April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

एउटी किशोरीको कहालीलाग्दो कथा

१५ वर्षमै भागेर बिहे, केटाले छोडेपछि बाध्यताले देहव्यापार

735

काठमाण्डौं । एघार कक्षा पढ्दापढ्दै १५ वर्षको उमेरमा भागेर बिहे गरेकी एक किशोरी केही महिनामै एक्लै परिन्। घर फर्किन खोज्दा आमाबुवाले वास्ता नगरेपछि उनी देहव्यापारको जालोमा परिन्। किशोरावस्थाको मनोभाव र कलिलै उमेरमा आफूले खेप्नुपरेका कहालीलाग्दा घटनाबारे उनले बीबीसी न्यूज नेपालीकी विनिता दाहालसँग कुरा गरेकी छन्। उनले बताएको आफ्नो जीवनकथाको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

बाल्यकाल

म सानै छँदादेखि बुवाआमासँग बस्न पाइनँ। उहाँहरू जागिरको सिलसिलामा घरबाट टाढा काम गर्नुहुन्थ्यो। दुवै जना जागिरे हुनुहुन्थ्यो र उहाँहरूको पोस्टिङ अर्को जिल्लामा भएको थियो। त्यसैले म र मेरी बहिनी आमाबुवालाई दशैँतिहारजस्ता चाडपर्वका बेला मात्रै भेट्न पाउँथ्यौँ। बहिनीका लागि त अभिभावक सानै भए पनि म थिएँ, मेरो लागि कोही छ जस्तो लाग्दैन थियो।

आमाको जागिर दुर्गम गाउँमा भएकोले आमाबुवाले हामीलाई सुगम ठाउँकै विद्यालयमा पढून् भन्ने सोचेर होला उहाँहरूसँग लग्नुभएन। मैले बुझ्ने बेलादेखि म र बहिनी कहिल्यै पनि बुवाआमासँग बसेनौँ। घरमा एकजना काम गर्ने दिदी हुनुहुन्थ्यो। उहाँले नै हामीलाई खाना बनाएर खुवाउने, स्कूल पठाउने गर्नुहुन्थ्यो। मेरो पढाइ राम्रो थियो। म १५ वर्षकी हुँदा नै एसएलसी सकेर ११ कक्षा पढ्न सुरु गरिसकेकी थिएँ।

प्रेमप्रस्ताव

पढाइ भर्खर सुरु भएको बेला थाहा पाएँः , मलाई केही समयदेखि एउटा केटाले पछ्याइरहेको रहेछ। एकदिन मलाई बाटोमा भेटेर उसले सीधै भन्यो, “मलाई तिमी एकदमै मनपर्छ।”

मैले जबाफ दिइनँ। तर उसले पछ्याउन पनि छोडेन।

फेरिफेरि बाटोमा भेटेर भन्यो, “तिम्रो बुवाआमाले तिमीलाई माया नगर्ने भएर हो आफूसँगै नराख्नुभएको। म त तिमीलाई धेरै माया गर्छु। मसँगै बिहे गरेर काठमाण्डू हिँड।”

उसले यो भनिरहँदा मलाई कताकता लाग्न थाल्योः “साँच्चै मेरो आमाबुवाले मलाई माया गर्ने भए त आफैँ राख्नुहुन्थ्यो। यतिका वर्षदेखि उहाँहरू जागिरको सिलसिलामा घरबाट टाढा नै बस्दै आउनुभएको छ।” जागिरको सिलसिलामा हाम्रो घरतिर आएको उसले मलाई पछ्याइरहेपछि मैले उसको कुरा पत्याएँ। उसँगै भागेर काठमाण्डू आएँ।

बुवाआमाले एक हप्तापछि म ऊसँग भागेको थाहा पाउनुभएछ। काठमाण्डूमा मैले चिनेको ऊबाहेक अरू कोही पनि थिएन। विवाहपछि एक महिनाजस्तो हमाी बस्यौँ। मेरो पढाइ छुटेको थियो। उसैले काठमाण्डूको एउटा कलेजमा मलाई ‘पढाइलाई निरन्तरता देऊ’ भनेर भर्ना पनि गरिदियो।

बाल यौन दुराचार
तस्बिरको क्याप्शन,साङ्केतिक तस्बिर

फेरि एक्लै

अनि जागिरको सिलसिलामा नयाँ ठाउँ पोस्टिङ भयो भनेर ऊ एक महिनापछि मलाई एक्लै छोडेर गयो। त्यसपछि महिनैपिच्छे ९/१० हजार रुपैयाँको दरले मलाई खर्च पठायो। तीन महिनापछिचाहिँ उसले मलाई वास्ता गर्न छोड्यो। फोन गर्दा पनि उठाएन। मेरो नम्बर ब्लक गरेछ। साथीको मोबाइल फोनबाट गर्दा पनि मेरो स्वर सुन्नेबितिक्कै फोन काट्न थाल्यो।

मैले घाँटीमा लगाएको सुनको सिक्री बेचेर अरू दुई-तीन महिना जेनतेन चलाएँ। काम पनि केही थिएन। त्यसपछि त खानेकुराकै अभाव हुन थाल्यो। कोठा भाडा तिर्न पनि पैसा हुन छोडेपछि घरपतिले कोठामा भएका गतिला सामान पनि लैजान थाले। –बीबीसी नेपाली

पछिल्लो अपडेट