ताजा अपडेट »

‘डढेलो नियन्त्रण र वन संरक्षणमा स्थानीयको सहभागिता र भूमिका महत्वपूर्ण’

शनिबार, ०७ चैत्र २०७७, १७ : ०९
6 Shares

बुटवल । वनमा लाग्ने डढेलो नियन्त्रण र वन संरक्षणसँगै प्रवद्र्धनको मुख्य भूमिका स्थानीयबासीको रहने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले स्थानीय जनताले आफ्नो सम्पत्ति जस्तै वनलाई अपनत्व गरे मात्र वनमा आगलागीका घटनामा कमि हुनेमा जोड दिए । सामुदायिक वन समन्वय समिति तिनाउ गाउँपालिका–३ द्वारा आयोजित डेढेलो नियन्त्रण सम्बन्धी वृहत आम सभामा बोल्नेहरुले डढेलो नियन्त्रणका लागि जनताले आफ्नो सम्पत्ति जस्तै वनको अपनत्व गर्नुपर्ने बताएका हुन् ।

सभालाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सांसद तुल बहादुर घर्तीले वनलाई मानिसको आयआर्जन संगै जोड्न सकेमा मात्र वनको सदुपयोग गर्न सकिने बताए । वनको माध्यमबाट पर्यापर्यटनको विकास गरेर जनताको आयआर्जनमा जोडन सकेमा जनताले वनलाई सम्पत्ती जस्तै अपनोत्व गर्नुको विकल्प नभएको बताए । उनले वनमा लाग्ने डढेलोका कारण हुनसक्ने दिर्घकालिन असरलाई मध्यनजर गरेर भएपनि डढेलो नियन्त्रणमा स्थानीयहरु लाग्नुपर्ने बताए । त्यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जैविक विविधतायुक्त बनलाई समृद्धितर्फ जोड्नुपर्नेमा जोड दिए । उनले वनमा हुने डढेलोबाट बहमुल्य पर्ने जडिबुटि समेत नोक्सान हुने गरेको बताउँदै डढेलोको नियन्त्रणमा स्वय नागरिक नै जिम्मेवार बन्नुपर्ने बताए ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सामुदायिक वनलाई कृषि, पशुपालन, पर्यटन, होमस्टेमा पनि जोड्न सकिने भएकाले गाउँपालिकाले त्यस तर्फ ध्यान दिएको बताए । उनले अहिले पनि नागरिकको लापरवाहीले बनमा डढेलो लाग्दा जैविक बस्तुहरु नष्ट भएको भन्दै यसको नियन्त्रणका लागि अझ बढि सचेतना फैलाउन पनि आवश्यक रहेको बताए । कानूनमा समेत वनमा आगो लगाउनेलाई दण्डीत गर्नुपर्ने व्यवस्था भएपनि चेतनाकै कमिले गर्दा बनमा आगालागी हुने गरेको बताए । मानविय क्रुटि भएका कारणले पनि आगालागी भएको भन्दै पछिल्लो समय प्रचार–प्रसारकै कारण तिनाउ गाउँपालिकाको कुल क्षेत्रफलको ४४ प्रतिशत भुभाग वनमा आगालागीका घटना कम भएको उनको भनाई छ ।

कार्यक्रममा तिनाउ गाउँपालिका का प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठ, अधिवक्ता महेन्द्र पाण्डे, बिमल खत्री लगाएतले बोलेका थिए । कार्यक्रम समितिका अध्यक्ष पदमलाल शाक्यको अध्यक्षता, समितिका बरिष्ठ उपाध्यक्ष दल बहादुर गुरुङको स्वागत तथा सचिव दिनेश जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो । समितिले सप्ताहव्यापी रुपमा डढेलो नियन्त्रणका लागि वडा स्तरमा गोष्ठी समेत गरेको थियो । तिनाउ गाउँपालिकामा ८४ वटा सामुदायिक बन र ३ वटा धार्मिक वन गरी ८७ वटा वन रहेका छन् । सभामा विभिन्न वन समूहका प्रतिनिधि तथा स्थानीयले वन र वातावरण सम्बन्धी गीत,कविता लगाएत सांस्कृतिक प्रस्तुति दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।