Jul 6, 2022
लहान। आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ। सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो । हत्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैँचामा फेला परेको थियो । शिवकुमारको हत्या उनकै काकाका छोरा विष्णु यादव इन्द्रदेव यादवले मिलेर गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
“विष्णुले आफ्ना सालो इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको अपहरण गरी हत्या गरेको खुलेको छ”, प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने, “हत्यामा संलग्न दुवैलाई बुधबार पक्राउ गरिएको छ ।” विष्णुले सालो इन्द्रदेवसँग मिलेर शिवकुमारको अपहरण गरी उनको परिवारसँग रु ५० लाख फिरौती मागेको र फिरौतीबापतको रकम नदिएपछि गत चैत ८ गते राति हत्या गरी शव कङ्क्रिटले छोपेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट विष्णुले आफ्नै काकाको छोरा शिवकुमारको फिरौती र अवैध सम्बन्धका कारण हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । विष्णु यसअघि दुई वर्ष जेल बसेका थिए । त्यस क्रममा विष्णुकी पत्नीसँग शिवकुमारको अवैध सम्बन्ध भएको रिसिइबी र शिवकुमारका दाजु दुई साताअघि मात्रै वैदेशिक रोजगारबाट फर्किएकाले माग जति फिरौती पाउने लोभमा अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहले बताए।
प्रतिकृया दिनुहोस्