ताजा अपडेट »

‘विकासका काममा राजनीति गर्न हुँदैन’

शनिबार, ०७ चैत्र २०७७, १३ : ४४
6 Shares

काठमाण्डौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उनले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न सकेमात्र देशको विकास हुने बताएका हुन् । “यो तेरो पार्टीको यो मेरो पार्टीको भन्नुभन्दा पनि सामूहिक रुपमा काम गरौँ, देशको विकास सम्भव छ”, उनले भने ।

खनालले आफूले प्रहरी सङ्गठनमा लागेर समाज र राष्ट्रको सेवा गरेको उल्लेख गर्दै जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्ने बताए । नेपालको राजनीति क्षेत्रलाई शुद्धिकरणका लागि राजनीति क्षेत्रमा हुने बद्मासीको अन्त्य हुनु जरुरी रहेको उनको भनाइ छ । उनले देशमा हुने भ्रष्टाचारको अन्त्य र अपराधलाई निर्मूल पारेमात्र देशको विकास हुने उल्लेख गरे। टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले प्रचुर सम्भावना भएको नेपालको विकासका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले मुलुकमा रगत अभाव भइरहेको अवस्थामा रक्तदान गरेर जनकल्याण सामाजिक केन्द्रले राम्रो कामको शुरुआत गरेको बताए । केन्द्रका सल्लाहकार एवम् समाजसेवी भरत ढकालले राजनीति क्षेत्रले जनताको भावनालाई पूरा गर्न नसकेसम्म देशको विकास सम्भव नहुने बताए । वि.सं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाण्डौंको टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र काठमाण्डौं महानगरपालिकामा सामाजिक काम गर्दै आइरहेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए । केन्द्रले कोभिड–१९ महामारीका समयमा गरीब तथा असहाय व्यक्तिलाई खाद्यान्न वितरण गर्नाका साथै स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको थियो । सोही अवसरमा २२ जनाले रक्तदान गरेका थिए ।

रासस
लेखकको बारेमा
रासस