बुटवल । परिवर्तनका लागि कार्यरत महिला समूह(वाच) र सामुदायिक वन समन्वय समिति,तिनाउ पाल्पाको संयुक्त आयोजनामा सामुदायिक वन तथा वन ऐन २०७६ का अन्तरवस्तुहरुका बारे जानकारी दिने उद्देश्यले सञ्चालित तीन दिने तालिम,विहिवारदेखि तिनाउ गाउँपालिकाको दोभानमा सुरु भएको छ । तालिममा परिवर्तनका लागि कार्यरत समूह(वाच)का निर्देशक डा.नारायणकाजी श्रेष्ठ,समुदायमा आधारित वन सहजकर्ता सञ्जाल,नेपालका पूर्व अध्यक्ष भोला खतिवडा र वाचका छबिन्द्र श्रेष्ठले सहजीकरण गर्दै छन्।
उनीहरुले सामुदायिक वनको प्रागैतिहासिकता,नेपालमा सामुदायिक वनको इतिहास, वन विकास गुरुयोजनाको मूल सार,नेपालको संविधान २०७२ मा वन सम्बन्धी व्यवस्था,वर्तमान अवस्थामा सामुदायिक वनहरुले खेलेका भूमिका,प्रभाव र असरका साथै वन ऐन २०७६ का सन्दर्भमा सहभागीहरुलाई सचेतीकरण गर्ने कार्यक्रम रहेको सामुदायिक वन समन्वय समितिका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङले जानकारी गराए।
उक्त तालिममा तिनाउ गाउँपालिकाभित्र रहेका सामुदायिक वनहरुमध्ये पहिलो चरणमा वरपोखरी सामुदायिक वन,बंदेलपोखरी सामुदायिक वन,त्रिवेणी महिला सामुदायिक वन,गौतम सामुदायिक वन,झुम्सा खुल्खुले सामुदायिक वन,गणेश सामुदायिक वन,काम्लेटटरी सामुदायिक वन,लचका सल्लेरी सामुदायिक वन,आदर्श महिला सामुदायिक वन,अर्घाछाप सामुदायिक वन, तरुले सामुदायिक वन,भलायथरी सामुदायिक वन र टुंडीखेल सामुदायिक वनका पदाधिकारी,सदस्यहरु गरी ५२ जनाको सार्थक सहभागिता रहेको छ । सहभागी सबैले चेतनामूलक गीत गाएर तालिमको सामुहिक उद्घाटन गरेका थिए ।
प्रतिक्रिया