ताजा अपडेट »

हिम्मतिलो चल्लो, कोरोना, कुखुरो र म

शनिबार, १४ चैत्र २०७७, १९ : ३३
34 Shares

कुखुराका चल्ला पनि यतिविधि चलाख हुन्छन् भन्ने कुरा मलाई थाहा थिएन । म सानैदेखि कुखुरासँग कुनै न कुनै तरिकाले नजिक हुँदै आइरहेको छु । हामी साना छँदा आमासँगै खेतारा खोज्न आफरतिर जान्थ्यौं । त्यो बेला बाटाभरि साना ठूला कुखुरा चरिरहेका हुन्थे । बाटाका कुखुरा देखेपछि एकदिन आमाले भन्नु भएको थियो, ‘यी कुखुरासँग छोइनुहुँदैन ।’ मैले मनमनै भन्थेँ, ‘कसरी छोइनु, हामीलाई देख्नासाथ सबै कुखुरा परपर भाग्छन् ।’

झुक्किएर कुखुराको मासु खाएको र जनै फेरेको घटना सम्झिँदा अहिले पनि अचम्म लाग्छ । एकजना साथीको घरमा गएको थिएँ, मासु पकाएका रहेछन् । साथीकी आमाले बटुकामा तीन चार टुक्रा मासु दिइन् । खाएँ । पछि थाहा भयो त्यो त कुखुराको मासु पो रहेछ ! बडो फसाद प¥यो । घर फर्केपछि चिसा पानीले नुहाएँ, पुरानो जनै फालेर नयाँ जनै लगाएँ र दर्जनौँचोटि गायत्री मन्त्र जपेर आफूलाई ‘चोख्याएँ ।’ त्यो घटना सम्झिँदा अहिले पनि एक्लै हाँस्न मन लाग्छ । अहिले भान्सामा नियमितजसो कुखुरा मासु पाकेको देख्दा अचम्म लाग्छ । एक दुई दिन भान्सामा कुखुराको मासु पाकेन भने भान्सातिर जानै मन लाग्दैन ।

चेकजाँचको बेला डाक्टर मनबहादुर के.सी.ले औंलो ठाडो पारेर भनेको सम्झन्छु, ‘हेर्नोस् है रातो मासु खान बन्द ।’ मलिन अनुहार बनाउँदै मैले सोधेको थिएँ, ‘सेता कुखुराको सेतो मासु खान त होला नि ?’गम्भीर हुँदै उनले भनेका थिए, ‘अलि अलि ।’ भएन फसाद ! सानामा आमाले कुखुरा नछुन भन्नुभयो अहिले डाक्टरले रातो मासु नछुन भन्दैछन् । कसले भनेको मान्नु ? संसारमा सबैभन्दा ठूली, आमा भन्छन् । आमाले भनेको मान्दा ज्यानै खतरामा जाने भएपछि डाक्टरले नै भनेको मान्नु पर्ने भयो । त्यसैले कुखुराको प्रभाव बढ्दै गइरहेको छ । भान्सामा खसीको भन्दा कुखुराको प्रवेश बढ्दो छ । अहिले कुखुराको मासु खाएर जनै फेर्न परेको भए महिनामा बिसदेखि पच्चीसवटा जनै त चाहिन्थे होलान् ।
सुरुमा मैले चलाख कुखुराको बारेमा कुरा गर्दै थिएँ, बाहिरतिर बरालिएँछु ।

मेरो घरमा अहिले दुईथरी कुखुरा छन् एक थरी ठूला र अर्को थरी साना । साना पनि साह्रै साना । एकदिन छोरा सुमन खुसी हुँदै घर आए, उनका हातमा कागजको सानो बाक्सा थियो । बक्सा खोलेर देखाए, त्यसमा कुखुराका सानासाना दुईटा चल्ला थिए । साना पनि साह्रै साना । त्यो बेला तिनी तन्नेरी फिस्टाभन्दा ठूला थिएनन् । जोख्यो भने पचास ग्रामसम्मका थिए की ! आश्चर्य मान्दै मीनाले भनेकी थिइन्, ‘के गरेको होला यत्रा चल्ला ल्याएर ?’ सुमनले भनेका थिए, ‘बीस दिनका चल्ला हुन् आमा यी । सानो जातका चल्ला । मासु खान होइन, हेर्दा रमाइलो हुन्छ भनेर ल्याएको हुँ । यी ठूला भएपछि साह्रै राम्रा देखिन्छन् । यी जति ठूला भए पनि आधा किलोभन्दा ठूला हुँदैनन् ।’ नभन्दै त्यो बेलै ती चल्ला औधी चलाख थिए । ट्यँुट्युँ गरेर घरै थर्काएका थिए एकैछिन् । उनलाई देखेर पहिलेदेखि घरमा दादा बनेर बसेका ठूला कुखुराहरू दङ्ग परेर पनि टोक्ने प्रयास गरे । टोक्न चाहिँ दिएनौँ । सँगै चारो र चारो दिने सामान पनि ल्याएका रहेछन् । बडो मजाले चारो खाए । हामीले रमाएर हेरिरह्यौँ ।
साना भइकन ती चल्लाको फुर्ती देखेर मलाई केटाकेटी अवस्थाको एउटा घटनाको सम्झना भयो ।

सानै थिएँ, गोठ नजिकैको खर्यानमा घाँस काट्दै थिए, नकिजै धाइराको फेँदमा तित्राले गुँड बनाएको रहेछ । भर्खर फुलबाट बाहिर निस्केका सानासाना चल्लाहरू रहेछन् । सुरुमा चल्ला देखेर अचम्म लाग्यो । पोथी तित्रो नभएको मौका पारेर ती सबै चल्ला कमिजमा पोको पारेर घर ल्याएँ । बाटामा आउँदै गर्दा मनमा कुरा खेले, ‘आमाको सहयोग लिएर यिनलाई पाल्छु । हुर्कँदै जान्छन् । ठूला भएपछि फुल पार्छन् । हाम्रो घरमा तित्राको बगाल हुन्छ । हामी बाहुनले कुखुरा पो खान हुन्न, तित्राको मासु खान त हुन्छ नि । त्यसपछि दिनदिनै तित्राको मासु खान पाइन्छ ।’ मनमा कुरा खेलाउँदै घर पुगेँ । कमिजको फेरोभित्र तित्राका चल्लाहरू ट्युँट्युँ गर्दै थिए । आँगनमा डोको थियो । कमिजमा पोको पारेका चल्ला जतनले डोकोमा थुन्न खोजेँ । ज्यात्तेरिका थुन्न खोज्दै थिएँ, दुईटा चल्ला फुत्केर भागे ।

बाँकी रहेका चल्लालाई डोकाभित्र हालेपछि चारोको जोहो गर्न लागेँ । भित्रबाट सानो बटुकामा अलिकति आँटो र अर्को बटुकामा पानी लिएर आएँ । दाना र पानी दिन खोज्दा एउटा चल्लो भाग्यो । बाँकी रहे चारोटा । अब चारोटा मात्रै चल्लाले संसार थाम्न मुस्किल पर्ने देखेँ । अलिकति निरासा जाग्यो मनमा । साँझसम्ममा बाँकी रहेका चारोटा चल्ला पनि भागे । म भएँ रित्तै । त्यो बेला मलाई संसार गुमाएजस्तै लागिरहेको थियो । त्यो दिनदेखि तित्राका बच्चा बाठा हुन्छन् भन्ने कुरा आफैले महसुस गरेको थिएँ । कसैले यो केटो त तित्राको चल्लाजस्तै बाठो छ भनेको सुन्दा मलाई त्यै घटनाको सम्झना हुन्थ्यो । आज छोराले ल्याएका चल्ला देखेपछि मलाई त्यै घटनाको सम्झना भयो ।

चल्ला बढ्दै गए । उनीहरू ट्युँट्युँ गरेको सुन्दा घरै रमाइलो लाग्न थाल्यो । चल्ला देखेर आर्या र रोजिना पनि रमाउँन थाले । जङ्गेले नजिकै बसेर रखवारी गर्न थाल्यो । घरै उज्ज्यालो भयो । बिहान उठेपछिको मेरो नित्यकर्म तिनै कुखुरालाई दाना पानी दिने र एकैछिन् घरवरिपरि चराउने हुन थाल्यो । ठूला कुखुरा टाढाटाढा गए पनि ती साना चल्ला कतै टाढा जाँदैनथे । घरको आँगनमा तुलसीको मठ वरिपरि घुमेर चर्थे । घाँसका कलिला मुन्टा खान्थे । मलाई हेर्दै रमाइलो लाग्थ्यो । धेरैजसो समय उनीहरू कतै आडमा बस्थे । खुट्टा माथि पारेर सुतेको दृश्य औधि रमाइलो देखिन्थ्यो । आकारमा साना भएकाले उनीहरूले चारो र पानी खाएको दृश्य पनि रमाइलो देखिन्थ्यो ।

एकदिन मिनाले भनिन्, ‘यिनले पनि फुल पार्लान्, बच्चा कोरल्लान् नि है ?’ मैले भनेँ, ‘प्रकृतिको नियम हो, त्यसो त गरिहाल्छन् नि !’ त्यै बेला सुमन आए । उनले भने, ‘यिनले बच्चा निकाले भने हजार रुपियाँ जोडीमा उसैले किनिदिन्छु भनेको छ ।’ बन्दाबन्दीले गर्दा चारैतिर सुनसान थियो । मानिसहरूको आवत जावतमा कमी आएको थियो । मानिसहरू घरभित्रै बस्नुपर्दा डिप्रेसनको सिकार हुने सम्भावना बढ्दै थियो तर हामीलाई भने कुनै मतलब थिएन । पूरा दिनको आधा समय त कुखुरा हेरेरै बित्थ्यो । साना र ठूला कुखुरा, कुकुर, नातिनी, नातिनीको साथी यी सबै हाम्रा लागि बन्दाबन्दीमा भुलाउने माध्यम बनेका थिए । हुँदाहुँदा घरमा चल्ला र हाम्रो सम्बन्ध नङ र मासुको जस्तै हुन थालेको थियो ।

एकैछिन् चल्ला देखिएनन् भने नरमाइलो लाग्थ्यो । सधैँ बिहान बाहिर आँगनको चुल्होमा आगो बालेर पिउने पानी उमाल्नु मेरो दैनिकी जस्तै बनेको थियो । बिहान उठेर कुखुरालाई दाना पानी दिने, पानी उमाल्ने, घरवरिपरि भएका सामान मिलाउने आदि काम गर्थेँ । त्यो दिन पनि त्यस्तै गर्दै थिएँ । त्यो बाहेक अरु तिनोटा कामको चापाचाप थियो । एमफिलको शोधपत्र फाइनल गरेर पठाउनु थियो, सुगन्द भाग दुईका लागि लघुकथासम्बन्धी लेख तयार गर्नु थियो र हाम्रो पुरुषार्थका लागि एउटा लेख तयार गर्नु थियो । मानसिक रूपमा म त्यतातिर पनि बाँढिएको थिएँ । साना चल्लाहरू आँगन वरिपरि खेलीरहेका थिए । आर्या र रोजिना मोवाइलमा गीत बजाएर नाच्दै थिए । जङ्गे दलानमा घरी सुत्ने र घरी बस्ने गरिरहेको थियो । म एकैछिन् अध्ययन कक्षमा छिरेँ । पाँच मिनट पनि काम गर्न भ्याएको थिइन्, नातिनी कराइन्, ‘बुबा पानी उम्लियो ।’
कम्प्युटर खुलै छोडेर बाहिर निस्केँ । उम्लिँदै गरेको केतली उतारेर बाहिर राखेँ र कुखुरातिर हेरेँ । आँगनमा एउटा मात्र कुखुरा थियो ।
‘खैरो पोथी खै ?’ मेरो मुखबाट एक्कासि आवाज निस्कियो । ‘अघि भर्खर यहीँ थियो । खै कता गएछ ।’ रोजिनाले भनिन् । यताउति खोजेँ तर खैरो पोथी भेटिनँ । मेरो आवाज सुनेर मीना र सुमन पनि बाहिर निस्के । सबै मिलेर खोज्यौँ तर कतै भेटिएन । भाले आँगनमा यताउति घुमेर पोथी खोजिरहेको थियो । त्यसपछि एउटाले अर्कोलाई आरोप प्रत्यारोप लगाउने नेपाली पारा सुरु भयो । ‘यिनलाई बाहिर छोड्नु हुन्न भन्ने जान्दा जान्दै बुबाले छोड्नुभएछ ।’ सुमन बोले ।

‘यी केटीहरूले हेरेका भए पनि हुने ।’ मीनाले प्रतिक्रिया व्यक्त गरिन् । ‘भर्खरैसम्म यहीँ थियो । हामीले हेरिरहेका थियौँ ।’ रोजिनाले स्पष्टीकरण दिइन् । मैले घरवरिपरिर बाहिर चारैतिर हेरेँ तर कतै भेटिनँ । खोज्दै थिएँ, ट्युँट्युँ आवाज आयो । खुसी हुँदै आवाज आएको स्थानतिर गएँ तर त्यो आवाज हाम्रा चल्लाको नभएर वनका चराको रहेछ । अघिभर्खरसम्म खुसीले उज्ज्यालो भएको हाम्रो घर एकैछिन्मा खग्रास सुर्य ग्रहण लागेको दिनजस्तै भयो । घरमा कोरोना पसेकोजस्तो महसुस भयो । पोथी चल्लो हराएको भन्दा पनि भाले चल्लोले गरेको बिलाप देखेर आँखा रसाउन थाले । धेरैबेरको प्रयास बिफल भएपछि निरास बनेर दलानको खाटमा बसेँ । वरिपरि हेरेँ मीना, सुमन, रोजिना, आर्या कसैको अनुहार हँसिलो थिएन । खाना खाने बेला भएको थियो, मीनाले खाना खाउँ भन्न पनि सकिनन् मैले खाना खाउँ भन्न पनि सकिनँ । चल्लो हराएको एक घण्टाजति भएको थियो । हामी सबै जना झोक्राएर बसिरहेका थियौँ । कालो भाले आँगनमा यताउति घुमेर आफ्नो जीवनसाथी खोजिरहेको थियो । चल्लो हराएको खबर वल्लोपल्लो छिमेकीका घरसम्म पुगिसकेको थियो । हाम्रो घर मानौ शोकमा डुबिरहेको थियो ।

त्यस्तैमा कसैले बोलाएको सुन्यौँ । छिमेकी महिलाको आवाज थियो त्यो । उनले ‘सुमन सुमन’ भनेर चिच्याएको सुनेर हामी सबै जना आवाज आएकोतिर गयौँ । ‘सुमन तिम्रो चल्लो हो जस्तो छ त्यहाँ ।’ आफ्नो घरको पछाडि धानखेततिर देखाउँदै उनले भनिन् । त्यो ठाउँ हाम्रो घरदेखि करिब सय मिटरको दूरीमा थियो । म उत्साहित हुँदै उनले देखाएको ठाउँतिर गएँ । म दौडेको देखेपछि जङ्गे पनि मेरो पछिपछि दौडियो । सुमन, मीना, रोजिना र आर्या पनि मेरो पछि आइरहेका थिए । छिमेकीले देखाएको ठाउँतिर जाँदै थिएँ, ट्युँट्युँ आवाज आयो । मनमा आशा जाग्यो । हस्याङ्फस्याङ गर्दै नजिकै गएँ । नभन्दै कुलाको डिलमा बाक्लो घाँसमा अलमलिएर हाम्रो प्रीय चल्लो ट्यँट्यँु गरिरहेको थियो । त्यसलाई देख्नासाथ मलाई आजभन्दा करिब सात वर्ष पहिले बित्नुभएका पिताजी नै फर्केर आएजस्तो लाग्यो । धानखेतमा हिलोमा गड्दै उसको नजिक गएँ र बिस्तारै त्यसलाई धपाउँदै घरतिर ल्याएँ । चल्लालाई देखेपछि घरका जहान सबैको अनुहार ग्रहणले छोडेको दिनजस्तै उज्ज्यालो भयो । भाले र पोथी भेट भएपछिको दृश्य म यी शब्दमा व्यक्त गर्न असमर्थ छु । त्यो भाव शब्दमा उतार्न सक्दिनँ । पाठक वर्गहरूलाई आफै महसुस गर्न अनुरोध गर्दछु ।

त्यसपछि हाम्रो समीक्षा बैठक बस्यो । छलफलको दौरानमा दुईटा बिकल्प आए । एउटा डुग्रे (न्याउरी) मुसाले लग्दै थियो फुत्केर भाग्यो । अर्को तर्क आयो हैन चील वा गिद्धले समातेर लग्यो होला टोकेर भाग्यो । पछि हामी शिकारी चराले लगेको र उसलाई टोकेर फुत्केको निष्कर्षमा पुग्यौँ । त्यसपछि मैले विचार गरेँ । हामीलाई अहिले चारैतिरबाट कोरोनाले घेरिरहेको छ । कोरोना नलागेकाहरूलाई कोरोनाको भूतले तर्छाइरहेको छ र कोरोना लागेकाहरू पनि हतास भएर, आत्तिएर मृत्युको मुखमा पुगिरहेका छन् । यो बेला मैले चल्लालाई सम्झिरहेको छु । चीलले आहारा बनाएर आकासमा उडाइरहेको र केही सेकेन्डपछि मृत्युको मुखमा पुग्ने निस्चित भएको चल्लाले आफ्नो अन्तिम बल लगाएर शिकारी चराबाट फुत्केर बच्यो । मृत्युका मुखबाट फुत्केर आउनुसामान्य घटना होइन ।

साहस र हिम्मत गर्यो भने मृत्युको मुखबाट पनि फुत्केर आउन सकिन्छ भन्ने ज्वलन्त उदारहण पेश गरेको थियो चल्लाले । अहिले ती चल्ला ठूला भैसकेका छन् । भाले बास्न थालेको छ । पोथीले चल्ला पारेकी छ । उनीहरूको पारिवारिक जीवन सुखमय बनेको छ । उनीहरुलाई धनसम्पत्तिको चिन्ता पनि छैन । पढाइलेखाइको पिरलो पनि छैन । कसैसँग दुष्मनी वा इस्र्या पनि छैन । कति मजाको जीवन छ उनीहरुको कहिलेकाहीँ मनमा कुरा खेल्छन्- ती कुखुराका भालेपोथी सुखी छन् की म ? यस प्रश्नको उत्तर खोज्दै छु, पाइरहेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।