ताजा अपडेट »

भारतमा कोरोना संक्रमित बढे पनि सीमामा फितलो व्यवस्थापन

शुक्रबार, ०६ चैत्र २०७७, १५ : ०९
8 Shares

भैरहवा । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार व्यक्ति संक्रमित भएका छन् ।

गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७ सय २६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो । कोरोना फेरी देखिन थालेपछि भारतका बिभिन्न शहरहरुमा लकडाउन सुरु गरिएको छ । पछिल्लो समय उत्तर प्रदेशका बिभिन्न शहरमा पनि फेरी लकडाउन हुन सक्ने सम्भावना बढेर गएको छ ।

भारतमा कोरोना संक्रमण बढ्दै जादा भारतबाट नेपाल आउने यात्रुहरुका लागी भने कुनै सावधानी अपनाईएको छैन । यस अघि भारतबाट बेलहिया नाका आउने नेपाली र भारतीयलाई स्वास्थ्य चेकजाँच गरि मात्र प्रवेश अनुमति दिने गरिएकोमा अहिले त्यो हटेको छ । सीमामा लकडाउन अवधिमै बनाईएको हेल्पडेस्क छ । त्यहा प्रहरी रहे पनि कुनै प्रकारको चेकजाँच हुने गरेको छैन । नेपालीहरु निर्वाध रुपमा स्वास्थ्य मापदण्ड नअपनाई भारत किनमेलको लागी जाने र उताबाट फर्किरहेका छन् । यस्तै भारतबाट पनि बिभिन्न नोकरीमा संलग्न कामदारहरु र स्थानिय पनि सिधै प्रवेश पाएका छन् ।

मूख्य नाका बेलहिया मात्र हैन करिब ६० किलोमिटर रहेको रुपन्देहीको बिभिन्न सहायक नाकाहरुको पनि अवश्था उस्तै छ । मूख्य नाकाबाट मालवाहक गाडी कुनै चेकजाँच बिना नै भित्रिरहेका छन भने अन्य नाका बाट सानो गाडीहरु त्यसै गरि भित्रिरहेका छन् । कुनै सावधानी नै नअपनाई सीमामा ओहोर दोहोर भए पनि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको भने सीमा ब्यवस्थापन चुस्त बनाईएको दावी छ । उनले सरकारले लागु गरेको कानुन अक्षरसः पालन गरिएको दावी गरे ।

प्रमुख जिल्ला अधिकारीले सीमामा सबैको अभिलेख राख्ने गरेको, बेलहिया बाहेक अन्य नाकाबाट आवात जावतमा पूर्ण रुपमा रोक लगाईएको दावी गरेका छन् । “बेलहिया नाकाबाट सरकारले निर्धारण गरेका प्रक्रिया र मापदण्ड पु¥याएर उनिहरुको अभिलेख राखेर, स्वास्थ्य चेकजाँच लगायतका प्रक्रियम पुरा गरेर उद्योग धन्दामा काम गर्ने मजदुर, बिकास आयोजनामा काम गर्ने प्राविधिक, बिद्यार्थी र अति आवश्यक काममा आउने भारतीय नागरिक र भारतमा कार्यरत नेपाली नागरिकलाई आउन जान सहजीकरण गरेका छौ ।” घिमिरेले भने । प्रजिअ घिमिरेले दावी गरे पनि सीमामा भारतबाट आउनेहरुको चेकजाँचमा चरम लापारवाही गरिएको दृश्य देख्न सकिन्छ ।

यता यहाका पर्यटन, होटल ब्यवसायीहरुले पनि भारत र नेपालको सीमा पहिले जस्तै यथावत सञ्चालन गर्नु पर्ने माग सहित केही समय पहिला आन्दोलन गरेका थिए । केन्द्रिय सिएमसीसीको बैठकले पनि पहिलेकै अवश्थामा सीमा सञ्चालन हुने राय सहित मन्त्रीपरिषदमा सीमा खोल्ने बिषयमा सिफारीस गरि सकेको छ । यस्तो समयमा कुनै स्वास्थ्य मापदण्ड नै नअपनाई लापारवाही तरिकाले सीमा खुले यसले फेरी पनि कोरोना जोखिम बढाउने सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा