ताजा अपडेट »

कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने जो बाइडेनको बाचा

शुक्रबार, १३ चैत्र २०७७, १३ : ४५

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा बाइडेनले गरेका छन् । ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय दिनमा बाइडेनले आफ्ना प्राथमिकताबारे उक्त कुरा बताएका छन् । बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताएका छन् ।

‘मलाई थाहा छ यो यो लक्ष्य महत्तवाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन्। र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् ।

रासस
लेखकको बारेमा
रासस