ताजा अपडेट »

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति

शुक्रबार, १३ चैत्र २०७७, १७ : ०२
2 Shares

काठमाण्डौं । वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।

बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले आज यहाँ जनाएको छ । सर्वोच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएको थियो । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । वसन्त यामको सगरमाथा आरोहणका लागि पहिलो आरोहण अनुमति बहराइनी राजपरिवारका सदस्यसहितको आरोही समूहलाई दिइएको विभागको पर्वतारोहण शाखाका मदन विमलीले जानकारी दिए । उनका अनुसार बहराइनी आरोही समूह १६ जनाको भएकाले दुई समूह बनाएर अनुमति दिइएको छ । एक आरोही समूहमा बढीमा १५ सदस्य रहने प्रावधान छ।

कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

रासस
लेखकको बारेमा
रासस