ताजा अपडेट »

पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

आइतबार, ०८ चैत्र २०७७, ०८ : २३
6 Shares

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ ।

मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए । मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ ।

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १० : ३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ । यसैगरी उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ ।

मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ । केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासङ्घको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ । ती एकाईको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ । देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।