ताजा अपडेट »

माधव नेपालले बन्द गराए बन्ने भनिएको एअरपोर्ट

आइतबार, ०६ माघ २०७५, १४ : ०९
2 Shares

माघ ६,

काठमाण्डौं । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले काभ्रेको नागीडाँडामा विमानस्थल आवश्यक नभएको निष्कर्ष निकालेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको उपसमितिले केही मान्छेका फाइदाका लागि राज्यको ठूलो स्रोत खेर फाल्न नहुने सिफारिस गरेको हो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्रिभुवन विमानस्थलआन्तरिक उडानको हब बन्ने भएकाले नजिकै अर्को विमानस्थल आवश्यक नरहेको उपसमितिको ठहर छ ।

‘अनावश्यक पैसा खर्च गर्ने काम गर्न हुन्न,’ प्रतिवेदन बुझाएलगत्तै नेता नेपालले पत्रकारहरूसँग भने, ‘प्रत्येक मन्त्री र नेतालाई आफ्नो क्षेत्रमा विमानस्थल बनाउने हतारो छ । विमानस्थल चलोस्–नचलोस्, आर्थिक रूपले सम्भाव्य होस् कि नहोस् मतलब छैन । दुई वर्ष चलायो, फेरि छाड्यो ।’

उनले काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न पैसा छुट्याएकोमा समेत असन्तुष्टि व्यक्त गरे ।

‘विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ५० करोड पठाउने, परामर्शदाता नियुक्त गर्ने, अनि उनीहरूसँग लेनदेन गर्ने प्रवृत्ति रहेकाले यस्तो काम नहोस्,’ उनले भने, ‘जब त्यहाँ विमानस्थल आवश्यक नै छैन भने सम्भाव्यता अध्ययन किन गर्नुपर्‍यो ?’

काठमाण्डु विमानस्थलको चापलाई कम गर्न भन्दै नागीडाँडामा सम्भाव्यता अध्ययन र जग्गा अधिग्रहणका लागि २५ करोड रूपैयाँ छुट्याइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएलगत्तै रवीन्द्र अधिकारीले अघि बढाएको उक्त आयोजनाको यसअघि पनि सार्वजनिक आलोचना भएको थियो ।

मन्त्री अधिकारीले गठन गरेको विज्ञ समूहले नै नागीडाँडा विमानस्थल आवश्यक नभएको सुझावसहितको प्रतिवेदन दिएको थियो । आफ्नो अनुकूल निष्कर्ष नआएपछि मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन् ।

अरू जस्तो बनाएर घाटामा नजाने भएकाले नागीडाँडामा विमानस्थल जसरी पनि बनाउने मन्त्री अधिकारी बताउँदै आएका थिए ।

६ सयदेखि १२ सय मिटर लामो धावनमार्गसहितको विमानस्थल बनाउन सकिने पूर्वसम्भाव्यता अध्ययनले देखाएको थियो । उक्त अध्ययनले ७ अर्ब बढी लगानीमा ५ वर्षमा विमानस्थल बनाउन सकिने औंल्याएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।