ताजा अपडेट »

सञ्चार सिद्धान्तमा शान्ति सिद्धान्त थप्न सुझाव

शुक्रबार, ०६ चैत्र २०७७, १७ : ०२
16 Shares

काठमाण्डौं । ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधिप्राप्त डा. बालकृष्ण चापागाईँले सञ्चारका विश्वव्यापी चार सिद्धान्तमा शान्ति सिद्धान्तलाई पाँचौँ सिद्धान्तका रुपमा समावेश गरिनुपर्ने आफ्नो अध्ययनको निष्कर्ष प्रस्तुत गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा आज आयोजित उक्त शोधका सन्दर्भमा आयोजित परिचर्चा कार्यक्रममा राससका पूर्वअध्यक्ष डा. चापागाईँले मानवतावादी र समानतावादी सोच र दर्शनका धनी गौतम बुद्धले आफ्नो ज्ञानलाई अन्तरमुखी, अन्तरवैयत्तिक र समूह सञ्चार अवाधारणानुसार विश्वव्यापी फैल्याउन सफल भएकाले उनको शान्ति दर्शनलाई सञ्चार सिद्धान्तमा समिावेश गर्न आवश्यक रहेको तर्क प्रस्तुत गरे । सञ्चारमा अधिनायकतावादी, उदारवादी, सामाजिक उत्तरदायित्ववादी र साम्यवादी सिद्धान्त स्थापित छन् । उनले राससजस्तो जिम्मेवार संस्थाले सञ्चारबाट शान्ति सन्देश दिन सक्नुपर्ने जनाए । प्रेस चौतारी नेपालका पूर्वाध्यक्ष डा चापागाईँले करीब आठ वर्षको समय लगाएर गरेको उक्त शोध अध्ययनलाई विश्वविद्यालयले गत फागुन १९ गते स्वीकृति दिएको थियो ।

विद्यावारिधि हासिल गरेकामा बधाई दिँदै राससका अध्यक्ष श्यामल अधिकारीले बुद्धको सबैभन्दा बढी आकर्षण हुने सवाल विनयशीलता र प्रेम भएकाले यस्तो सन्देश दिने व्यक्तित्वका बारेमा सञ्चार अध्ययन गरिनाले सञ्चार क्षेत्रमा योगदान पुगेको बताए । उनले बौद्धका कुनै पनि भिक्षु अनुयायीले रिस व्यक्त नगरेको बताउँदै सञ्चारकर्मीलाई पनि आफ्ना व्यवहारलाई विनयी बनाउन सुझाव दिए । राससका महाप्रबन्धक ओपेन्द्र शर्माले शान्ति स्थापना र समृद्ध मुलुक निर्माणका लागि बुद्धका सन्देश उपयोगी भएकाले यस विषयमा शोधअध्ययन गरेका डा. चापागाईँलाई बधाई दिँदै शान्ति पत्रकारितालाई अघि बढाउनुपर्ने बताए । सो अवसरमा राससका कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल, आलेख संयोजक एकराज पाठक, कार्यकारी सम्पादक कृष्ण अधिकारी, मदन गौतमलगायतले बौद्धदर्शनबारे जिज्ञासा राख्दै अधिवक्तासमेत रहेका वरिष्ठ पत्रकार डा. चापागाईंलाई बधाई दिएका थिए ।

रासस
लेखकको बारेमा
रासस