ताजा अपडेट »

दुई लाख बढी डलरमा बिक्यो स्टिभ जब्सको ४८ वर्ष पुरानो रोजगार आवेदन पत्र

विहीबार, १२ चैत्र २०७७, १३ : ४८
4 Shares

काठमाडौँ । एप्पलका पूर्व सिइओ स्टिभ जब्सले हस्ताक्षर गरेको ४८ वर्ष पूरानो रोजगार आवेदन पत्र दुई लाख बढी अमेरिकी डलरमा बिक्री भएको छ।एप्पल इन्साइडरका अनुसार सन् १९७३ मा स्टिभ जब्सले कामको लागि सो आवेदन भरेका थिए, जसमा उल्लेख गरिएका सबै जानकारी उनी आफैँले लेखेका छन्। आवेदनमा उनको नाम, ठेगाना, पढाइका जानकारी देख्न सकिन्छ। बुधबार एक अक्सनमा स्टिभको सो आवेदन दुई लाख २२ हजार तीन सय ९४ अमेरिकी डलरमा बिक्री भएको थियो।  

सन् २०१८ मा यही पत्र लन्डनका एक उद्यमीलाई एक लाख ७४ हजार ७ सय ५७ अमेरिकी डलरमा बेचिएको थियो। पत्रमा स्टिभ जब्सले आफ्नो रुचि इलेक्ट्रोनिक्स टेक र डिजाइन इन्जिनियरमा रहेको बताएका थिए । यो आवेदन स्टिभले पोर्टल्याण्डको रिड कलेजबाट ड्रप वाउट गर्ने बित्तिकै भरेको विश्वास गरिन्छ। यसको एक वर्षपछि भने उनले अमेरिकी भिडियो गेम कम्पनी अटारीमा टेक्नेसियनको रुपमा काम गर्न थालेका थिए। त्यो बेलामा लेखिएको आवदेन पत्र अहिलेसम्म राम्रो अवस्थामा रहेको एप्पल इन्साइडरको भनाइ छ।

स्टिभले त्यो बेला रोजगार आवेदन पत्र कुन कम्पनी र पदका लागि बुझाएका थिए भन्ने खुलासा भएको छैन। अटारीमा काम गरेको दुई वर्षपछि सन् १९७६ मा उनले आफ्ना सहकर्मी स्टिभ वोजनियक सँगको सहकार्यमा ‘एप्पल’ सञ्चालन गरेका थिए।सन् २०११ अक्टोबर ५ मा एप्पलका सिइओ स्टिभ जब्सको क्यान्सरका कारण मृत्यु भएको थियो। उनी पछि अहिले टिम कुकले एप्पलका सिइओ पद सम्हालिरहेका छन्।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।