ताजा अपडेट »

भारतले रोक्यो कोरोनाविरुद्धको खोप निर्यात, नेपालसहित १९० राष्ट्र प्रभावित

विहीबार, १२ चैत्र २०७७, १० : ५५
4 Shares

काठमाडौँ । भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेशमन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ।कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्।भारतको यो कदमले अप्रिलको अन्त्यसम्म आपूर्तिमा असर गर्ने ठानिएको छ। यसले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने सम्भावना छ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा रहेको यो योजनाले सबै देशहरूमा खोप निष्पक्षरूपमा बाँडियोस् भन्ने उद्देश्य राखेको छ। भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले थुप्रै देशमा आस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ। हालैका दिनमा त्यसको मारमा यूके र ब्राजिल परेका छन्। भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड-आस्ट्राजेनेकाकै खोप परेको छ।

भारतले यो कदम किन चाल्यो?

भारतभित्रै कोरोनाभाइरसका बिरामीहरू तीव्र रूपमा बढिरहेका बेला भारतले यो निर्णय गरेको छ। यो वर्ष सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या बुधवार देखियो जसमा ४७,००० भन्दा बढी नयाँ सङ्क्रमित छन् भने २७५ को मृत्यु भएको छ। भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले पनि अधिकारीहरूले माग बढ्ने ठानेका छन्।

"निर्यात रोक्ने अस्थायी उपाय हो। घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ," बीबीसीका सौतिक विश्वासलाई विदेशमन्त्रालयका एकजना स्रोतले भन्यो। उनीहरूका अनुसार एप्रिलसम्म खोपको आपूर्ति रोकिने सम्भावना छ, तर मे महिनामा भने अवस्था केही हलुका हुनसक्छ। त्यतिबेलासम्म अर्को एउटा खोपले पनि आपत्कालीन प्रयोगका लागि स्वीकृति पाउने ठानिएको छ। विदेशमन्त्रालयको वेबसाइट अनुसार बिहीवार यता भारतले कुनै निर्यात गरेको छैन। "बाँकी सबै कुरा कम्तीमा अहिलेका लागि रोकिएको छ," मन्त्रालयका एक स्रोतले रोयटर्स समाचार संस्थालाई भनेका छन्। "भारतको अवस्था स्थिर नहुँदासम्म कुनै निर्यात हुँदैन।"

पृष्ठभूमि के हो?

एसआइआइ (विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी) ले यसअघि नै आस्ट्राजेनेका खोप पठाउने काम ब्राजिल, युके, साउदी अरेबिया र मोरोक्कोमा ढिला गरिसकेको छ। गत साता, बीबीसीले ५० लाख खोप पठाउन चार साताका लागि रोकिएको भनेर समाचार लेखेको थियो।एसआइआइका प्रवक्ताले त्यतिबेला भनेका थिए, "सरकारको खोप कार्यक्रमको आवश्यकता र तत्कालको अवस्था हेरेर हामी पछि आपूर्ति गर्ने कोसिस गर्छौं।" एसआइआइले निम्न र मध्यम आय भएका देशहरूका लागि यो वर्ष एक अर्ब खोप उत्पादन गर्ने जनाएको छ।

अनि ज्यानुअरीमा उसले महिनाको छ करोडदेखि सात करोडसम्म खोपहरू बनाउन सक्ने बताएको थियो। यो सङ्ख्यामा आस्ट्राजेनेका र अमेरिकामा विकसित तर भारतमा प्रयोगका लागि अनुमति पाउन बाँकी रहेको नोभाभ्याक्स खोप पर्छ। ज्यानुअरीमै एसआइआइले बीबीसीसँग मार्च महिनाबाट प्रति महिना १० करोड खोपको मात्रा बनाउने उद्देश्य राखेको बताएको थियो। यद्यपि, हालै गरिएको जाँचले छ देखि सात करोड मात्रामा नै बनिरहेको र त्यसमा वृद्धि नभएको थाहा भएको थियो।

भारतीय सरकारले ज्यानुअरी १६ तारिखबाट खोप कार्यक्रम सुरु गरेको थियो र अहिलेसम्म दोस्रो लहर आउनसक्ने आशङ्कामाझ ४ करोड ७० लाख मानिसलाई उसले खोप लगाइसकेको छ। अधिकारीहरूले सात महिनाभित्र ६० करोडलाई खोप लगाउने आशा राखेका छन् जुन भनेको प्रतिमहिना ८ करोड ५० लाख मानिसलाई खोप लगाउनु हो।-बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।