ताजा अपडेट »

महासंघको निर्वाचनका लागि प्रेस चौतारीको भेला

बुधबार, ११ चैत्र २०७७, १७ : ५०
6 Shares

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेद्वार छनोट तथा समन्वय र सहकार्यका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । आगामी चैत्र २५ गते हुने महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचनमा संगठनको तर्फबाट नेतृत्वका लागि जाने उम्मेद्वाहरुको टुङ्गो लगाउन महासंघ रुपन्देही शाखाका पूर्व अध्यक्ष डि.आर. घिमिरेको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

निर्वाचनमा एकल रुपमा जाने वा अन्य संगठनहरुसँग सहकार्य गरेर जाने विषयमा निर्णय गर्ने गरी काम गर्ने कार्यदलको सदस्यहरुमा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदीप आचार्य, चौतारीका केन्द्रीय सदस्य युवराज पाण्डे, रुपन्देही अध्यक्ष अमृत गिरी र सदस्य सम्झना शर्मा रहेका छन् । कार्यदलले निर्वाचनमा छनोट हुने उम्मेद्वारहरुको नाम टुङ्गो लगाउनुका साथै अन्य संगठनहरुसँग सहकार्यका लागि छलफल तथा चुनावी रणनीति तयार गर्ने छ । सो अवसरमा बोल्दै कार्यदलका संयोजक तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डि.आर. घिमिरेले संगठनका तर्फबाट नेतृत्वमा बढीभन्दा बढी प्रतिनिधित्व गराउन आफ्नो पहल रहने जानकारी गराए । जिल्लामा सबैभन्दा बढी महासंघका सदस्यहरु आवद्ध रहेको प्रेस चौतारीले नेतृत्वको गर्नेगरी महासंघमा प्रतिनिधित्व गराउन पहल रहने उनले बताए ।

भेलामा सहभागीहरुलाई सम्बोधन गर्दै प्रेस चौतारीका केन्द्रीय सचिव तथा महासंघ लुम्बिनीका उपाध्यक्ष भरत केसीले सकेसम्म नेतृत्वलाई सर्वसहमत हुने र सक्षम नेतृत्व पुग्नेगरी अघि बढ्न आग्रह गरे । आफ्नो संगठनका तर्फबाट बढीभन्दा बढी र सक्षम व्यक्तिलाई नेतृत्वमा पुर्याउने वातावरण सिर्जना गर्न कार्यदललाई निर्देशन दिए । यसैगरी प्रेस सेनानी अर्जुन ज्ञवालीले संगठन भित्र आपसी मतभेद सिर्जना नहुने गरी महासंघमा संगठनका तर्फबाट बलियो र सक्षम उम्मेद्वार छनोट गर्न आग्रह गरे । पार्टीका नेता तेजेन्द्र केसीले संगठनलाई थप बलियो बनाउँदै महासंघमा समेत बलियो उपस्थिती रहने गरी तयारी थाल्न निर्देशन दिए ।

कार्यक्रममा बोल्दै महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु मोहन चापागाईं, शेरबहादुर केसी, प्रेस चौतारीका रुपन्देही ईन्चार्ज प्रदीप आचार्य प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी लगायतले संगठनका उम्मेद्वारहरुलाई विजयी गराउन आवश्यक सम्पूर्ण तयारीमा जुट्न आह्वान गरे । यसैगरी महासंघको निर्वाचनलाई लिएर केही दिनअघि विभिन्न पत्रकार संगठनहरुसँग सहकार्य गर्नेगरी प्रेस चौतारीको नाम जोडिएको विषयलाई उनीहरुले खण्डन गरेका छन् । संगठनले हालसम्म कुनै पनि संगठनहरुसँग सहकार्य गर्ने गरी आधिकारी निर्णय नभएको अवस्थामा केही व्यक्ति तथा समूहले नियोजित रुपमा हल्ला फिजाइएको बताउँदै कोही पनि भ्रममा नपर्न उनीहरुले आग्रह गरे । प्रेस चौतारीको नाम जोडेर आएको गलत समाचार तथा सूचना आधिकारीक नभएको बताउँदै उनीहरुले त्यस विषयमा स्पष्टिकरण माग गर्दै आवश्यक कारबाही अघि बढाउन प्रेस चौतारी नेतृत्वलाई आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।