ताजा अपडेट »

रोहिणीका ५ सय घर-परिवारलाई विद्युतीय चुल्हो

बुधबार, ०४ चैत्र २०७७, २१ : ०६
6 Shares

भैरहवा । रुपन्देहीको रोहिणीले गाउँपालिकालाई धुवाँमुक्त बनाउन पहिलो चरणमा ५ सय घर–परिवारलाई विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक उर्जा कार्यक्रम अन्तरगत रोहिणी गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नवीकरणीय उर्जा कार्यक्रम अन्तरगत चुल्हो वितरण गर्ने भएको हो ।

सेवा प्रदायक डोलेश्वर महादेव निर्माण तथा सप्लायर्स प्रालीले चुल्होसहित त्यसलाई आवश्यक पर्ने विद्युतीय उपकरण र वाइरिङसमेत ४ हजार २ सय २३ रुपैयामा उपलब्ध गराउने भएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नवीकरणीय उर्जा कार्यक्रमले ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अनुदानमा स्थानीयलाई चुल्हो उपलब्ध गराइने रोहिणीका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । ‘सुरुमा ५ सय घरधुरीलाई प्रदान गर्ने लक्ष्य राखेका छौं यसमा सफल भइयो भने आगामी दिनमा यसलाई अझै बिस्तार गरिने छ ।’ -यादवले भने ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयद्वारा २०७५ मा जारी भएको श्वेतपत्रमा देशलाई विद्युतमा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने उर्जाका अन्य श्रोतहरुलाई विद्युवीय उर्जाले विस्थापित गरि ब्यपार घाटा कम गर्न र सबैलाई दीगो, भरपर्दो, सर्वसुलभ स्वच्छ उर्जा गराउने लक्ष्य रहेको छ । बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नेपाल नवीकरणीय उर्जा कार्यक्रम २०७५ माघदेखी सुरु भई २०८० को असार मसान्तसम्म सञ्चालन हुने वैकल्पिक उर्जा प्रवद्र्धनका सहायक निर्देशक मुकेश घिमिरेले जानकारी दिए । कार्यक्रम अन्र्तगत छनौटमा परेका १७ वटा पालिकाहरुमा ८ हजार ३ सय ५० थान अनुदानको विद्युतीय चुल्हो वितरण गरिने उनले बताए । रुपन्देहीमा पनि कञ्चन गाउँपालिकामा ३ सय र तिलोत्तम नगरपालिकामा ३ सय ५० घर परिवारलाई चुल्हो वितरण गर्ने कार्यक्रम रहेको छ ।

विद्युतीय चुल्होले दाउरा अथवा अन्य ईन्धन प्रयोग घटाउनेहुँदा यसले दाउराकै लागि हुने वन फँडानी तथा यसबाट हुने रोगहरुबाट बचाउने नेपाल नवीकरणीय उर्जा शाखा प्रमुख हरि अर्यालले बताए । रोहिणी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि विद्युतीय चुल्होको प्रयोग, यसका विशेषता र सुरक्षाका उपायहरुबारे स्थानीयलाई जानकारी प्रदान गरेको छ । अहिले प्रयोग भई रहेको ग्यास चुल्होको तुलनामा ४० प्रतिशत कम लागत लाग्ने र त्यो भन्दा पनि कम समयमा खाना पाक्नेहुँदा यसको प्रयोग बढाउनु पर्ने कार्यक्रमका वक्ताहरुको भनाई थियो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा