ताजा अपडेट »

फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी

शनिबार, ०७ चैत्र २०७७, १२ : ५४
4 Shares

हेल्सीन्की । फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । गत बर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् । सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युज ल्याण्ड बाहेक अरु सवै युरोपेली मुलुक रहेका छन् ।

न्युजल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्मरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ । विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

रासस
लेखकको बारेमा
रासस