ताजा अपडेट »

सीमामा थप कडाई गर्ने डिसीसीएमसीको निर्णय

शुक्रबार, १३ चैत्र २०७७, १५ : ५२
4 Shares

भैरहवा । जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) भारतमा कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सीमामा थप सर्तकता अपनाउने निर्णय गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको डिसीसीएमसीको बैठकले अहिले सीमामा आवागमन अब्यवस्थित भएको स्विकार गर्दै अब उपरान्त यसलाई ब्यवस्थित गर्ने निर्णय गरेको हो ।

बेलहिया नाका हुदै भारतबाट आउने नागरिकहरुलाई नाकामा स्थापना भएको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य चेकजाँच गरि उनिहरुको अभिलेख राखिने डिसीसीएमसीका संयोजक एवम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । यसरी स्वास्थ्य चेकजाँच गर्दा कोही शंकास्पद भए सीमामै उनिहरुको स्वाब लिई एन्टिजेन टेष्ट गर्ने ब्यवस्था रहेको उनले बताए । परिक्षणबाट पोजिटिभ देखिए अस्पताल, आईसोलेसन वा होम आईसोलनमा राखिने ब्यवस्था समेत गर्ने निर्णय भएको घिमिरेले बताए । डिसीसीएमसी बैठकले जिल्लामा रहेको सबै पालिकाहरुलाई क्वारेन्टाईन र आईसोलेसन केन्द्र पनि तयार पारेर राख्न निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै बैठकले धेरै मानिस भिडभाड गरि गरिने भेलाहरु पनि रोक्ने निर्णय गरेको छ । हाल सञ्चालनमा रहेका हाटबजार, बिद्यालय लयागतका क्षेत्रहरुमा प्रभाव नपर्ने गरि अन्य सभा सम्मेलन र भिडभाडयुक्त कार्यक्रम नगर्न बैठकले अनुरोध गरेको छ । मेला, महोत्सव, भेला लगायत अन्य भिडभाड युक्त कार्यक्रमले संक्रमणको जोखिम बढ्ने खतरा रहेको हुदा यसलाई रोक्ने बैठकले निर्णय गरेको हो ।
अहिले सञ्चालनमा रहेका सार्वजनिक यातायात, हाटबजार, बिद्यालय लगायतमा पनि कडाईका साथ स्वास्थ्य सम्बन्धि मापदण्ड पालन गर्न लगाउन बैठकले सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्ता भिडभाड हुने क्षेत्रहरुमा मास्क, सेनेटाईजर र सामाजिक दुरीको पालना गर्न डिसीसीएमसीले अनुरोध गरेको छ ।

डिसीसीएमसीका संयोजक एवम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजकत्वमा बसेको बैठकमा रुपन्देहीका पालिकाहरुका प्रमुख तथा उप–प्रमुख, सुरक्षा निकायका प्रमुख, ब्यवसायिक संघ संस्था, होटल एसोसिएसनका प्रतिनिधिहरुको उपस्थिति थियो । उनिहरुले अब लकडाउन गर्नै नहुने सुझाव दिएका थिए । भारतमा कोभिड संक्रमण फैलिदै गए पछि सीमामा सर्तकता अपनाउदै यहाका आर्थिक क्रियाकलाप सञ्चालन हुनु पर्ने राय राखेपछि डिसीसीएमसी सोही अनुसारको निर्णय गरेको छ । तत्काल जिल्लामा कुनै अप्रिय घटना नभएकोले अहिले सर्तकता बढाउने र यसमा सबैले उत्तिकै पहल गर्नु पर्नुे बैठकको निर्णय थियो ।

सीमा पारी अहिले बजार गर्न जानेको संख्या उत्तिकै रहेको हुदा यसलाई पूर्ण रुपमा रोक्न बैठकले सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ । यस्तै सीमापारीबाट नेपालमा औषधी, घर फर्किने नेपाली लगायतलाई अघिलेख राखि सहज प्रवेश दिईने भएको छ भने नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई पूर्ण रुपमा डिसीसीएमसीको बैठकले रोक लगाएको छ ।

पहिलो दिन नै भेटिए पोजिटिभ
सीमामा हेल्थ डेस्क राखी एन्टीजेन परिक्षण सुरु गरिएको पहिलो दिन नै भारतबाट नेपालमा काम गर्न आउदै गरेका एक जना कामदारलाई कोरोना पोजिटभ देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार भारतबाट लुम्बिनी औद्योगिक कोरिडोरमा रहेको उद्योगमा काम गर्न आई रहेका भारत राजस्थान बस्ने एक जना पुरुषलाई पोजिटिभ देखिएको हो । स्वाबको माध्यमबाट परिक्षण गरिने एन्टिजेन प्रभावकारी रहेको उनको भनाई छ । आधा घण्टामै नतिजा आउने यो परिक्षणबाट पोजिटभ देखिएका भारतीय नागरिकलाई सम्बन्धित उद्योगले नै होम आईसोलेसनमा राख्ने गरि जिम्मा दिईने उनले बताए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा