ताजा अपडेट »

तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा

शनिबार, २५ जेठ २०७६, १७ : ५३
8 Shares

जेठ २५, काठमाण्डौं । खानेपानीमन्त्री बिना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पु-याउन मन्त्रालय संकल्पसहित अघि बढेको बताएकी छिन्।

नेपाल नगरपालिका संघले शनिबार काठमाडौंको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताइन्।

मन्त्री मगरले सबै जनतालाई खानेपानीको पहुँच पु-याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंल्याइन्। आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्याउने लक्ष्य रहेपनि सबैसँगको सहकार्यमा उक्त लक्ष्य पुरा गर्न सकिने उनको भनाई छ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले भनिन्, ‘एकातिर सबै जनतालाई खानेपानी पु-याउनुपर्ने चुनौती छ भने अर्कोतिर पूर्ण सरसफाईको कार्यक्रमलाई पनि संगै अगाडि लैजानुपर्ने छ। खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पुरा हुन सक्दैन। बढ्दो जनसंख्या र सहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गइरहेको छ। सरसफाई अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदै छौं।’

आउँदो आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको उनले जानकारी दिइन्। कार्यक्रममा मन्त्री मगरले ‘हामी दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रतिबद्ध छौं, तपाईं नि?’ भन्ने अभियानलाई साथ दिंदै हस्ताक्षर गरेकी थिइन्।  

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख (मेयर) अशोक कुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाईका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गरे। नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनैपनि स्थानीय निकाय सफा नभएको गुनासो गरे। खानेपानीका आयोजनाहरु सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको उनले स्पष्ट पारे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।