ताजा अपडेट »

त्रिपालमुनि रात बिताउँदै आगजनी पीडित

शनिबार, १४ चैत्र २०७७, १३ : १२
12 Shares

राँझा । बाँकेको नरैनापुरका आगलागी पीडित त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् । आगलागीले घर गोठ जलेपछि त्रिपालमुनी बास बस्नुपरेको नरैनापुर गाउँपालिका–६ दोन्द्राकी आगलागी पीडित रमादेवी कोरीले बताए । त्रिपालमुनी बास बस्दा बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गरेको उनको भनाइ छ ।

गत फागुन २४ गते वडा नं १ सुईया गाउँमा २४ घर नष्ट हुनेगरी आगलागी भएको थियो । त्यसयता वडा नं. ५ मोतिपुर, वडा नं ६ दोन्द्रा, वडा नं २ लक्ष्मणपुर र सोही वडाकै देउचहवा गाउँमा आगलागी भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा आगलागीका घटना यस वर्ष ठूलो प्रकोपका रुपमा भइरहेका छन् । आगलागी पीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घ संस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ ।

नरैनापुरका अधिकांश वस्तीमा एकआपसमा जोडिएर खरको छानाबाट बनेका घरमा आगलागीको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ । गर्मीयामको शुरुवातसँगै नरैनापुर क्षेत्रमा आगलागीका घटना बढेका छन् । एक महिनाको अवधिमै ३९ घरमा आगलागी भई खाद्यान्न नष्ट भएको छ । आगलागी पीडित अहिले त्रिपालमुनि रात बिताउन बाध्य छन् । आगलागीको प्रकोप न्यूनिकरण गर्न गाउँपालिकाले अब खरका छाना हटाउने अभियान सञ्चालन गर्ने भएको छ । अहिले तत्काल आगलागी पीडित ३१ परिवारलाई प्रदेश सरकारसँगको साझेदारीमा कर्कटपाता वितरण प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिए ।

रासस
लेखकको बारेमा
रासस