ताजा अपडेट »

अख्तियार र महालेखाका प्रमुख नै लिन्छन् दोहोरो सुविधा

शुक्रबार, २४ जेठ २०७६, ०९ : १९
4 Shares

जेठ २४,

काठमाण्डौं । स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरू नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ। त्यही संविधानकाअन्तर्गत नियुक्त पदाधिकारीहरूले तलब र पेन्सनमा दोहोरो सुविधा लिइरहेका छन्।

नवीनकुमार घिमिरेः भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारीमा रहेका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले समेत राज्यबाट दोहोरो सुविधा लिएका छन्।

घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् । उनले अवकाशप्राप्त कर्मचारीका रूपमा मासिक ३७ हजार ५ सय २१ रुपैयाँ पेन्सन लिँदै आएका छन् । घिमिरेले यसअघि आयुक्त हुँदादेखि नै नियमित रुपमा पेन्सन सुविधा लिदै आएका भेटिएको हो । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको हैसियतमा राज्यबाट प्राप्त सुविधा पनि नियमित रुपमा लिदै आएका छन् । विवाद भएपछि बीचमा एक वर्ष पेन्सन नलिएको तर सर्वोच्चले लिन मिल्छ भनेकोले रोकिएको पेन्सन पनि एकमुष्ठ लिएको उनले बताए । 

रत्नेश्वरलाल कायस्थ : प्रदेश प्रमुख प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पूर्व प्रशासक हुन् । नेपाल सरकारको सचिवबाट अवकाश उनी प्रदेश प्रमुखको जिम्मेवारीमा गएपछि पनि नियमित रुपमा पेन्सन सुविधा लिइरहेका छन् । उनले मासिक ३३ हजार २ सय ३६ रुपैँयाका दरले पेन्सन लिने गरेका छन् । निवृत्ती भरण कार्यालयका अनुसार उनले सेवाबाट अवकाशपछि नियमित पेन्सन लिदै आएका छन् । 

उमाकान्त झा : ५ नं प्रदेश प्रमुख झा पूर्व प्रशाशक हुन् । यस्तै २०७० सालमा गठन भएको खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री समेत भएका थिए । उनले प्रदेश प्रमुखको जिम्मेवारी पाए लगत्तै निवृत्ती भरण कार्यालयलाई पत्र लेखेर ‘प्रदेश प्रमुखमा नियुक्त भएकाले त्यो पदमा रहँदासम्मका लागि पेन्सन रोक्का राखिदिन’ निवेदन दिएका थिए । त्यही पत्रका आधारमा २०७४ फागुन  देखि उनको पेन्सन रोक्किएको छ। 

उमेश मैनाली : अध्यक्ष, लोकसेवा आयोग
पूर्व सचिव उमेश मैनालीले लोकसेवा आयोगको अध्यक्षको जिम्मेवारी पाएपछि २०७२ जेठमा निवृत्तीभरण कार्यालयलाई पत्र लेखेर आफ्नो पेन्सन रोक्न निवेदन दिएका थिए । निवेदनका आधारमा कार्यालयले पेन्सन रोकिदियो। तर मैनालीले २०७४ असारमा रोक्का फुकुवा गरेर रोक्का अवधिको पेन्सन समेत एकमुष्ट बुझेका थिए । कार्यालयका अनुसार रोक्का समयको पेन्सन ९ लाख ४३ हजार एकमुष्ट बुझेको छन्। त्यसपछि उनले मासिक ३७ हजार ३ सय ६८ रुपैँया पेन्सन बुझ्दै आएका छन् । यता उनले लोकसेवा आयोगको अध्यक्षको हैसियतमा राज्यबाट दिने सम्पूर्ण सुविधा लिदै आएका छन्। निजामति कर्मचारी सदाचारी र नैतिकवान हुनुपर्नेमा जोड दिने मैनालीलाई यो घटनाले गिज्याएको छ। 

सुर्यनाथ उपाध्याय : पूर्व प्रमुख निर्वाचन आयुक्त
पूर्व प्रमुख निर्वाचन आयुत्त सूर्यनाथ उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहँदासम्म पेन्सन रोक्का गरेका थिए । तर अख्तियार प्रमुखबाट अवकाश पाउने वित्तिकै उनले रोक्का गरेको समयको समेत हिसाब गरेर एकमुष्ट पेन्सन बुझेको कार्यालयले जनाएको छ । 

टंकमणि शर्मा : महालेखा परिक्षक 
नेपाल सरकारको सचिवबाट अवकाश लगत्तै टंकमणि शर्मालाई सरकारले महालेखा प्रमुखको जिम्मेवारी दिएको थियो । राज्यका निकायले गर्ने खर्चमा अनुशासन र पारदर्शीता कायम खटिएका टंकमणि शर्माले आफैँ दोहोरो सुविधा लिइरहेका छन् । उनले महालेखा परिक्षकको रुपमा नियमित मासिक सुविधा लिइरहेका छन् । भने राज्यबाट पूर्व सचिवको रुपमा मासिक ४३ हजार ९ रुपैँया पेन्सन पनि बुझ्दै आएका छन् । 

अनुपराज शर्मा : अध्यक्ष राष्ट्रिय मानवअधिकार आयोग 
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हुन् । स्वच्च छविका अवकाशप्राप्त पूर्व प्रधानन्यायाधीशको रुपमा उनलाई सरकारले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको जिम्मेवारी दिएको थियो । तर उनले उक्त पदमा वहाल भएदेखि नै मासिक पारिश्रमिक र पेन्सन दुवै सुविधा लिइरहेका छन् । उनको मासिक पेन्सन सुविधा ४८ हजार १ सय ४५ रुपैँया रहेको छ । 

दिपकुमार बस्न्यात : पूर्व प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
नेपाल सरकारको सचिवबाट अवकाशपछि सरकारले दिपकुमार बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुत्तमा नियुक्त गरेको थियो । पछि सरकारले नै उनलाई अख्तियार प्रमुखमा नियुत्त गर्‍यो । निवृत्ती भरण कार्यालयका अनुसार उनले अख्तियारको आयुत्त र प्रमुख आयुत्त भएपछि पनि नियमित रुपमा पेन्सन लिदै आएका थिए । उनले संबैधानिक परिषदका पूर्व प्रमुखको समेत हैसियतमा मासिक ४५ हजार ७ सय ८४ रुपैँया पेन्सन बुझ्दै आएका छन् ।

कृष्णहरी बास्कोटा : अध्यक्ष, सुचना आयोगका अध्यक्ष 
पूर्व प्रशासक कृष्णहरी वास्कोटाले अवकाश लगत्तै सरकारी सुविधा खाने गरि सुचना आयोगमा नियुत्त भएदेखि आफ्नो पेन्सन सुविधा रोक्का राखेका छन् । उनले निवेदनमै दोहोरो सुविधा नलिने गरी भन्ने बाक्य प्रयोग गरेका छन् । 

दिनेश थपलिया : प्रमुख निर्वाचन आयुक्त
सचिवबाट राजीनामा दिएर प्रमुख निर्वाचन आयुत्तमा नियुत्त भएका थपलियाले पेन्सन सुविधा लिएका छैनन् । उनले पूर्व प्रशासकको रुपमा पेन्सनपट्टा बनाएका छन् । तर खाता खोलेर पेन्सन लिएका छैनन् । निवृत्ती भरणको कार्यालयले खाता नखोली पेन्सन नदिने गरेको छ । 

नरेन्द्रकुमार दाहाल : आयुत्त निर्वाचन आयोग
निर्वाचन आयोगका आयुत्त नरेन्द्रकुमार दाहाल पूर्व प्रशासक पनि हुन् । नेपाल सरकारको सचिवबाट अवकाश पाएपछि उनी आयुत्तमा नियुत्त भएका हुन् । उनले निजामति सेवाबाट अवकाश पाएपछि लगातार पेन्सन सुविधा लिइरहेका छन् । उनले अहिले मासिक ३५ हजार १ सय ८६ रुपैँया पेन्सन सुविधा लिदै आएका छन् । उनले चालु जेठ महिनाको समेत पेन्सन लिइसकेका छन् । हरेक महिनाको पहिलो हप्ता पेन्सन दिने गरिएको छ ।

इश्वरीप्रसाद पौडेल : निर्वाचन  आयुत्त 
नेपाल सरकारको सचिवबाट अवकाश भएका इश्वर पौडेल हाल निर्वाचन आयोगको आयुत्त छन् । आयुत्तको रुपमा उनले राज्यबाट तलब, गाडी, विभिन्न शीर्षकमा भत्ता लगायतका सुविधाहरू लिइरहेका छन् । र पनि उनले अवकाश मिति देखि नै नियमित रुपमा मासिक ३१ हजार ९ सय ३४ रुपैँया पेन्सन लिदै आएका छन् । उनले निर्वाचन आयोगमा बहाल रहँदा पनि राज्यबाट दोहोरो पर्ने गरि  पेन्सन र तलब सुविधा बुझ्दै आएका हुन् ।

शान्ताराज सुवेदी : समावेशी आयोगको अध्यक्ष
नेपाल सरकारबाट अवकाशप्राप्त पूर्व सचिव शान्ताराज सुवेदीलाई सरकारले समावेशी आयोगको अध्यक्षमा नियुत्त गरेको छ । आयोगको जिम्मेवारी प्राप्तसँगै सुवेदीले निवृत्तीभरण कार्यालयलाई पत्र लेखेर आफ्नो पेन्सन सुविधा रोक्का गराएका छन् । उनले २०७५ चैत्र देखि दोहोरो सुविधा हुने गरि पेन्सन सुविधा लिएका छैनन् । 

लिलामणि पौड्याल : चीनका लागि नेपालका राजदुत 
चीनका लागि नेपाली राजदुत लिलामणि पौड्याल पूर्व मुख्य सचिवसमेत हुन् । मुख्य सचिवबाट अवकाश पाएपछि उनलाई सरकारले चीनको राजदुत बनाएको छ । उनले राजदुतमा नियुत्त भएको मिति २०७३ मंसीरदेखि पूर्व कर्मचारीको रुपमा पाउने पेन्सन सुविधा रोक्का राखेका छन् । राजदुतको रुपमा पाउने सेवासुविधा रोजेर उनले पेन्सन सुविधा रोकेका हुन् । 

वालानन्द पौडेल : वृत्त आयोग 
पूर्व सचिव वालानन्द पौडेल यसअघि स्थानीय तह निर्धारण आयोगका अध्यक्ष थिए । सरकारले अहिले उनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगको अध्यक्ष बनाएको छ । तर उनले निजामति सेवाबाट अवकास पाएपछि एक दिन पनि नछोडी पेन्सन लिदै आएका छन् । वृत्त आयोगको अध्यक्ष वापतको पनि सुविधा र पेन्सन सुविधा पनि लिएर उनले राज्यबाट दोहोरो सुविधा लिइरहेका छन् । 

यस्तै राज्यबाट दोहोरो सुविधा लिनेहरूमा लोकसेवा आयोगका सदस्यहरू विन्द्राहाडा भट्टराई, श्रीपुरुष ढकाल र अशोककुमार झा पनि छन् । उनीहरूले लोकसेवा आयोगको सदस्यको हैसियतमा पनि पूर्ण सुविधा लिइरहेका छन् । पेन्सन वापत भट्टराईले मासिक २९ हजार रुपैँया, ढकालले ३६ हजार ५ सय २० रुपैँया र झाले २५ हजार ९ सय ९ रुपैँया लिदै आएका छन् ।- पुष्प ढुंगाना /नयाँ पत्रिका

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।