ताजा अपडेट »

समाचार प्रभाव : सुत्केरीलाई सहयोगको प्रतिबद्धता

शनिबार, ०७ चैत्र २०७७, १२ : १७
4 Shares

काठमाण्डौं । सुत्केरीको समस्याबारे सार्वजनिक समाचार पढेर विभिन्न क्षेत्रबाट उनलाई सहयोग गर्ने प्रतिबद्धता आएको छ । काठमाण्डौं काँडाघारी बस्ने ओखलढुङ्गाकी २१ दिनकी सुत्केरी विनिता भुजेललाई श्रीमान्ले छाडेर गएपछि उनलाई अहिले दैनिकी चलाउन धौधौ परेको छ । सोही विषयमा राससले शुक्रबार ‘सुत्केरीको रोदन : मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो।’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो ।

समाचारमार्फत विनिताको समस्या थाहा पाएर अमेरिका बस्ने सरिता गुरुङले रु १० हजार र काठमाण्डौं निवासी प्रितम काफ्लेले रु १० हजार सहयोगको घोषणा गरिसकेका छन् । यस्तै सन्दिप बस्नेतले सुत्केरीका लागि चाहिने आवश्यक खाद्य सामग्री सहयोग दिँदै छन्। अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । आज केही सहयोग सामग्री उनलाई उपलब्ध गराउने बस्नेतले जानकारी दिए । चौध वर्षअघि उनीहरुबीच प्रेम विवाह भएको थियो । अहिले २१ दिनकी सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उनले गत फागुन २० गतेदेखि श्रीमान् सम्पर्कविहीन भएको बताए । अहिले तत्काल ज्याला मजदूरी गर्नसक्ने अवस्थामा नरहेकाले सुत्केरीको समयसम्म केही महिनाका लागि सहयोग पाए त्यसपछि आफैँ ज्याला मजदूरी गरेर दैनिकी चलाउन सक्ने उनले बताए ।

रासस
लेखकको बारेमा
रासस