ताजा अपडेट »

सार्वजनिक यातायातमा भाडादर समायोजनको माग

शुक्रबार, ०६ चैत्र २०७७, ११ : ३४
6 Shares

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक सवारीसाधनमा भाडादर समायोजन गर्न सरकारलाई अनुरोध गरेको छ । महासङ्घले बिहिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर लामो समयदेखि भाडादर समायोजन हुन नसकेको जनाउँदै समायोजनका लागि माग गरेको हो ।

सरकारले विसं २०६५ मा प्रत्येक वर्ष भदौ महीनामा भाडादर समायोजन गरिनुपर्ने निर्णय गरे पनि विसं २०६९ यता भाडादर समायोजन नभएको महासङ्घले जनाएको छ । यातायात व्यवस्था विभागले आगामी चैतको तेस्रो सातासम्म भाडादर समायोजन गर्नुपर्ने महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यद्वारा जारी विज्ञप्तिमा माग गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण लामो समयसम्म सार्वजनिक यातायात ठप्प हुँदा व्यवसायी थप मारमा परेका थिए । सरकारले १२ वर्ष पहिले वैज्ञानिक भाडादर लागू गर्ने निर्णय गरेको थियो । सो मागपत्रमा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र सार्वजनिक सवारीसाधनसँग सम्बन्धित बीमा, कर, बैंक ब्याज, पार्टपूर्जा, टायर, लुब्रिकेन्टलगायतलाई ६५ प्रतिशत मानेर सोही आधारमा भाडादर समायोजन गरिने उल्लेख गरिएको छ ।

रासस
लेखकको बारेमा
रासस