समान उमेरका मोस्तमहिम (इष्टमित्र) पनि मन खोलेर होली खेल्छन् । यी सम्बन्धमा घोलिएको रङ छ्यापाछ्याप गर्नुले सांस्कृतिक मान्यता पाए पनि श्रेष्ठजनलाई यसरी रङ छ्याप्न नहुने मान्यता छ । श्रेष्ठजनसँग अदवसाथ झुक्दै अबिर अर्पण गरेर आशीर्वाद लिनुपर्ने परम्परा रहेको पाका मैथिल बताउँछन् ।

मैथिल संस्कृतिमा होली पर्वका दिन भाङ खाएर लठ्ठिनुले सामाजिक स्वीकृति नै पाएको छ । भाङको नशामा लठ्ठिएर होली गीत गाउँदै आ–आफ्ना वयमा रङ, अबिर खेल्दै छिल्लिएर हिँडेका युवायुवतीको छुट्टाछुट्टै समूहलाई देख्दा जोसुकै रोमाञ्चित हुने गर्छन् । ‘बुरा नमानो होली है’ पर्वमा सुनिने साझा स्वर हो ।

महोत्तरीसहितका मिथिला क्षेत्रमा आज होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ । फागुन शुक्ल पूर्णिमाका भोलिपल्ट होली पर्व मनाउने मैथिल परम्पराअनुसार आज मिथिला होलीमय बनेको हो । पर्वको मिथिला माध्यमिकी परिक्रमासँग तादात्म्यता जोडिन्छ । मिथिला माध्यमिकी परिक्रमा १४ दिनको यात्रा सकी फर्केर जनकपुरधाम आएपछि पूर्णिमाका दिन जनकपुर अन्तरगृह परिक्रमा पूरा गरेको भोलिपल्ट होली पर्व मनाउने मैथिल परम्परा छ । होली जनजन परिचालित हुने मिथिलाको उत्सव र उमङ्गको पर्व हो । आफ्नो सावगासअनुसार सबै मैथिल यो पर्व मन फुकाएर मनाउँछन् ।

राक्षसी (तामसी) प्रवृतिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा मनाइने होली पर्व मित्रता, भाइचारा र आपसी सद्भाव बढाउने  रिसराग बिर्साउने अवसर मानिन्छ । रङ, अबिरको प्रयोगले यो पर्व उमङ्ग र उल्लासमय बनेको मैथिल संस्कृति र परम्पराका ज्ञाता महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ)का नेपाली भाषा साहित्यका उपप्राध्यापक ध्रुव राय बताउँछन् । पर्वका दिन आज मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर, बस्तीमा होली गीत गुञ्जिएका छन् । जताततै रङ अबिरको माहोल छ । पर्वले मानिसमात्र होइन, सडक, बाटा, घरआँगन सबै रङ, अबिरले राताम्य भएका छन् ।

यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसङ्ग गाँसिएका छन् । अघि त्रेतायुगमा विवाहपश्चात फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनक नन्दिनी किशोरीजी (सीताजी)ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेका सम्झनामा होली पर्व शुरु भएको मानिने एउटा मत रहेको छ । 

त्यस्तै होली पर्वको सन्दर्भ सत्ययुगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न विभिन्न जालझेल र षड्यन्त्र गरेका कथासँग जोडिएका छन् । हिरण्यकशिपुले आगोमा पोलिएर नमर्ने अभय वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर अग्निकुण्डमा राख्दा अभय वरदान पाएकी होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्तै शान्त मुद्रामा रहेका विश्वाससँगै जोडिएको कथा पर्व परम्परासँग जोडिएको छ । 

यो प्रसङ्ग श्रीमद् भागवत महापुराणमा पनि वर्णित छ । यसै कथा प्रसङ्गबाट नै राक्षसी प्रवृत्ति नास भएको खुशीयालीमा यस पर्व  परम्परा शुुरु भएको मिथिला परम्पराका ज्ञाता महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय महेश्वर रायको भनाइ छ । यसै सन्दर्भलाई मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यस पर्वको ओज बढाएका मैथिल बुद्धिजीवी बताउँछन् ।

थप एक दिन बिदा
यसपालि होली पर्वकै मुखमा भारतमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेसँगै त्यसको प्रभाव मुलुकभित्र देखिन थालेपछि सतर्कता अपनाउन सरकारले अपिल गरिरहेको छ । महोत्तरी जिल्ला प्रशासनले सार्वजनिकरूपमा होली समारोह आयोजना नगर्न, भीडभाड नगर्न र आफ्नै घरपरिवारभित्र रहेर पर्व मनाउन सर्वसाधारणसँग अपिल गर्दै आएको छ । पर्वका अवसरमा नेपाल सरकारले आज तराईमा बिदा दिएको छ भने प्रदेश नं २ सरकारले थप एक दिन भोलिलाई समेत बिदा दिने निर्णय गरेको छ ।   

रासस
लेखकको बारेमा
रासस