५ माघ २०७८, बुधबार

Jan 19, 2022

राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संरक्षणमा हुर्किंदै गरेकी दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बच्चा पुष्पा । अन्य वन्यजन्तुको आक्रमणबाट आफूलाई सुरक्षित गर्नसक्ने भएपछि मात्रै पुष्पालाई प्राकृतिक वासस्थानमा लगेर छोडिने भएको छ । तस्वीर : टेकराज पोखरेल/रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटी) पुष्पालाई गत वर्षको माघ ३ गते उद्धार गरिँदा उनी जम्मा १२ दिनकी थिइन् । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लगायतको टोलीले उनलाई तमासपुर क्षेत्रको दलदलबाट उद्धार गरेको थियो ।

Advertisement

दलदलबाट उद्धार गरेर माउसँग भेट हुने आशमा पुष्पालाई दुई दिन सोही ठाउँको सुरक्षित स्थानमा राखिएको भए पनि माउ लिन नआएपछि पुष्पालाई माघ ५ गते सौराहा लिएर आइयो । पुस महिनामा जन्मिएकी र केटी भएकाले उनको नाम पुष्पा राखिएको हेरचाहमा खटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक लालबहादुर महताराले बताए । “उद्धार गर्दा १२ दिनकी पुष्पा अहिले करिब १५ महिनाको पुगेकी छिन्”, महताराले भने, “शुरुदेखि नै मैलेमात्रै हेरचाह गरेको भएर होला अरुसँग खेल्न र चर्न जान मान्दिनन् ।” उद्धार गर्ने बेलामा पुष्पाको टाउको मात्रै बाहिर निस्किएको थियो भने बाँकी शरीर पूरै दलदलभित्रै फसेको महताराको भनाइ छ । पुष्पाको प्राकृतिक घर चितवन राष्ट्रिय निकुञ्ज भए पनि उनी अहिले घरपालुवाजस्तै भएकी छिन् । पन्ध्र महिने चञ्चले पुष्पा अहिले एनटिएनसीको परिसरभित्रै खेल्ने तथा वरिपरि उम्रिएका हरिया घाँसपात खाएर आफ्नो पेट भर्ने गर्छिन् ।

“यहाँ वरिपरि चरेको आहारले मात्रै पुष्पाको पेट भरिँदैन”, महताराले भने, “पुष्पालाई दैनिकरूपमा अलिपर लगेर चराउने गरेको छु, यसका साथै उनलाई एक किलो कुँडो तथा अन्य खाना पनि पकाएर खुवाउने गरेको छु ।” खोरमा रात बिताउने पुष्पा बिहानै खोरबाट बाहिर निस्किएर चर्न थाल्छिन् । “केही बेर चरेपछि उनलाई पानी खुवाउन तथा एकछिन हिँडडुल गराउन बिहान ११ बजेतिर नजिकैको ढुङ्ग्रेखोलामा लिएर जान्छु”, महताराले भन्नुभयो, “ढुङ्ग्रेखोलामा पानी खाएर त्यहाँ वरिपरि चरेपछि दिउँसो ३ बजेतिर फेरि एनटिएनसीमा लिएर आउँछु ।” पुष्पालाई शुरुआती अवस्थामा दूध, सक्खर खुवाउनुपरेको भए पनि अहिले कुँडो र बन्दाजस्ता आहार खुवाउने गरिएको महताराको भनाइ छ । “पुष्पाले घाँस खान शुरु गर्नु अगाडिसम्म उनलाई दैनिक २० लिटरसम्म दूध खुवाउने गरिन्थ्यो”, महताराले भने, “सात महिनाको हुँदासम्म दूधका साथै पौष्टिकतत्व ल्याक्टोजिन खुवाएर पालिएको हो ।” पुष्पाको खानपानका लागि अहिले दैनिक रु ७०० खर्च हुने महताराले बताए ।

जन्मिएको केही दिनमै आमासँग बिछोडिएकी १५ महिने पुष्पाको स्याहारसुसार गर्दै वन्यजन्तु प्राविधिक लालबहादुर महतारा । पुष्पालाई उद्धार गरेर ल्याएपछि उनको हेरचाहमा महतारा नियमित रुपमा खटिँदै आएका छन् ।

उनको हेरचाह र पालनपोषणमा अहिलेसम्म रु तीन लाख ५० हजार खर्च भइसकेको उनले बताए । पुष्पालाई केही महिना पहिलो जङ्गल लगेर छाड्ने कुरा उठेको भए पनि अझै एक वर्ष एनटिएनसीमै राखिने भएको छ । पुष्पाले आफूलाई हिङ्स्रक जनावरबाट बचाउन सक्ने भएपछि मात्रै उनलाई प्राकृतिक बासस्थानमा लगेर छाड्ने तयारी भएको महताराले जानकारी दिए । “पुष्पाको खाग उम्रिएको छैन, त्यसैले उनले आफूलाई अरुको आक्रमणबाट जोगाउन सक्दिनन्”, महताराले भने, “पुष्पाले आफूलाई आक्रमणबाट जोगाउन सक्ने भएपछि मात्रै निकुञ्जमा लगेर छाड्ने कुरा भएको छ ।” पुष्पा एनटिएनसीको परिसरमै मान्छेहरुसँग घुलमिल भएर बस्न रुचाउँछिन् । पुष्पाकै कारण यहाँको रौनकसमेत बढेको छ । मान्छेहरु टाँसिएर सेल्फी खिच्दा पनि पुष्पाले केही गर्दिनन् । झर्काे लागेको बेला भने रिसाएर मान्छेलाई धकेल्ने गरेको महताराले बताए ।

पछिल्लो समय पुष्पासँग सेल्फी खिच्न मान्छे आउने गरेको भन्दै महताराले जनावरलाई माया गर्नुपर्ने भए पनि उनीहरुसँग सेल्फी खिच्ने, जिस्काउनेजस्ता काम गर्न नहुने बताउँछन् । पुष्पा बढ्दै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसर साँघुरो बन्न थालेको छ । “पुष्पालाई अहिलेको अवस्थामा दौडन, खेल्न र चर्न करिब एक किलोमिटरभन्दा बढीको वृत्ताकार क्षेत्रफल आवश्यक पर्छ”, महताराले भने, “अहिले यहाँ ३०० मिटरको वृत्ताकार क्षेत्रमात्र छ ।” “बच्चाकै उमेरको भएकाले मानिससँग खेल्न खोज्ने पुष्पाको बानी छ, उनी अलि चकचके हुनुका साथै मेरो पछिपछि दौडिन्छिन्”, महताराले भने, “खानेकुरा पनि मैले दिए मात्र खाने बानी परेको छ ।” सामान्य अवस्थामा कुनै पनि जीवजन्तुले मान्छेलाई आक्रमण गर्न नआउने भन्दै उनले वन्यजन्तुलाई जिस्काउन वा हिर्काउन नहुने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा बाबुराम लामिछानेले पुष्पालाई अबको एक वर्षपछि मात्रै जङ्गलमा लगेर छाड्ने योजना रहेको बताए । अहिले पुष्पा सानै भएकाले अन्य जनावरको आक्रमणबाट आफूलाई सुरक्षित राख्न नसक्ने हुँदा उनलाई आफूहरुकै संरक्षणमा राखिने लामिछानेले बताए । खासगरी साना वन्यजन्तु बाघको आक्रमणबाट पर्ने बढी खतरा हुने भएकाले पनि पुष्पालाई तत्कालै जङ्गलमा लगेर छाड्न नसकिने उनको भनाइ छ । “प्राकृतिक संरक्षण कोषका पशु चिकित्सकबाट पुष्पाको नियमित स्वास्थ्य परीक्षण हुँदै आएको छ”, लामिछानेले भने, “अहिलेसम्म पुष्पाको स्वास्थ्य अवस्था एकदमै राम्रो भएको हामीले पाएका छौँ ।” कोषले टुहुरा वन्यजन्तुको उद्धार तथा संरक्षण गर्दै पुनः जङ्गलमा नै लगेर छाड्ने गरेको लामिछानेको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’- आजदेखि माघ महिनाभर के गर्न पाइन्छ, के-के पाइँदैन ? क्षितिज लोहनी जसले प्रतिष्ठित एप्पल कम्पनीभित्र नेपाली समूह खडा गरेका छन् रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति संक्रमण मुक्त भएपछि मात्र काममा नवलपुर जेसीजको पदहस्तान्तरण,‘महिला सवल र सक्षम छन्’ पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र कवाड पसलको नाममा प्रतिवन्धित जडिबुटी कारोबार : प्रहरीको छापा, ठूलो परिमाणमा बरामद दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ ३ मितेरी गाउँपालिका बीच ४ वर्षको अनुभव साटा-साट प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने १० करोड मानिसमा कोभिडको दीर्धकालिन लक्षण सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते गड्यौली मलको व्यवसायिक उत्पादनतर्फ सैनामैनाका कृषक समावेशी अर्थतन्त्र वाम पक्षधरहरु एक ठाउँमा होउ ! बुटवलकाे बुद्धनगर खानेपानी संस्थाद्वारा रक्तदान सैनामैनामा बुधवारदेखि एन्टिजेन परीक्षण, कुन वडामा कहिले ? जानकारीसहित प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र पुलिस भिड्ने प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन