ताजा अपडेट »

श्रीमतीको उपचारका लागि भौतारिदैँ ८६ वर्षीय नन्दलाल

सोमबार, ०९ चैत्र २०७७, १८ : १३
12 Shares

भैरहवा । उमेरले ८६ पुगे नन्दलाल बढई । तर,उनको जोश र जागर अनि आफ्नो पत्नी प्रतिको माया अझै कुनै युवा भन्दा कम छैन । सम्पत्तिको नाममा एउटा खपडाले छाएको माटोको भित्ता भएको घर छ । घरको एउटै कोठामा २ वटा खटिया, शौचालय, हातेधारो र भान्छा मिलाएर राखेका छन् । ८६ वर्षिय नन्दलाल र सोही उमेर हाराहारीको उनको श्रीमति मोती बढईलाई खान पुग्ने भाँडाकुडा छन् ।

केही वर्ष अघिसम्म नन्दलालका दिन पनि राम्रै थिए । अब्बल मूर्तिकार रहेका नन्दलालले छोराछोरी नभएकोले उनले एकजनालाई धर्मपुत्र बनाएर ल्याए । हुर्काए, माया दिए छोराको मायामा परेर आफ्नो नाममा रहेको त्यही माटोको घर पनि उसको नाममा पास गरिदिए । अनिमात्र छोरोका असली रङ देखियो । घर आफ्नो नाममा पारे पछि छोरा बृद्ध आमा बुवाको सेवा छोडेर टाप कसे । अहिले भने नन्दलालको जिवन निकै कष्टकर बनेको छ । कमाउदासम्म सबै ठिक रहेको नन्दलाल अहिले श्रीमतिको जिवनरक्षाको लागी माग्ने बनेका छन् । करिब अढाई वर्ष अघिदेखी पत्नी मोती बढई बिरामी भए पछि बृद्ध अवस्थामा उनको सबै सपना तुहिएको छ ।

मोती अहिले असाध्य रोगबाट पिडित छिन । बिस्तारै गल्दै गएको मोतीको शरिर अहिले श्रीमानको भर नभई हल्लिन पनि सकेको छैन । नन्दलालले उनको यो रोगबारे सके सम्मको उपचार गरे पनि रोग पत्ता नलागेको बताए । “धेरै चेकजाँच गराए तर के रोग हो पत्तै लागेको छैन ।” नन्दलालले भने सुरुमा भएको केही रकमले उपचार गरेको र त्यसपछि चन्दा मागेर उपचार गराएको उनको भनाई छ । चन्दा उठन् छोडे पछि बिरामी श्रीमतिलाई सँगै लिएर उनी अहिले माग्दै हिडेका छन् । भैरहवा बजारमा अहिले प्रायः यी दम्पत्ति देखिन्छन । तर यिनिहरुको बारेमा कमैलाइ थाहा छ ।

अस्पताल पुर्याउन समेत पैसा धेरै हुन थाले पछि ८६ वर्षिय यी बृद्ध आफै हाते रिक्सा बनाई बिरामी श्रीमतीलाई अस्पताल पुर्याउन गरेका छन् । घर छेउछाउमा धेरै कबाडका पसल रहेका छन् । उनीहरुको सहयोगमा उनले यो रिक्सा बनाएको बताए । रिक्साको अहिलेको लागत मूल्य नै करिब २५ हजार रहेको उनको भनाई छ । आफैले बनाएको रिक्सामा बिरामी श्रीमति राखेर ८६ बर्षिय नन्दलाल रिक्सा धकेल्दै गरेको प्राय भेटिन्छन् । “यिनिलाई एक ठाउमा बस्नै मन पर्दैन, डुल्न खोज्छिन । यसले गर्दा पनि रिक्सा बनाउनु पर्यो । अहिले अस्पताल जान, माग्न र यिनलाई डुलाउन केही सहज भएको छ ।”नन्दलालले भने

आफ्नो बलले हल्लिन समेत नसक्ने मोतीको सेवामा कुनै कमि आउन दिएका छैनन् नन्दलालले । उनलाई खाटबाट रिक्सामा हाल्ने, बजार डुलाउने, अस्पताल पु¥याउने देखी बिमार श्रीमतीको मलमूत्र समेत आफैले सफा गर्ने गरेका छन् । आफ्नो ज्यान रहे सम्म श्रीमतीको उपचार गर्दै रहने उनमा दृढ संकल्प छ । मायालाई उमेर र कठिनाईले छेक्दैन भन्ने ज्वलन्त उदाहरण हुन नन्दलाल र मोती । माया र सेवा गर्ने धनि मनका नन्दलाललाई अहिले उनको उमेर जस्तै आर्थिक अवस्थाले दुख दिएको छ । मस्तिष्कको नशा सुकेको श्रीमतिको उपचारको लागी उनी अहिले निरिह बनेका छन् । उपचार त परै जावोस अहिले यी बृद्ध दम्पत्तिको चुल्हो समेत बल्न छोडेको छ । दाताहरुले दिएको ग्याँस चुल्होमा पकाउने कुनै अन्न छैन । भोकभोकै बस्न बाध्य नन्दलाल पत्नीको उपचारको लागी भने प्रयत्नरत् छन् । उनले कुनै दाताले अझै पनि केही रकमको सहयोग गरि दिए उनलाई अस्पताल लैजाने बताउछन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा