ताजा अपडेट »

मेरो नाक, मेयरको आँट र बजार हल्ला

शुक्रबार, २४ जेठ २०७६, १२ : १८
2 Shares

मैले बुझेदेखि इटहरीमा स्थानीय सरकारको भ्रष्टाचार र भूमाफियाविरुद्ध कलम चलाएँ। तर आज ममाथि नै भूमाफिया र भ्रष्टाचारी कर्मचारीलाई ‘सहयोग गरेको’ आरोप लागेको छ। र मैले सबैभन्दा बढी त्यसको खण्डन गर्नुपरिरहेको छ यतिबेला। सामाजिक सञ्जालमा अनगिन्ती ट्रोल चलिरहेका छन्। मेरो नाकको मूल्य १ देखि १० करोड रुपैयाँसम्म तोकिएको र मैले भ्रष्टहरूलाई सहयोग गरेको जस्ता आरोप सामाजिक सञ्जालमा व्याप्त छन्।

कतिपयले नियोजित रूपमा इटहरीका मेयर द्वारिकलाल चौधरीको पक्षमा लेखिरहेका छन्। मेयरले भ्रष्टाचारविरोधी विचार राखेका कुरामा भावुक भएर पनि अभिव्यक्ति आइरहेका छन्। ममाथि ‘झोले पत्रकार’, ‘भ्रष्टाचारीको सहयोगी’, ‘भूमाफियाको सहयोगी’ जस्ता आरोप लागिरहेको छ। दुवैतर्फ वास्तविकता बुझ्नेहरूले भने तथ्यपरक विचार बनाएका छन्।

विकल्प नभएर पत्रकार बनेको हैन

म विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा जोडिए पनि फुलटाइमर भएर काम गरेको सात वर्ष भयो। त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्स सकेर म पत्रकारिता क्षेत्रमा आएको हुँ। जिन्दगीमा कुनै विकल्प नभएर हैन। विकल्प त्यागेर पत्रकार भएको मलाई पत्रकारिताबाट भ्रष्ट र माफियाहरुको सहयोगी बन्ने कल्पनासम्म छैन। म भ्रष्टाचारी र भूमाफियाको पक्षमा छु वा छैन मैले गरेका समाचारजन्य कामदेखि सामाजिक सञ्जालमा व्यक्त विचार नै पर्याप्त छन् बुझ्नका लागि। इटहरीका मेयर चौधरीको कार्यकाल सुरु भएपछिका सन्दर्भ मात्र यहाँ चर्चा गर्दैछु। 

चर्चा किन आवश्यक देखिएको छ भने सामाजिक सञ्जालमा नाक भाँच्ने थ्रेटलाई विषयान्तर गर्न ‘एन्टी थेसिस’ बनाइएको छ यतिबेला। जसका एक हर्ताकर्ता छन् दिल निशानी मगर।  उनले इटहरीका मेयर र मेरा बारेमा भित्रैसम्म बुझेको झैँ गरेर सामाजिक सञ्जालमा लेखे, ‘इटहरीमा मुकाम बनाएर बस्ने एउटा समूहले सार्वजनिक जग्गालाई आपूmहरुको बनाउन भरपूर प्रयोग ग¥यो। तर, त्यो प्रयासलाई द्वारिकलाल चौधरीले असफल बनाइदिए। अन्ततः त्यो समूह भूmटो आरोप लिएर अख्तियार पुग्यो। अख्तियारले मेयर चौधरीलाई दोषी भेट्टाउन सकेन। सफाइ दियो। चौधरीलाई जेलमा सडाउने माफियाहरुको पहिलो प्रयास अख्तियारको निर्णयसँगै स्वतः असफल भयो। अख्तियारले मेयरकै पक्षमा फैसला गरेपछि जग्गा माफियासँग अन्तिम विकल्प थियो– मेयरको चरित्र हत्या। त्यसका लागि उनीहरूले पत्रकारको दुरुपयोग गरे।’

यो यही ‘दुरुपयोग’ को भासमा मलाई जोडेर माफियासँग मिलेको आरोप सामाजिक सञ्जालमा आएको छ।  गलत कुरा भावुक भएर कसरी भाइरल हुँदो रहेछ भन्ने विषयको साक्षी म आफँै बन्न पुगेँ। अब माफियासँग मैले पत्रकारिताबाट गरेको खबरदारीको सन्दर्भतर्फ लागौं। 

२०७४ साउन १ गते चौधरी मेयर भएर आएपछि पहिलो नगरकार्यपालिका बैठक बस्यो। बैठकले बजार क्षेत्रमा सार्वजनिक घुम्ती शौचालय बनाउने र हेल्लो मेयर सञ्चालन गरेर जनताको गुनासो सुन्ने निर्णयउ भयो। यसको समर्थनमा मैले समाचार बनाएँ। चुनाव लड्दादेखि नै चौधरीले सार्वजनिक जग्गा खोजी गर्छु भनेका थिए। कर्मचारीतन्त्रबाटै २०७३ सालमा इटहरीको सार्वजनिक जग्गाको एकखाले तथ्यांक आएको थियो। इन्जिनियर विकास भट्टराई र कर्मचारी गायत्री लम्सालको नेतृत्वमा भएको सार्वजनिक जग्गा छानबिनमा ९ सय ९५ बिघा ६ कट्ठा भेटिएको प्रतिवेदन तयार भयो। 

यही जग्गा खोजीमा रहेको बताउँदै आएका मेयर चौधरीले डोजर चलाउने बताए। नभन्दै उनले २०७४  साउन १९ गते इटहरीको स्वार्सेकाली पम्प क्षेत्रमा खोला मिचेर बनाइको टाटा कम्पनीको कल्भर्टमा डोजर चलाए। मैले समाचार लेखेँ। यस्तै, मेयरले सोही वर्ष माघ अन्तिम साता इटहरी वडा नम्बर ४ र ५ को सिमाना भएर बग्ने खेती खोला मिचेर बनाइएका संरचनाको अध्ययन गरेर फागुनमा डोजर चलाए। त्यसको पक्षमा पनि मैले समाचार लेखेँ। 

पछि एकाएक डोजरको मिसन पूरा नभई बन्द भयो। किन बन्द भयो डोजर भन्दै मैले काम गर्ने इटहरीको तत्कालीन दैनिक पूर्वीबजार र ललितपुरको अनलाइनखबर डटकममा खबरदारी गर्ने समाचार पनि बनाएँ। सामाजिक सञ्जालमा पनि भूमिपुत्र भएर किन भूमाफियाको फाइदा हुने गरी डोजर रोकिएको भन्दै सबैभन्दा धेरै दबाब दिएँ कलमबाटै। 

दुई ठाउँमा डोजर चलाउँदै बिटुलो पारेर मेयरले अब इटहरी ९ को डिभिएम स्कुलमा मिचिएको संरचनामा डोजर चलाउने भने। मैले उनको सकरात्मक पक्षको समाचार सक्रियतापूर्वक आफ्नो मिडियामा लेखेँ। डिभिएमा मिचिएको क्षेत्रमा घेराबारा गर्दा स्कुलले भत्कायो। मेयरको काममा असहयोग ग¥यो। त्यसको खबरदारीमा मैले काम गर्ने प्रादेशिक अनलाइन प्रदेशपोर्टल डटकममा प्रमुखताका साथ समाचार लेखेँ। 

मेयरको सार्वजनिक जग्गा खोजीमा मैले समाचारदेखि सामाजिक सञ्जाल सबैतिर सहयोगी कुरा लेखेको छु। म कसरी भूमाफियाको सहयोगी? सार्वजनिक जग्गा खोसेर फलैँचा, पार्क र खुला स्थान बनाऊ भनेर मैले मेयरसँग पटकपटक कुरा गरेको छु। म कसरी भूमाफियाको सहयोगी? इटहरीको टेंग्रा खोलाको मुहान जोगाएर अतिक्रमित संरचना भत्काएर जलविहार गराउनुपर्छ भन्दै खोलामा ¥याफ्ट लगाएर अभियान चलाउने म कसरी भूमाफिया सहयोगी? 

अर्को कुरा छ भ्रष्टाचारी कर्मचारीको। इटहरीमा जनप्रतिनिधिहरु आएपछिको सिएफएल बल्ब खरिदमा अनियमितता भएको थियो। कर्मचारीतन्त्रबाट हुने उक्त काममा बजार मूल्यभन्दा धेरै रकममा खरिद गरेको भनेर कर्मचारीमाथि कारबाही गर्नुपर्छ भन्ने मै हुँ। मेरा बाइलाइन समाचार हुन्। सिएफएल बल्ब खरिद प्रकरणमा उपमहानगरपालिकाले वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले बनाएको छानबिन प्रतिवेदनले पनि ३० प्रतिशत बढी मूल्य परेको र अनियमितता भएको निर्णय गरेकै हो।

महालेखा परीक्षकको प्रतिवेदनले पनि सार्वजनिक खरिद ऐन मिचिएको भनेकै हो। मेयरले पनि कर्मचारीका कारण भ्रष्टाचार भएको भनेकै हनु। यसै विषयमा मेयरले कर्मचारीलाई कारबाहीस्वरुप फाँट सरुवा गरेकै हुन्। त्यसको पक्षमा पत्रकार सम्मेलन देखि समाचार उठाउने मै हुँ। अनि म कसरी भ्रष्टाचारीको सहयोगी? इटहरीमा कर्मचारीतन्त्रको हालीमुहाली चिर्न मेयरले हिम्मत गर्नुपर्छ भन्दै चुनाव जितेपछि आमसञ्चारमा ब्लग लेख्ने म कसरी भ्रष्टाचारको पक्षधर? 

मेयरसाप्लाई  मेरा ८ प्रश्न

१. तपाईंले इटहरी ४ र ५ को सिमाना भएर बग्ने खेती खोलामा र स्यार्सेकाली पम्पको डोजर किन चाँडो बन्द गर्नुभयो? मिसन पूरा गर्न प्रेस, नगरबासी र आम मान्छेको सहयोग हुँदा पनि किन खेती खेला र स्यार्सेकाली पम्पमा डोजर चलाइ बन्द भयो? 

२. तपाईंको इटहरी १७ को सडक नजिकै बनेको घरको कम्पाउन्ड नै सडक मिचेर बनेको छ। तपाईंले चुनाव लडेर चितेको साविक एमालेको पार्टी कार्यालय भवन पैनीमाथि छ। तपाईंको कार्यालय अगाडिको सहकारी भवन देखि कार्यालय आसपासका दर्जनौँ भवन बाटो, पैनी र सार्वजनिक जग्गा मिचेर बनेका छन्। तपाईंको पार्टीका नेताहरुले पनि सार्वजनिक जग्गामा घर बनाएको तपाईं आफंै भन्नुहुन्छ। ती किन हेर्नुहुन्न? किन भत्काउनु हुन्न? र एक्कासि धेरै परको डिभिएम स्कुलमै पढाइ भइरहेको समयमा कलिला विद्यार्थीमा डोजर आतंक गर्नुहुन्छ? 

३. तपाईंका राम्रा कामको समर्थनमा आउने समाचारमा केही भन्नु हुन्न। तर, अलोचनात्मक पोस्ट र समाचारमा किन ‘हन्डी खाएर’ लेखेको भन्नुहुन्छ? आलोचनात्मक समाचार बनाउन अरूले हन्डी खुवाएको भनेजस्तै सकारात्मक समाचारमा तपाईं पनि हन्डी खुवाउनुहुन्छ ? लोकतन्त्रको कुरा गर्नुहुन्छ तर आलोचनात्मक समाचार सामग्री र सामाजिक सञ्जालका सार्वजनिक पदाधिकारीका लागि आउने जायज आलोचनासँग किन आक्रोशित हुनुहुन्छ? किन माफिया र भ्रष्टाचारीका पक्षको भन्दै भीड उचाल्दै आवाज दबाउन खोज्नुहुन्छ? 

४. इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तथा तपाईंकै दलका नेता रामप्रसाद चौलागाईंले खानेपानीमा भ्रष्टाचार गरेको भन्दै सार्वजनिक रुपमा कयौँ पटक भन्नुभएको छ। तर, खानेपानीका सबै लेखा प्रतिवेदन तपाईंकै कार्यालयमा आउँछन्। किन एकएक बुँदा खोतलेर छानबिन गरेर प्रस्ट प्रमाणविना ‘अब त्यो कसरी मेयर बन्छ’ भन्दै सार्वजनिक अभिव्यक्ति दिनुहुन्छ? आफैं छानबिन गरेर सीधै दूधको दूध पानीको पानी बनाउने स्थानमा भए पनि किन स्टन्टमा जानुहुन्छ?  २०७६ जेठ ६ गते नेकपा जिल्ला पार्टीका नेताहरुको शपथ ग्रहण समारोहमा भ्रष्टाचारीलाई कुटेँ भन्नुभयो। तपाईंले चौलागाईंले प्लटिङमा सँगै सेयर हालेर काम गरेको देखी एमाले अध्यक्ष केपी ओली लगायतका शीर्ष नेता सँगसँगै गएर भेटेको यस अगाडिसम्म निरन्तर थियो।

तपाईं जस्तो स्वच्छ मान्छे किन भ्रष्टाचारीसँग लसपसमा पर्नुभयो? वर्षौ संगत गरेको नेतालाई अब मेयर कसरी बन्छस् भन्दै कुटेँ भनेर सार्वजनिक अभिव्यक्ति दिन किन सक्रिय हुनुहुन्छ? प्रमाणित गरेर कारबाहीको बाटोमा किन जानु हुन्न? मिडियामा एकएक तथ्य र तथ्यांक ल्याएर किन दिनु हुन्न? 

४. तपाईंको भ्रष्टाचार विरोधी कुरामा समर्थन छ। तर, भ्रष्टाचारी भएको अनुमानको आधारमा कि प्रमाणका आधारमा कारबाही गर्ने ? जस्तै तपाईंले २०७४ वैशाख २४ गते इटहरीका चानक पोखरेलकी श्रीमती रिता पोखरेलको नाममा बनेको घर सम्पन्न प्रमाणपत्र लिँदा घुस लिएको भन्दै सबइन्जिनियर राम खड्कालाई यही जेठ ८ गते निकाल्नुभयो। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बोलाएर धकेल्दै निकाल्नुभयो। तर, तपाईंकै कार्यालयको दस्ताबेजले खड्का २०७५ साउन ३ गते मात्रै उक्त फाँटमा आएको देखाँउछ। र, घरधनी रीता पोखरेलले समेत मैले घुस दिएको छैन र सम्पन्न गर्न कृष्ण खड्का हैन तपाईंकै आफन्त पर्ने मनोज चौधरी आएको भन्नुभएको छ। 

जेठ आठै गते नासु मनोज दाहाललाई सिएफएलमा भ्रष्टाचारी भन्दै कुट्नुभयो। मोबाइल खोस्नुभयो। आफू चाहिँ अख्तियारले क्लिच चिट दियो भन्दै हिँड्ने तर क्लिन चिट दिइएका कर्मचारीलाई चै किन भ्रष्टाचारी भन्दै कुट्नुहुन्छ ? प्रमाणसहित रंगेहात हान्ने सञ्जाल र राजनीतिक नेतृत्व भए पनि किन हिंसामा उत्रनुहुन्छ? 

५. तपाईं मितव्ययिताको कुरा गर्नुहुन्छ। तर गैरकानुनी रुपमा पद खडा गरेर कार्यालयमा पत्रकार नियुक्त गर्नुभएको छ।  यसमा के कुराको भूमिका छ? मेयर भएर आएकै वर्षको पुस १९ गते किन तपाईं युनिफिकेसन चर्चको कार्यक्रममा शान्तिदूत बन्ने नाममा उपमहानगरको पैसा खर्च गरेर जानुभयो? व्याक्तिगत फाइदाको काममा किन स्थानीय सरकारको पैसा खर्च गर्नुभयो? 

६. तपाईं आफूलाई थारू अगुवा भन्नु हुन्छ तर मैले र केही थारु अभियानकर्मीले इटहरीका भूमिपुत्र थारूलाई प्रथम नागरिक घोषणा गरौँ भनेर प्रस्ताव गर्‍यौं। दमकले धिमाल गरेको छ इटहरीले थारु गरौँ भन्दा तपाईं किन मान्नु हुन्न? बहुसंख्य कार्यपालिका सदस्य र थुप्रै शुभेच्छुकहरु सहयोगमा हुँदा पनि यो घोषणा गर्न केले रोकेको छ? यस्तो आफ्नो जातिका पक्षमा आएका जायज कुरामा केही नगर्ने तर ‘बाहुक कुटे’, ‘बाहुनको खुन खान्छु’ जस्ता उत्तेजक भनाइ किन आउँछन् तपाईंको मुखबाट? 

७. आफूले काम गर्न चाहेर पनि नपाएको भन्नुहुन्छ। तपाईंले मेयर भएर आउनेबित्तिकै इटहरी बजारमा सार्वजनिक शौचालय बनाउने कुरा गर्नुभएको थियो। २ बर्ष पुग्न लाग्दा पनि किन बनेन? 

८.  तपाईं किन पत्रकार, कर्मचारी, सेवाग्राही  र संविधानसँग विमति राख्नुहुन्छ? आलोचनात्मक पत्रकारलाई पत्रुकार/चाटुकार भन्ने, झोक चलेका सेवाग्राहीको निवेदन च्यात्ने, नेकपा नेतादेखि कर्मचारी कुट्ने काममा किन जोस चल्छ? संविधानलाई बर्जुवा, अदालतलाई कायर भन्दै राज्यसंयन्त्रको खिल्ली उडाएर गुण्डाराज प्रवद्र्धनमा तपाईंको सक्रियता किन? सामाजिक सञ्जालमा समेत आफूभन्दा फरक मत आउनेलाई तथानाम किन गाली गर्नुहुन्छ। योगेश भट्टराईले माफी माग भनेको समाचार सेयर गर्ने नवीन कट्वालको कमेन्टमा गएर ‘मेरो तर्फबाट उसैले मागोस्’ भनेर किन नेताहरुको अनादर गर्नुहुन्छ?

-साभार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।