ताजा अपडेट »

धुमधामका साथ मनाइयो इद उल फित्र

बुधबार, २२ जेठ २०७६, १७ : २८
14 Shares

जेठ २२, बुटवल । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाएका छन् । एक महिना सम्म बसेको रोजा सकुशल पुरा गरेकोमा त्यसैको धन्यवाद दिन इद मनाउने गरिएको हो ।

रुपन्देहीका विभिन्न स्थानमा रहेको मस्जिद तथा ईदगाहरुमा विशेष कार्यक्रमको साथै नमाज पढी ईद मनाइएको हो । विशेष गरी नेपालमा शान्तीको कामना लगायत देश सुखी र समृद्धिको कामना गर्दै मुस्लिम धर्मालम्बीहरुले यो पर्व मनाएका छन् । भैरहवामा एक मस्जितमा सहभागि मौलाना फैजुल्लाह मुसलमानका अनुसार एक महिना सम्म रोज पुरा गर्न शक्ति दिएकोमा र आपसमा खुशी साटासाट गर्नु नै इदको बिशेषता भएको बताए ।


अरबी पात्रो हिजरी सम्वत अनुसार दशौं महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाएका हुन् । विशेष नमाज पाठ गरेपछि तीन दिन सम्म आफू भन्दा ठूलाबडा कहाँ गएर आशिर्वाद लिने तथा आफू भन्दा सानालाई आशिर्वाद दिने गरिन्छ ।


आशिर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।


रमजान महिनाभरी गरिबलाई सहयोग गर्ने र महिनाभरिको दिनलाई एक दिन धन्यवाद ज्ञापन गर्न तथा एक आपसमा शुभकामना आदानप्रदान गर्न ईद मनाउने गरिएको मुस्लिम वेलफेयर सोसाइटीका सचिव मोहम्मद अकिल मुसलमानले बताए ।


पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ (सन २०११) को तथ्यांक अनुसार नेपालको कूल जनसंख्याको ४ दशमलव ४ प्रतिशत अर्थात ११ लाख ६४ हजार २ सय ५५ मुस्लिम जनसंख्या रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।