ताजा अपडेट »

रङ्गिन पर्व होली

आइतबार, १५ चैत्र २०७७, ११ : २१
101 Shares

होली नेपाली हरूको प्रमुख चाड मानिन्छ । हिन्दु  संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । हिन्दु धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक-अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक-अर्कालाई रङ्गिन बनाउँछन् ।

होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक-अर्कामाथि फाल्ने चलन छ । होलीको दिन सानो सानो नानीहरूदेखि वृद्ध-वृद्धासम्म सबै होली उत्साह पुर्वक मनाउछ्न् । युवा-युवतीहरू गीत गाउँदै- नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर  एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार-साथीभाई आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा पनि लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो। योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो । जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । फागुपूर्णिमा अनी होली भनिने यो चाड नेपाल मा हर्षोल्लाशका साथ मनाउने गरिन्छ । नेपालमा यो चाड  अरु ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाइन्छ। होलीको अघिल्लो साझ वसन्तपुर दरवार अगाडि ‘होलिका दहन’ गरेर यस चाडको सुरुवात गरिन्छ।

हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका भक्त हिरण्यकश्यपुका छोरा ( प्रह्लाद)लाई मार्न अग्नि नजिक जादा होलिका आँफै जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जित भएको दिनको रुपमा यो पर्व मनाइन्छ। फागु पुर्णिमा वर्तमानलाई सर्वस्व ठानेर नवीन आशा एवम् उत्साहको संचार गर्दै हरेक पल सुखमय ढंगले व्यतीत गर्नु पर्छ भन्ने मान्यता राख्ने पर्व हो। पुराना रिस ,राग , द्वेष र क्येसलाई बिर्सेर नयाँ उत्साह र उमंग संचार गर्ने पर्व हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।