ताजा अपडेट »

८ महिनामा १६ अर्बको सुन आयात

आइतबार, ०८ चैत्र २०७७, ०६ : ५९
4 Shares

काठमाडौं  । चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू. १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा रू. ३ अर्ब ७१ करोडले बढी हो ।

यस अवधिमा सुन आयातको परिमाण ५० किलोले बढेको छ । चालू आवको फागुनसम्ममा जम्मा २३ सय किलो सुन आयात भएकोमा अघिल्लो वर्ष यस अवधिमा रू. १२ अर्ब ५७ करोड बराबरको २२ सय ५० किलो सुन आयात भएको थियो ।

चालू आवको पहिलो त्रैमाससम्म न्यून रहेको सुनको माग कात्तिकयता बढ्दै गएको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको समय भएका कारण उक्त समयमा सुनको आयात उच्च रहेको थियो ।

कोरोना भाइरसका कारण मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्पजस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो । तर, पछिल्लो समय माग बढेपछि आयात पनि बढाइएको व्यवसायीहरूको भनाइ छ ।

नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आवश्यक समन्वयन गर्दै आएको छ । महासंघले बजारको मागअनुसार बैंकहरूलाई सुन आयात गर्न सिफारिश गर्दै आएको छ ।

दशैंतिहार र विवाहजस्ता कार्यक्रममा सुनका गरगहना लगाउने, आदानप्रदान गर्ने प्रचलन भएकाले त्यो समयमा व्यवसायीले सुनको आयात बढाएका थिए । मङ्सिरसम्म सिजन भएकाले सुनको आयात उच्च देखिए पनि पुसपछि बिहेको लगन नभएका कारण आयात घट्ने अनुमान व्यवसायीको थियो । सिजनपछि सुनको माग सामान्य घटे पनि त्यति प्रभाव परेको देखिँदैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।