ताजा अपडेट »

करेन्ट लगाएर माछा मार्नेलाई बडा कारबाही

आइतबार, ०८ चैत्र २०७७, ११ : ४०
2 Shares


सिमकोट । हुम्लाको तल्लो भेगमा रहेका अदानचुली गाउँपालिका आसपासका क्षेत्रमा कर्णाली नदीमा करेन्ट लगाएर माछा मार्नेलाई कडा कारबाही गर्ने भएको छ ।पारिस्थितिक प्रणालीमा नै नकरात्मक असर पर्ने गरी गरिने यस प्रकारका काम रोक्नका लागि स्थानीय प्रहरीले कडा कारबाही गर्ने भएका हुन् । केही वर्षदेखि यहाँका स्थानीवासीले कर्णाली नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनाएको छ । स्थानीय प्रहरीको लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण नदीमा करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको स्थानीय अगुवाको भनाइ छ । खुलेआम नदीमा करेन्ट लगाएर माछा मार्ने गरिएपनि प्रहरी र अन्य निकायले केही पनि नगरेको उनीहरुको गुनासो छ । नदीमा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने गरिएको बताइएको छ ।

गल्फागाड प्रहरी चौकी श्रीनगरले गल्फागाड खोलामा कसैले करेन्ट लगाएर माछा मारेको भेटाएमा नियन्त्रणमा लिने जनाएको छ । कर्णाली नदी तथा यस क्षेत्रमा रहेका खोलामा करेन्ट लगाएर माछा नमार्न प्रहरीले शुक्रबार सूचना प्रकाशित गरी सबैको ध्यानाकर्षण गराएको छ । गल्फगाडको खोलामा करेन्ट लगाएर माछा मारेको पाएमा करेन्ट लगाउनेलाई नियन्त्रणमा लिनुका साथै प्रयोग गरीएका सबै सामानसहित सम्बन्धित व्यक्तिलाई पक्राउ गरी रु पाँच सय जरिवाना गरिने गल्फागाड प्रहरी चौकी श्रीनगरले जनाएको छ ।

यसभन्दा अगाडि यस्तो कार्य गरेको भए पनि आगामी दिनमा करेन्ट लाएर माछा मारेको पाइएमा बाध्य भएर नियन्त्रणमा लिइने गल्फागाड प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर बुढाले जानकारी दिए । उनले भने, “खोलामा अनैतिक ढङ्गले करेन्ट लगाएर माछा मार्ने प्रवृति यस क्षेत्रमा बढेकाले यसको नियन्त्रणमा लाग्न आवश्यक देखिएको छ ।”कतै कसैले खोला वा नदीमा करेन्ट लगाउने गरेको पाइएमा प्रहरीलाई खवर गर्न पनि उनले आग्रह गरे । करेन्ट लगाएर माछा मार्ने जो भएपनि आफूहरूले कानूनी कारवाही गर्ने उनको भनाइ छ ।

रासस
लेखकको बारेमा
रासस