ताजा अपडेट »

४० वर्षदेखि भारतमा थुनिएका नेपाली कारागारमुक्त

शनिबार, ०७ चैत्र २०७७, १३ : ४४
4 Shares

काठमाण्डौं । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको छ। उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो। नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो।

प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो। दीपकलाई रिहा गर्न अदालतले आदेश दिए पनि उनको मुद्दा किनारा लागिनसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायी हीरक सिन्हाले बीबीसी न्यूज नेपालीलाई बताए।

'मुद्दा सकिएको होइन'

सिन्हाले भने, "उनको मुद्दा सकिएको होइन। तर उनको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालते रिहा गर्न आदेश दिएको हो।"

तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो। त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिवार रिहा भएका हुन्। उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ-छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ।

दीपक जैसी

इलामबाट हराएका थिए

दीपक जैसी तिम्सिना २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए। तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन्। त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ।

उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए। त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका काकाका छोरा प्रकाशचन्द्रले बताएका थिए। उनलाई बिनासुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा रहेका थिए। -बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।